Blog

  • विनाशकारी बाढीपछि मोरङ लेटाङका चार जना सम्पर्कविहीन

    विनाशकारी बाढीपछि मोरङ लेटाङका चार जना सम्पर्कविहीन

    रसुवामा आएको विनाशकारी बाढीपछि मोरङ लेटाङका चार जना सम्पर्कविहीन भएका छन् ।

    लेटाङ नगरपालिका-६ लामिटारका मेघा चेम्जोङ, सोना चेम्जोङ, देवीमाया तामाङ र पासाङ तामाङको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय र पहल गरिदिन लेटाङ नगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङलाई औपचारिक आग्रह गरेको छ ।

    नगरपालिकाले २०८३ भदौ १२ गते जिल्ला प्रशासन कार्यालय मोरङलाई पठाएको पत्रमा उनीहरु रसुवा बजार क्षेत्रमा रहेको र बाढीपछि सम्पर्कविहीन भएको उल्लेख गरेको छ । नगरपालिकाका अनुसार उनीहरू एउटै परिवारसँग सम्बन्धित छन् ।

    रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि विभिन्न काम तथा व्यवसायका सिलसिलामा रसुवा पुगेका मोरङका नागरिकहरू सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय मोरङको विवरणसँग पनि यी चार जनाको नाम मिल्छ ।

    उनीहरू हाइड्रोपावर, व्यापार तथा अन्य व्यावसायिक क्षेत्रमा कामका सिलसिलामा रसुवा पुगेको स्थानीय तथा प्रशासनिक विवरणमा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालय मोरङले बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट मोरङका केही व्यक्तिको उद्धारसमेत भएको थियो ।

    लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले हस्ताक्षर गरेको पत्रमा भने चारै जनाको खोजीका लागि तत्काल आवश्यक समन्वय र पहल गर्न आग्रह गरिएको छ । सम्पर्कविहीन चारै जनाको अवस्था यकिन हुन नसक्दा लेटाङ-६ लामिटारका परिवार तथा स्थानीयवासी उनीहरूको सकुशल उद्धारको प्रतीक्षामा छन् ।

  • जाँते स्वास्थ्य चौकीबारे सांसद न्यौपानेले भ्रम फैलाएको भन्दै लेटाङ नगरपालिकाको आपत्ति

    जाँते स्वास्थ्य चौकीबारे सांसद न्यौपानेले भ्रम फैलाएको भन्दै लेटाङ नगरपालिकाको आपत्ति

    लेटाङ नगरपालिका–८ जाँतेस्थित स्वास्थ्य चौकीको ल्याब सेवा बन्द भएको विषय संघीय संसदमा उठेपछि लेटाङ नगरपालिकाले आपत्ति जनाएको छ। मोरङ क्षेत्र नं. १ का सांसद यज्ञमणि न्यौपानेले संसद बैठकमा जाँते स्वास्थ्य चौकीको ल्याब सेवा सहित्ब्स्वास्थ्य चौकी नै बन्द गरिएको विषय उठाएपछि नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै वास्तविक निर्णय र अवस्था नबुझी संवेदनशील विषय संसदमा उठाइएको आशय व्यक्त गरेको हो। नगरपालिकाका अनुसार ल्याब सेवा बन्द गर्ने सम्बन्धमा कार्यपालिकाले कुनै निर्णय नै गरेको छैन।

    नगरपालिकाले २०८३ असार १९ गते बसेको कार्यपालिका बैठकमा जाँते स्वास्थ्य चौकीको ल्याब सेवाका विषयमा वडा नं. ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेलको प्रस्तावमा सामान्य छलफल भएको स्वीकार गरेको छ। तर, ल्याब सेवा बन्द गर्ने वा नगर्नेबारे बैठकले कुनै निर्णय नगरेको नगरपालिकाको स्पष्टोक्ति छ। उक्त बैठकको प्रमाणित निर्णयसमेत नगरपालिकाको आधिकारिक वेबसाइटमा सार्वजनिक भइसकेको भन्दै नगरपालिकाले तथ्य नबुझी गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    विज्ञप्तिमा कार्यपालिकाका विभिन्न बैठकमा वडा नं. ८ का वडाध्यक्ष पोखरेलले स्वास्थ्य चौकीमा सेवाग्राहीको न्यून उपस्थिति तथा स्वास्थ्य बीमा र सुविधासम्पन्न सेवाका लागि नगर अस्पताल वा निजी क्लिनिक जाने प्रवृत्तिका कारण ल्याब सञ्चालनमा समस्या रहेको विषय उठाउँदै आएको उल्लेख छ। तर, त्यस विषयमा कार्यपालिकाले कुनै निष्कर्षमा पुगिनसकेको नगरपालिकाको भनाइ छ। अहिले स्वास्थ्य चौकी प्रमुखसँग अभिलेख माग गरी वास्तविक अवस्था अध्ययन भइरहेको जनाइएको छ।

    नगरपालिकाले सांसद न्यौपानेले संसदमा विषय उठाउनुअघि नगरपालिकासँग वास्तविक अवस्था र कार्यपालिकाको निर्णयबारे जानकारी लिएको भए तथ्य स्पष्ट हुने संकेत गरेको छ। नागरिकको जनस्वास्थ्यसँग जोडिएको विषयलाई तथ्य र प्रमाणका आधारमा उठाउनुपर्नेमा निर्णय नै नभएको विषयलाई ल्याब बन्द भएको रूपमा प्रस्तुत गर्दा जनतामा भ्रम सिर्जना हुनसक्ने नगरपालिकाको भनाइ छ। यस प्रकरणमा वडा अध्यक्षको प्रस्तावलाई नगरपालिकाको अन्तिम निर्णयका रूपमा बुझ्नु पनि गलत हुने देखिन्छ।

    नगरपालिकाले ल्याब सेवाको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरिसकेको जनाएको छ। समितिले सेवाग्राहीको अवस्था, ल्याब सञ्चालनमा देखिएका समस्या तथा सेवा प्रभावकारी बनाउने उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने र सोही आधारमा आवश्यक निर्णय गरिने नगरपालिकाले स्पष्ट पारेको छ। नगरपालिकाले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा सम्बन्धित सबै पक्षलाई तथ्य बुझेर मात्र धारणा सार्वजनिक गर्न आग्रह गरेको छ।

  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति विश्वास बढ्दै, एक वर्षमै हजारभन्दा बढी महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति विश्वास बढ्दै, एक वर्षमै हजारभन्दा बढी महिलाले लिए सेवा

    कुनै समय प्रसूति वेथा लागेपछि परिवारका सदस्यको मनमा सबैभन्दा ठूलो चिन्ता हुन्थ्यो—आमालाई कसरी अस्पताल पु¥याउने ? सडकको अभाव, एम्बुलेन्स नहुनु, स्वास्थ्य संस्था टाढा हुनु र घरमै सुत्केरी गराउने पुरानो परम्पराले धेरै आमा र नवजात शिशुलाई जोखिममा पार्ने गरेको थियो ।

    तर अहिले बाँकेको दुर्गम नरैनापुर गाउँपालिकामा त्यो तस्वीर बदलिएको छ । घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ भने वडा–वडामा सञ्चालनमा रहेका वर्थिङ सेन्टर सुरक्षित मातृत्वका भरपर्दा केन्द्रका रूपमा स्थापित हुँदै गएका छन् ।
    यसको प्रमाण स्वास्थ्य शाखाको तथ्यांकले पनि देखाउँछ। चालु आर्थिक वर्ष २०८२÷८३ मा नरैनापुर गाउँपालिकाका विभिन्न वर्थिङ सेन्टरबाट १ हजार १५१ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा यो संख्या ८८१ हजार १२३ थियो। संस्थागत सुत्केरीको संख्या निरन्तर बढ्दै जानुलाई स्वास्थ्यकर्मीहरूले सुरक्षित मातृत्वप्रतिको चेतना र स्थानीय सरकारले गरेको लगानीको प्रतिफलका रूपमा व्याख्या गरेका छन् ।
    नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षअघिसम्म प्रसूति सेवा लिन नेपालगञ्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले गाउँमै गुणस्तरीय सेवा उपलब्ध हुनु ठूलो उपलब्धि भएको बताउनुभयो ।
    उहाँका अनुसार गणतन्त्रपछि सडक, विद्युत्, स्वास्थ्य संस्था र जनशक्तिमा भएको विस्तारले नरैनापुरको स्वास्थ्य सेवामा आमूल परिवर्तन आएको छ। वडा–वडामा सञ्चालन भएका वर्थिङ सेन्टरले दुर्गम बस्तीका महिलालाई सुरक्षित सुत्केरी सेवा घर नजिकै उपलब्ध गराएका छन् ।
    स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहका अनुसार पहिले घरमै सुत्केरी गराउने वा अन्तिम अवस्थासम्म स्वास्थ्य संस्थामा नआउने महिलासमेत अहिले नियमित गर्भ परीक्षणदेखि सुत्केरीसम्म वर्थिङ सेन्टरमै आउने गरेका छन् । वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले दुर्गम बस्तीका महिलाले पनि सहज रूपमा सेवा लिन थालेका छन् ।
    स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्षमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । जटिल अवस्था देखिएमा तत्काल भेरी अस्पतालमा निःशुल्क रेफर गर्ने तथा ल्याउने–लैजाने व्यवस्था गाउँपालिकाले मिलाएको अध्यक्ष शाहले बताउनुभयो ।
    वडा नम्बर १ कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना गुरुङका अनुसार नरैनापुरमा पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो परिवर्तन महिलाको सोचमा आएको छ ।
    उहाँले भन्नुभयो, “पहिले धेरैजसो गर्भवती महिलाले घरमै सुत्केरी गराउने योजना बनाउनुहुन्थ्यो । अस्पताल आउन डराउने, खर्च धेरै लाग्छ भन्ने सोच्ने र अन्तिम समयमा मात्रै ल्याइने अवस्था थियो । अहिले भने गर्भ रहेदेखि नै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा आउने, सुत्केरी हुने मिति नजिकिँदै जाँदा आफैं वर्थिङ सेन्टरमा सम्पर्क गर्ने र सुरक्षित रूपमा स्वास्थ्य संस्थामै सुत्केरी गराउने चलन बढेको छ ।”
    उहाँका अनुसार स्वास्थ्यकर्मीले गाउँ–गाउँमा पुगेर गरेको परामर्श, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, परिवारको बढ्दो साथ र गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवाले समुदायको सोच परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
    “सुत्केरी भनेको सामान्य घटना जस्तो देखिए पनि कुनै पनि बेला जटिल अवस्था आउन सक्छ । त्यसैले प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा हुने प्रसूति नै आमा र शिशु दुवैका लागि सुरक्षित हुन्छ । अहिले हामीले आमाहरूको आत्मविश्वास बढेको देखेका छौं । कतिपय महिलाले छिमेकी र आफन्तलाई पनि घरमा होइन, वर्थिङ सेन्टरमै सुत्केरी गराउन प्रेरित गरिरहनुभएको छ । यो परिवर्तन हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो,” अनमी गुरुङले भन्नुभयो ।
    उहाँले अझै पनि दुर्गम बस्तीका केही परिवारमा पुराना मान्यता बाँकी रहे पनि स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति गराउँदा आमा र नवजात शिशुको ज्यान जोगिनुका साथै आकस्मिक जटिलताको तत्काल उपचार सम्भव हुने भएकाले सबै गर्भवती महिलालाई संस्थागत सुत्केरी रोज्न आग्रह गर्नुभयो ।
    कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा उदाहरणीय परिवर्तनतर्फ अघि बढिरहेको छ । स्थानीय सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मीको समर्पण र समुदायमा बढ्दो जनचेतनाले जोखिमपूर्ण घरायसी सुत्केरीलाई क्रमशः सुरक्षित संस्थागत सुत्केरीमा रूपान्तरण गरिरहेको स्वास्थ्यकर्मीहरूको अनुभव छ ।

  • हराएको २३ वर्षपछि आमाको काखमा फर्किए छोरा, रहेन खुशीको सिमा 

    हराएको २३ वर्षपछि आमाको काखमा फर्किए छोरा, रहेन खुशीको सिमा 

    २३ बर्ष अघिदेखि म्पर्कविहीन भएका लेटाङ नगरपालिका–१ कुइकुण्डाका लोकेन्द्र मगर आफ्नै घर फर्किएका छन्।

    वर्षौँदेखि छोराको बाटो हेर्दै बसेका आमाबुवाले जब २३ वर्षपछि लोकेन्द्रलाई आफ्नै आँखाअगाडि देखे, उनीहरूका आँखा रसाए। त्यो आँसुमा खुसी मात्र थिएन, २३ वर्षसम्म छोराको खबर नपाउँदाको पीडा, चिन्ता, सम्झना र प्रतीक्षा सबै मिसिएको थियो। लामो समयपछि घरको आँगनमा छोरा उभिँदा परिवारका लागि त्यो क्षण शब्दमा बयान गर्न नसकिने भावुक क्षण बनेको थियो।

    लोकेन्द्र कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने कुनै जानकारी नहुँदा परिवारले वर्षौँसम्म उनको खोजी र प्रतीक्षा गरिरह्यो। समयले धेरै कुरा बदल्यो, तर आमाबुवाको मनमा छोराको सम्झना र फर्किने आशा भने कहिल्यै मरेन। हरेक अपरिचित फोन, हरेक नयाँ खबर र हरेक सम्भावनाले परिवारमा आशा जगाउँथ्यो। तर वर्षौंसम्म ती आशाहरू अधुरै रहे। अन्ततः भारतको सिमलामा लोकेन्द्र रहेको खबर पाएपछि परिवारमा २३ वर्षपछि फेरि आशाको दियो बल्यो।

    भारतमा रहेकी सामाजिक अभियन्ता वर्षा लामामार्फत लोकेन्द्र सिमलामा रहेको जानकारी पाएपछि लेटाङका सामाजिक अभियन्ता सञ्जीव कुमार तामाङले उनको खोजी तथा परिवारसँग पुनर्मिलनका लागि पहल थालेका थिए। विभिन्न व्यक्ति तथा सामाजिक अभियन्ताहरूको समन्वयमा लोकेन्द्रसँग सम्पर्क स्थापित गरियो र आवश्यक प्रक्रिया पूरा गरी उनलाई नेपाल ल्याइयो। आफ्नै गाउँ र आफ्नै घर फर्किएका लोकेन्द्रलाई परिवारले भावुक हुँदै स्वागत गरेको थियो। छोरालाई अँगालो हाल्दै आमाबुवाका आँखाबाट झरेका आँसु देख्दा उपस्थित आफन्तहरू समेत भावुक बनेका थिए।

    लोकेन्द्रलाई घरसम्म ल्याउन पहल गरेका सामाजिक अभियन्ता सञ्जीव कुमार तामाङलाई परिवारले सम्मान गरेको छ। तामाङले २३ वर्षदेखि परिवारबाट टाढिएका एक व्यक्तिलाई आफ्ना आमाबुवासम्म पुर्‍याउन पाउनु नै आफ्नो लागि ठूलो मानवीय उपलब्धि भएको बताए। उनले यो पुनर्मिलन सम्भव बनाउन नेपाल र भारतमा रहेका सहयोगी तथा अभियन्ताहरूको साथ महत्वपूर्ण रहेको उल्लेख गरे। उनका लागि यो कुनै व्यक्तिगत उपलब्धिभन्दा पनि वर्षौँदेखि छोराको बाटो हेरेर बसेका आमाबुवाको आँखामा खुसी देख्न पाउनु सबैभन्दा ठूलो सन्तुष्टि बनेको छ।

    २३ वर्षसम्म बन्दजस्तै रहेको घरको खुसी लोकेन्द्र फर्किएसँगै फेरि खुलेको छ। आमाबुवाले अब छोराको खबर कहिले आउला भनेर बाटो हेर्नुपर्ने छैन। उनीहरूको आँखाअगाडि अब हराएको छोरा होइन, २३ वर्षपछि फर्किएको आफ्नै सन्तान छ। लामो प्रतीक्षापछि भएको यो पुनर्मिलनले परिवारलाई मात्र होइन, लोकेन्द्रको खोजीमा साथ दिने सबैलाई भावुक बनाएको छ। कहिलेकाहीँ वर्षौंसम्म टाढिएको मान्छेभन्दा ठूलो केही हुँदैन—उसको एउटा फर्काइले वर्षौंको आँसु पुछिदिन्छ, अनि एउटा घरमा फेरि जीवन फर्काइदिन्छ।

  • दुई तीन महिनाभित्रै कालोपत्रे भइसक्ने भो लेटाङ- राजारानी सडक 

    दुई तीन महिनाभित्रै कालोपत्रे भइसक्ने भो लेटाङ- राजारानी सडक 

    मोरङको लेटाङ बजारबाट राजारानीसम्म पुग्ने सडक आगामी असोज मसान्तसम्म कालोपत्रे  हुने भएको छ ।

    मदन भण्डारी राजमार्गसँग जोडिने उक्त सडकअन्तर्गत लेटाङ–२ स्थित किराँत चोकदेखि लोखरासम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे भइसके पनि  बाँकी चुरेक्षेत्रमा काम भइरहेको छ ।

    एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत २०७९ वैशाख १९ गते सडक डिभिजन कार्यालय विराटनगरले उक्त सडक निर्माणका लागि ठेक्का लगाएको थियो । ५.७ किलोमिटर सडक निर्माणका लागि कालिका÷मेदान्सी जेभी काठमाडौंसँग ११ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
    सम्झौताअनुसार २०८१ चैत ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले निर्धारित समयमा काम पूरा गर्न सकेन । अहिले भने निर्माणले गति लिएको सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर नारायणप्रसाद निहुरेले बताउनुभयो ।

    उहाँका अनुसार आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति साढे ३० प्रतिशत रहेको छ । “हाल तीव्र गतिमा काम भइरहेको छ । असोज मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ,” निहुरेले भन्नुभयो ।
    सडकको कालोपत्रे चौडाइ सात मिटर तथा दुवैतर्फ सोल्डरसहित कुल चौडाइ १० मिटर हुनेछ । सडकमा रिटेनिङ वाल, ब्रेस्ट वाल, नाली, सबबेस, बेस तथा अस्फाल्ट निर्माणका साथै डेलिनेटर पोस्ट, क्र्यास ब्यारियर र थर्मोप्लास्टिक रोड मार्किङलगायतका सडक सुरक्षा संरचना निर्माण गरिनेछ ।

    लामो समय रोकिएको सडक निर्माणले गति लिएपछि लेटाङ नगरपालिकाले पनि पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ । नगरप्रमुख भूपेन्द्रकुमार लावतीले सडक निर्माणमा भएको ढिलाइका कारण नगरपालिकाले समेत अपजस खेप्नुपरेको बताउँदै अहिले काम अघि बढेकामा आशा जागेको बताउनुभयो ।
    नगरपालिकाले राजारानी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ । राजारानी पोखरी, राजकुमारी पोखरी, सुनाखरी अध्ययन केन्द्र तथा अन्तरधार्मिक शान्तिपार्कलगायतका संरचना निर्माण भइसकेका छन् ।

    नगरप्रमुख लावतीका अनुसार राजारानी क्षेत्रमा दैनिक करिब चार सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तर, सडकको अवस्था कमजोर हुँदा पर्यटकलाई सहज आवागमन हुन नसकेको र त्यसको अपजस नगरपालिकाले लिनुपरेको उहाँको भनाइ छ ।

    सडक निर्माण सम्पन्न भएपछि राजारानी क्षेत्रको पहुँच सहज हुने र पर्यटकको संख्या थप बढ्ने नगरपालिकाको अपेक्षा छ । लामो समयदेखि प्रतीक्षामा रहेको सडकले पूर्णता पाएमा राजारानीसहित चुरे क्षेत्रका पर्यटकीय सम्भावनालाई समेत थप टेवा पुग्ने देखिएको छ ।

  • सर्पको टोकाइबाट लक्ष्मीमार्गकी रमाको मृत्यु, सर्पदंश उपचार केन्द्रलाई स्तरोन्नति गर्ने सांसद कार्कीको बाचा

    सर्पको टोकाइबाट लक्ष्मीमार्गकी रमाको मृत्यु, सर्पदंश उपचार केन्द्रलाई स्तरोन्नति गर्ने सांसद कार्कीको बाचा

    मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गकी महिला रमा घिमिरे देवकोटाको सर्पदंशबाट मृत्यु भएको छ ।

    बिहीबार दिउँसो करिब १२:३० बजे आफ्नै घरको भान्सामा काम गरिरहेका बेला सर्पले उनको बायाँ खुट्टामा टोकेको थियो। सर्पकै टोकाइका कारण उनको मृत्यु भएको थियो ।

    घटनापछि मोरङ क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले सर्पदंश उपचार केन्द्रको भ्रमण गरेका छन् ।
    सर्पले टोकेर बिहिबार मृत्यु भएकी बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गकी ३० वर्षीया रमा घिमिरे (देवकोटा) को घटनामा दुःख व्यक्त गर्दै सांसद कार्कीले स्थानीय सर्पदंश केन्द्रमा दक्ष चिकित्सक र आबश्यक सामग्रीको लागि आफुले थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

  • डेढ दशक अबधिमा हात्तीको आक्रमणबाट एउटै जिल्लामा ८० जनाले गुमाए ज्यान

    डेढ दशक अबधिमा हात्तीको आक्रमणबाट एउटै जिल्लामा ८० जनाले गुमाए ज्यान

    झापामा पछिल्लो १६ वर्षमा हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् ।

    डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् । कार्यालयको तथ्याङ्क अनुसार २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको छ । यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका देखाउँछ ।

    कार्यालयका अनुसार २०८० सालमा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । २०८२/८३ मा भने छ जनाले ज्यान गुमाएका छन् । मृतकका परिवारलाई जनही १० लाखका दरले राहत उपलब्ध गराइएको छ । कार्यालयको तथ्याङ्क अनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात/सात, २०७० मा तीन, २०७१ मा दुई र २०७२ मा चार जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका थिए ।

    यस्तै २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच/पाँच, २०७५ र २०७६ मा एक/एक, २०८० मा आठ, २०८१ मा चार, २०८२ र २०८३ को हालसम्म छ जनाको मृत्यु भइसकेको तथ्याङ्क छ । कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन् । सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका थिए । वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जाँदा मानव-हात्ती द्वन्द्व बढेको कार्यालयले जनाएको छ ।

  • केराबारी क्षेत्रका वासिन्दाले नोबेलमा उपचार गर्दा २० प्रतिशत छुट पाउने

    केराबारी क्षेत्रका वासिन्दाले नोबेलमा उपचार गर्दा २० प्रतिशत छुट पाउने

    केराबारी गाउँ कार्यपालिका र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगर बिच केराबारी गाउँपालिका क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवाहरुमा २० प्रतिशत छुट हुनेहरी सम्झौता भएको छ ।

    केराबारी गाउँपालिकाकोतर्फवाट उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठज्यू, स्वास्थ्य शाखा प्रमुख टोम प्रसाद चौलागाई, केराबारी पालिका अस्पताल प्रमुख रमेश बहादुर भट्टराई तथा  नोबेल अस्पतालको तर्फवाट महाप्रवन्धक दिपेश राईको उपस्थितिमा बिहीबार अर्थात २०८३ साउन १४ गते सो सम्बन्धी सम्झौता-पत्र आदान-प्रदान सम्पन्न भएको हो ।

    यो सुविधा प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवाहरुमा  २०८४ असार मसान्तसम्म लागु हुनेछ । तर IVF, Plastic Surgery, Cosmetic Surgery लगायतका सेवाहरु, Cabin मा बसेर उपचार गर्दा साथै औषधी र चिकित्साजन्य सामाग्रीहरु (Implant, Surgical items, Consumable items) मा छुट सुविधा लागु नहुने अस्पतालले जनाएको छ ।

  • कूल ३ सय ४६ जनाको नाम छताछुल्ल पार्दै बेलबारीका दर्जन नेता कार्यकर्ताले छोडे नेकपा

    कूल ३ सय ४६ जनाको नाम छताछुल्ल पार्दै बेलबारीका दर्जन नेता कार्यकर्ताले छोडे नेकपा

     नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध  बेलबारी क्षेत्रका विभिन्न तहका  नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्  ।बिहीबार अर्थात २०८३ साउन ७ गते सार्वजनिक गरिएको विज्ञप्तिमा ३४२ जना नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेपनि हस्ताक्षर भने १० जनाको मात्रै छ ।

    विज्ञप्तिमा हस्ताक्षर नै गरेर पार्टी परित्याग गर्नेहरूमा नेकपाका केन्द्रीय सदस्य तिलक राई, प्रदेश कमिटी सदस्यहरु मनकुमार गुरुङ, रामकुमार राई, वासीएल प्रदेश कमिटी सदस्य सन्जोग राई, बेलबारी नगर कमिटी सहसचिव सन्देश तामाङ, नगर कमिटी सदस्यहरु शर्मिला लुंगेली मगर र खड्ग बहादुर सुन्दास,  सन्दीप राई र नारायण कुमार सुनुवार तथा मोर्चाका जिल्ला  सदस्य  खगेन्द्र तोलाङी छन् । त्यसबाहेक ३ सय ४२ जना नाम उल्लेखित कसैको पनि हस्ताक्षर छैन ।

    उनीहरूले नेकपासँग रहेको सम्पूर्ण सदस्यता तथा राजनीतिक सम्बन्ध समाप्त गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्ने समूहले आफूहरू अब श्रम संस्कृति पार्टीमार्फत राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ ।  राजनीतिक कार्यशैली, संगठन सञ्चालनको तरिका तथा नेतृत्वको शैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै बुधवार एक  विज्ञप्ति नै निकालेर उनीहरूले पार्टी परित्याग गरेका छन् ।पार्टी एकीकरणपछि समायोजनका नाममा कुनै छलफल, संवाद वा जानकारीबिना निर्वाचित जिम्मेवारीबाट हटाइएको आरोप लगाइएको छ । यसले पार्टीको विधि, पद्धति, आन्तरिक लोकतन्त्र तथा निर्वाचित नेतृत्वको सम्मानमाथि गम्भीर आघात पुगेको उनीहरूको आरोप छ ।

    एउटा समूहले झन्डै साढे ३ सय जनाले पार्टी परित्याग गरेको दाबी गरेपनि  यस विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक धारणा आइसकेको छैन ।

  • सुकुना मावि प्रकरण : पीडितले न्याय पाऊन्, निर्दोषमाथि अन्याय नहोस् 

    सुकुना मावि प्रकरण : पीडितले न्याय पाऊन्, निर्दोषमाथि अन्याय नहोस् 

    धर्मकुमारी कालाखेती

    सुकुना माध्यमिक विद्यालयसँग सम्बन्धित विषय अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ। यस विषयमा सत्य तथ्य बाहिर आउनुपर्छ भन्ने चाहना हामी सबैको हो। हामी त्यसै विद्यालयमा पढाइरहदा पनि कति विषय जानकारी नभएको विषयहरू बाहिर आएका छन् , यो अनविज्ञताका लागि म/हामी पनि दु:खी छौँ ।

    यदि शिक्षक तथा कर्मचारीले गल्ती गरेका भएमा प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान होस् र दोषी प्रमाणित हुने जोसुकैले पनि कानुनअनुसार कारबाही भोगोस् भन्नेमा हामी सहमत छौँ । यसमा दुई मत हुन सक्दैन। तर अनुसन्धान जारी रहेको अवस्थामा अन्धाधुन्द नाम जोडेर, बोल्ने भनेर मानिसलाई उत्तेजित बनाउने गरी विषयलाई झन जटिल र बिध्वंशात्मक दिशातर्फ लैजानु पनि हुदैन ।

    आधारहीन सूचना, अपुष्ट आरोप, सम्पादित स्क्रिनसट वा अनुमानका आधारमा सामग्री सार्वजनिक गर्नु उचित होइन । एकपक्ष गोप्य रहेर अर्को पक्ष नामसहित सार्वजनिक गर्दा भोली न्याय पाउदा सामाजिक इज्वत समेत गुम्ने अवश्था बनाउनु हुदैन । हाल विद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षा गर्नु विद्यालयको कर्तव्य हो तर पुराना र पूर्व विद्यार्थीले स्वयम् प्रमाण भएर कानुनी उपचारमा जान पनि सक्नु हुन्छ । धेरै पुराना र थाहा नभएका विषयलाई अहिले छानविन गर्ने विद्यालयले विद्यालयसँग त्यस्तो निकाय मैले बुझेकी पनि छैन, याे विद्यालयका लागि जटिल कार्य हाे ।

    कतिपय सवाल पहिला भएका तर पिडित पक्षले चित्त बुझाएर पुन: बल्झाइएका जस्ता पनि छन् । अहिले लगातार देशभरका अन्य विद्यालयका वा धेरै नै पुरान विषयहरू समेत सार्वजनिक हुदा सबै शिक्षकहरू त्रसित समेत भएका छौँ । त्यस पक्षतर्फ ध्यान पुर्याउदै भोली कक्षामा कसरी जाने वातावरण बनाउने र अवका दिनमा विद्यालय कसरी सुरक्षित बनाउने भन्नेतिर सबैको ध्यान पुगोस भनि अनुरोध समेत गर्न चाहान्छु । दोषी खोज्दा निर्दोष व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्न सक्छ, मानसिक रूपमा विक्षिप्त बनाउन सक्छ, र कतिपय अवस्थामा निर्दोष मानिसले अत्यन्त दुःखद निर्णय लिन बाध्य पार्ने जोखिमसमेत हुन सक्छ। त्यसैले प्रत्येक शब्द र प्रत्येक पोस्टप्रति हामी सबै संवेदनशील हुन आवश्यक छ।

    अर्कोतर्फ, एउटा संस्थाको गरिमा पनि समाजको साझा सम्पत्ति हो। वर्षौँदेखि हजारौँ विद्यार्थी उत्पादन गरेको, समाजमा योगदान दिएको विद्यालयको प्रतिष्ठा कुनै एक घटनाका कारण अनावश्यक रूपमा ध्वस्त हुने कुराले पनि वर्तमान विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक र समग्र समुदायलाई पनि असर गरिरहेको छ । कानुनी प्रक्रिया अगाडि बढिसकेको छ । अब सत्य स्थापित गर्ने जिम्मा सम्बन्धित निकायको हो । विद्यालयले त्यसलाई सहजिकरण गरिदिनुपर्छ । त्यसैले कृपया प्रमाणित तथ्य र भरपर्दा सूचनामात्र सार्वजनिक गरौँ । न्यायको पक्षमा उभिनु र अफवाह नफैलाउनु एकअर्काका विरोधी कुरा होइनन्; बरु दुवै जिम्मेवार नागरिकको कर्तव्य हुन्।

    विशेष अनुरोध S/K/N Confession & Meme समूहका एडमिन तथा सदस्यहरू गोप्य समूह भएको बुझिन्छ । यो गोप्य समूह पनि खुलेर कानुनी प्रक्रियामा तयार हुन आवश्यक ठान्दछु । गोप्य समूह कसले चलाउँनुहुन्छ ? उसको आधिकारिकता कति छ ? विद्यालयमा आएर कुरा किन राखिरहनु भएको छैन ? कहाँबाट , कसरी जानकारीहरू सङ्कलन गर्दै हुनुहुन्छ ? तपाईं को हुनुहुन्छ ? हामीले जानकारी पाउनु पर्दैन र ? जस्ता अनुत्तरित सवालहरू समेतले हामी स्तव्ध छौँ ।

    यदि विद्यालयसँग सम्बन्धित कुनै गम्भीर विषय उठेको छ भने, एकतर्फी स्क्रिनसट र विना नामका सन्देशहरू निरन्तर सार्वजनिक गर्नुको सट्टा विद्यालय प्रशासन, सम्बन्धित पक्ष र सरोकारवालासँग प्रत्यक्ष संवाद (face-to-face talk) गर्ने प्रयास पनि सकारात्मक कदम हुन सक्छ । संवादले धेरै भ्रम हटाउन, सत्य स्थापित गर्न र न्यायको वातावरण बनाउन सहयोग पुर्‍याउँछ। अर्को तर्फ विद्यालय प्रशासनले पनि विद्यार्थीका (मूलतः छात्राहरूका र अभिभावकहरूका समेत ) गुनासालाई सहज रूपमा सुन्ने, सहजिकरण गर्ने र सचेत गराउन भरपर्दो महिला सहजकर्ता सहितको संयन्त्र बनाउन आवश्यक देखिन्छ जसले सम्भाव्य जोखिमलाई घटाओस, हटाओस र आवश्यक परेमा कानुनी सहजताका लागि बाटो खुल्ला गरोस ।
    हामी सबैको उद्देश्य एउटै हो ,सत्य स्थापित होस्, पीडितले न्याय पाऊन्, निर्दोषमाथि अन्याय नहोस्, र समाजमा जिम्मेवार सूचना प्रवाहको संस्कृतिको विकास होस्।
    (लेखिका सुकुना माविकी शिक्षक हुनुहुन्छ)