Blog

  • बिराटचोकमा शुरुभो कोशी हरैचा एक्सपो, जाने होईन ?

    बिराटचोकमा शुरुभो कोशी हरैचा एक्सपो, जाने होईन ?

    औद्योगीक तथा व्यवसायीक प्रवद्र्धनका लागि मोरङ्को बिराटचोकमा कोशी हरैचा एक्सपो २०७३ शुरु भएको छ ।

    एक्सपोको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नुभयो । एक्सपोको उद्घाटनका क्रममा पूर्व सभामुख नेम्वाङ्ले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य आवश्यकता रहेको बताउनुभयो  । वहाँले औद्योगीक तथा व्यवसायीक वातावरणका लागि बिभिन्न प्रदर्शनी तथा उत्सवहरुले सहयोग गर्ने समेत उल्लेख गर्नु भयो ।

    फागुन २९ गते सम्म लाग्ने एक्स्पोमा करिब दुईलाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । एक्सपोको मुनाफाले विराटचौक,सलकपुर, हरैंचामा सुविधायुक्त शौचालय बनाउने आयोजकको लक्ष्य रहेको आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताउनुभयो ।

    कार्यक्रममा मोरङ क्षेत्र नं. ८ का सांसद चन्द्रबहादुर गुरुङ, पूर्वखेलकुद राज्यमन्त्री गोपी अछामी,सांसद अमृत अर्याल, इन्द्रपुर व्यापार संघको संस्थापक अध्यक्ष कृष्णप्रसाद दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम उद्घाटनको क्रममा हेलिकप्टरद्धारा पुष्प गुच्छाले स्वागत गरिएको थियो । कृषि तथा औद्योगिक उद्पादनलाई प्रवद्र्धन गर्न आयोजित एक्स्पोमा दुई सय दशवटा स्टलहरु रहेका छन् । जसमा २१ वटा अटोमोवाईल्स छन्  ।

  • थाहा छ ? हेलिकप्टर चढ्न नि पाइन्छ नि कोशी हरैचा एक्सपोमा

    थाहा छ ? हेलिकप्टर चढ्न नि पाइन्छ नि कोशी हरैचा एक्सपोमा

    यहि फागुन २१ देखि २९ गतेसम्म कोसीहरैचा उद्योग बाणिज्य संघको आयोजनामा मोरङ बिराटचोकमा हुने कोशी हरैचा एक्सपोमा हेलिकप्टर सफारी लगायत केहि बिशेष आकर्षणहरु रहने भएका छन् ।
    एक्सपोमा घोडा सफारी (घोडचढी), बाल उद्यान सहितको खेलकुद स्पोर्ट्स, चौरी गाइको प्रदर्सनी, लोपोन्मुख राउटे जातिको सहभागीता, भेज र नन भेजका छुट्टाछुट्टै मौलिक खानाका परिकार र नेवारी खानाका परिकार रहने आयोजकले जनाएका छन् ।
    कोसीहरैचा उद्योग बाणिज्य संघका महासचिव तथा एक्सपो आयोजक मुल समितिका सचिव सन्तोस वान्तवाले दिनुभएको जानकारी अनुसार हेलिकप्टर सफारी (टुरिङ) एक्सपो अबधिभर रहनेछ । हेलिकप्टर सफारी एक्सपो स्थलबाट इटहरी, धरान, भेडेटार र धनकुटाको राजारानी हुँदै महोत्सवस्थलसम्म हुनेछ ।

    एक पटकमा ५ जनाले यात्रा गर्न सक्ने सो हेलि सफारी १५ मिनेटको हुनेछ । त्यसको लागि सिम्रीक एयरसंग सम्झौता भैसकेको वान्तवाले जानकारी दिए । हेलि सफारीको लागि ७ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । हेलिकप्टर चार्टर्ड गर्दा लाखौं रुपैयाँ लाग्ने भएपनि ७ हजार ५ सय तिरेर यात्रा गर्दा यात्रुलाई सहुलियत हुने आयोजकले दाबी गरेको छ । – अम्बिका भण्डारी

  • व्यवसायमा जम्दै उर्लाबारीका युवा

    व्यवसायमा जम्दै उर्लाबारीका युवा

    इश्वर भट्टराई, उर्लाबारी / स्वदेशमै रोजगारीको अवसर नहुँदा समृद्ध जीवनको कल्पना गर्दै विदेश हान्निने युवाहरू बग्रेल्ती छन् । तर, पछिल्लो समयमा स्वदेशमै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या पनि उल्लेख्य छ । उर्लाबारीको सन्दर्भमा यहाँको व्यापार व्यबसायमा अहिले झण्डै ८० प्रतिशत युवापुस्ताकै बोलवाला छ । व्यवसायिक शोरूम, ठूला औद्यौगिक कम्पनीका डिलर होस् या कम्प्यूटर टेक्नोलोजीदेखि सुन पसल, होटल रेष्टुरेण्ट व्यवसाय, कलर ल्याब, फर्निचर उद्योग, कम्प्यूटर टेक्निकल सेन्टर, सहकारी संस्था, स्कूल सञ्चालन सबैतिर युवाहरूकै बर्चश्व छ । यसैसन्दर्भमा प्रस्तुत युवाहरू आफ्नै ठाउँमा व्यवसाय गरेर उदाहरणीय बन्दै अरूलाई पनि व्यवसायमा प्रेरित गरिरहनुभएको छ ।

    युवाको आकर्षण ‘ही एण्ड सी’मा
    उर्लाबारी–३ मा २०७३ मा सुनिल अग्रवाल र रोजिना देवकोटाले सञ्चालनमा ल्याएको ‘ही एण्ड सी’ अहिले उर्लाबारीमै सर्वाधिक कपडा बिक्री गर्न सफल पसलका रूपमा स्थापित भइसकेको छ । पुख्र्याैली व्यवसाय कपडा पसल नै भएपनि सुनिलले अहिले आधुनिक शैलीमा ढालेर पूर्वाञ्चलभरका ग्राकहहरूलाई पनि आफ्नो पसलमा आकर्षित गरिरहनुभएको छ । उहाँले उर्लाबारीमै पहिलो पटक कपडाका डिजाइनहरू आफ्नो फेसबुक पेजमा राखेर नौलो तरिकाबाट बिक्री गरिरहनुभएको छ । आफ्नो कपडा पसलमा नयाँ डिजाइनका कपडा राखेर युवापिढीलाई आकर्षित गरिरहनुभएका उहाँको अनुसरण गर्दै अन्य थुप्रै पसलहरू पनि खोलिएका छन् । १५ देखि २० लाख रूपैयाँको लागतमा शुरू गरेको व्यवसायले छोटो अवधिमा लोकप्रियता पाउनुमा उहाँ आधुनिक प्रविधिको प्रयोगलाई आधार मान्नु हुन्छ । एकवर्षदेखि प्रविधिको सदुपयोग गर्दै व्यवसाय गरिरहनुभएका उहाँलाई नेपालभरबाट नै कपडाको डिमाण्ड आउने गरेको बताउनुहुन्छ । तीन हजार रूपैयाँको कपडा खरिद गर्दा होम डेलिभरिको व्यवस्था रहेको उहाँको भनाइ छ । बीबीए अध्ययन गर्नुभएका अग्रवालले जुनसुकै व्यवसायलाई पनि नयाँ ढंगबाट शुरू गरेमा अवश्य पनि सफलता मिल्ने बताउनुहुन्छ । विदेशमा रगत पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्न भन्ने मान्यता उहाँ राख्नुहुन्छ ।

    विद्यार्थीको कन्फ्युजन हटाउने सुमनको सोलुसन
    उर्लाबारी–४ स्थित सोलुसन कम्प्यूटर इन्स्टिच्यूटमा कम्प्यूटर तथा ट्युसन कक्षा सञ्चालन हुँदै आएको छ । सूचना प्रविधिको यो पछिल्लो युगमा कम्प्यूटरमार्फत रोजगारमुखी बनाउने उद्देश्यले इन्स्टिच्यूट सञ्चालनमा ल्याएको निर्देशक सुमन अधिकारीले बताउनुभयो ।

    पछिल्लो समयमा कोरियाको रोजगारीमा युवाहरूको चासो बढेसँगै उनीहरूलाई कोरियन भाषामा दक्ष बनाउने र वैदेशिक रोजगारीमा सघाउने उद्देश्यले कोरियन भाषाको कक्षा पनि सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार इन्स्टिच्यूटमा अंग्रेजी तथा माध्यमिक तथा उच्च माध्यमिक तहका ट्युसन कक्षासमेत सञ्चालन हुँदै आएको छ । यस्तै, रोजगारमुखि रहेको कम्प्यूटर बेसिक, हार्डवेयर, प्रोग्रामिक कक्षाहरू पनि जब ग्यारेन्टी सहित सञ्चालनमा आएको उहाँको भनाइ छ । ‘हामीले युवापुस्तालाई रोजगारमुखी बनाउने लक्ष्यका साथ कम्प्यूटर प्याकेजमा विशेष जोड दिएका छौं,’ उहाँले भन्नुभयो, ‘सोलुसनमा कोरियन भाषाको कक्षाका साथै विभिन्न तहका ट्युसन कक्षा सञ्चालन भइरहेको छ ।’
    अर्काेतर्फ पछिल्लो समय उर्लाबारीमा इन्स्टिच्यूटहरू खुल्ने क्रम बढेसँगै यस क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा चलेको छ । तर, गुणस्तरीय शिक्षाको प्रतिस्पर्धामा सोलुसन अग्रपंक्तिमा रहेको उहाँको दावी छ । ‘अन्य इन्स्टिच्यूटमा विद्यार्थीलाई विभिन्न प्रलोभन देखाउने गरिन्छ’ उहाँले भन्नुभयो, ‘तर, हामी भने दक्ष शिक्षकशिक्षिकाबाट गुणस्तरीय शिक्षा दिँदै आएका छौं ।’

    हाडर्वेयर व्यवसायमा मनिष
    ‘काठमाडौं, विराटनगरलगायत अन्य ठूला शहरहरूका युवाभन्दा हामी ग्रामीण क्षेत्रका धेरै युवा रोजगारीका लागि बिदेसिन्छौ’ उर्लाबारी–३ का मनिष गौतम थोरै मात्र दुःख र धैर्य गर्दा आफ्नै ठाउँमा बसेर पनि धेरै उपलब्धि हाँिसल गर्न सकिने बताउनुहुन्छ । उहाँ आफूपनि ५–६ वर्षको अवधिमा रोजगारीका लागि चारवटा मुलुक पुग्नुभयो । तर, अब कहिल्यै विदेश नजाने निचोडका साथ उहाँले उर्लाबारी–३ जनपथ टोलमा आफ्नै व्यवसाय सञ्चालनमा ल्याउनुभएको छ ।
    करिब ४० लाखको लगानीमा उहाँले ओस्कार टे«ड लिङ्क सञ्चालनमा ल्याउनुभएको हो । २०७२ सालदेखि सञ्चालनमा आएको हार्डवेयर पसलमा घरनिर्माणका सम्पूर्ण सामग्री होलसेल मूल्यमा पाइने उहाँ बताउनुहुनुन्छ । घरपरिवारकै प्रेरणा र हौसलामा व्यवसायमा छिरेको बताउनुहुने उहाँ यसअघि ट्याक्टर व्यवसायमा हुनुहुन्थ्यो ।
    ग्रामीण क्षेत्रमा पर्याप्त रोजगारीको अवसर तथा सानो बजारका कारण रोजगारीका लागि युवाहरू विदेसिने गरेको उहाँको भनाइ छ । आफू विदेश बस्दा ग्रामीण क्षेत्रका मात्रै भेटिने गरेको बताउने उहाँले ग्रामीण क्षेत्र लक्षित गरेर उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने उहाँ बताउनुहुन्छ । निकट भविष्यमा आफूपनि उद्योग सञ्चालन गरेर ५० जनालाई रोजगारी दिने उहाँको लक्ष्य छ ।

    नुत्तनको ट्राभल्स एण्ड टुर्स
    गरे के हँुदैन भन्ने कुरा उर्लाबारी–२ स्थित पिके ट्राभल्स एण्ड टुर्सका नुत्तन राईको सफलताले पुष्ठि गर्छ । २१ वर्षको उमेरमा सोही पसलमा मासिक ३ हजार रूपैयाँले काम गर्नुभएका उहाँ हाल मालिक नै बन्नुभएको छ ।

    ट्राभल्समा जुनसुकै मुलुक जानका लागि अन्तराष्ट्रिय हवाइ टिकट तथा भारतको जुनसुकै स्थानमा रेल तथा बसको टिकट पाइन्छ । २०६६ सालमा कलिलै उमेरमा काठमाडौं छिर्नुभएका उहाँले त्यहाँस्थित एक होटलमा क्लिनरको रूपमा काम गर्नुहुन्थ्यो । उहाँमा पनि विदेश जाने सोच नआएको होइन । रोजगारीका लागि विदेश जानका लागि पार्सपोर्ट बनाउनुभएका उहाँले अब विदेश पारिवारिक भ्रमणका लागि मात्र जाने बताउनुहुन्छ ।
    विदेश जानका लागि राखेको ५० हजार र पाँच रूपैयाँ ब्याजमा अढाइ लाख ऋण काडेर उहाँले ट्राभल्सलाई आफ्नो स्वामित्वमा पार्नुभयो । ट्राभल्स सञ्चालनमा आएपनि एयरलाइन्सलाई दिनुपर्ने रकम नहुँदा उहाँले अन्य ट्राभल्समार्फत टिकट बुकिङ गर्नुहुन्थ्यो । त्यसबाट बचेको न्यून प्रतिशतले उहाँले डेढ वर्षको अवधिमा ऋण तथा एयरलाइन्सलाई डिपोजिट गर्दै उहाँले हाल पिकेबाटै राष्ट्रिय तथा अन्तराष्ट्रिय टिकटको आधिकारिक बिक्रेता बनाउनुभएको छ ।

  • बक्राहामा निम्तिने विपत्तका सम्भावित कारणहरु

    बक्राहामा निम्तिने विपत्तका सम्भावित कारणहरु

    इश्वर भट्टराई 

    बक्राहा–नूनसरी बाढी प्रभावित क्षेत्रमा पुग्दा बक्राहा नदी अझैं पनि मानवबस्ती क्षेत्रभन्दा माथिल्लो भागमा  छ । तस्विरमा देखिएझैं बर्खाको बाढीले मानव बस्ती क्षेत्र पुरै बगरमा परिणत भएको छ । नदी फर्काउनलाई कुनै प्रयास नभएको देख्दा यसपटक पनि बाढीले ठूलै विपत्त निम्त्याउने संकेत गरेको छ । भरपर्दाे तटबन्ध, बस्तीभन्दा नदीको सतह अग्लो हुनुले बक्राहा बग्ने चुरेदेखि भारतको बोडरसम्म झण्डै ५६ किलोमिटरमा त्रसित बनाउने गरेको छ ।  प्रस्तुत छ बक्राहामा निम्तिने विपत्तका सम्भावित कारणहरू ः
    बक्राहा नदीमा थुप्रिएको ढुंगा, गिटी, बालुवा ः
    बक्राहा नदीले मधुमल्लामा ढुंगा, गिटी, बालुवा थुपारेको छ । यसरी थुप्रिएको ढुंगा, गिटी, बालुवाले नदीको सतह अग्लो र बस्ती होचो छ । त्यसैकारण पानी तटबन्ध तर्फ हान्निएको छ । पानीको बेगले तटबन्धलाई कमजोर बनाउँदै गएको छ । कमजोर तटबन्धलाई बर्खाको समयमा नदीले भत्काइ कहिले पूर्वी तथा कहिले पश्चिमतर्फ विपत्त निम्त्याउने गरेको छ । नदी नियन्त्रणका लागि कनिका छरेजस्तो बजेट आउने गरेकाले नदी नियन्त्रणको प्रयास सबै निरर्थक सावित भइसकेका छन् ।
     ध्यामे पहिरो ः
    रमितेखोला–५ मा रहेको ध्यामे पहिरो सम्भवतः नेपालकै दोस्रो पहिरोमा पर्दछ । झण्डै दुई विगाहा क्षेत्रफलमा फैलिएको यो पहिरोबाट लेदोसहितको ढुंगा, गिटी, बालुवा बग्ने गर्दछ । सो ढुंगा, गिटी, बालुवालाई बुवा खोलाले बक्राहा मिसाउने गर्दछ । जसले गर्दा नदीको सतह अग्लो हुँदै गएको छ ।
     टालटुले मर्मत ः
    बक्राहाको तटबन्ध पाँच दशक पुरानो हो । भरपर्दो मर्मतको अभावमा तटबन्ध कमजोर बन्दै गइरहेको छ । पानीको वहावले तटबन्धमा केन्द्रित भएको देखिरहँदा समेत प्लाष्टिकका बोराको भरमा मर्मत र कटान रोकथाम हुँदै आएको छ । जुन वालुवामा पानी खन्याएसावित भयो । स्थानीयवासी दह्रो बाँधको पक्षमा छन् । बक्राहा बाढीपीडित संघर्ष समिति नै गठन गरेर उनीहरूले सरकारलाई दबाब दिँदै आएका छन् । तर, तटबन्ध मर्मतको नाममा बर्सेनि झारा टार्ने काम गरिँदै आएको छ । र, अब पनि यसरी नै भारो टार्ने हो भने आसपासका बस्तीलाई बक्राहाले उठिबास नै लगाउनेछ ।
    सरकारको बेवास्ता ः
    बक्राहाले बर्सेनि उठिबास लगाउँदै आएको छ, बक्राहाको तटबन्ध खतरामा छलगायत समाचार सञ्चार माध्यमहरूले सम्प्रेषण गर्दै आइरहेका छन् । सरकार तथा सम्बन्धित निकायको चासो बढ्ने गरेको छ, जतिबेला बक्राहाले वितण्डा मच्चाउछ । यसपटक पनि बेलैमा बक्राहा नियन्त्रणका लागि प्रयास थालिएन भने पूर्वी पूर्वीमोरङको मधुमल्ला, हसन्दह, राजघाट, अमरदह, गोविन्दपुरलगायत क्षेत्रमा ठूलै संकट निम्त्यिाउने छ । यसपटक पनि तटबन्ध निर्माण गरिएन भने बक्राहा नियन्त्रणका लागि धेरै ढिला भइसक्नेछ । बाढीको समयमा न त बक्राहाको समस्याको बारेमा हल्ला गरेर फाइदा छ, न त रोकथामको झिँजो प्रयास गरेर नै ।
    के बक्राहा बाढी नियन्त्रण होला त ?
    यसैसाता सिचाईं मन्त्री दीपक गिरीसहितको सरकारी टोलीले बक्राहा क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा मन्त्री गिरीले दुई महिनाभित्र परिणामसहित काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै युद्धस्तरमा काम थाल्न मातहतका निकायलाई निर्देशन दिनुभयो । सरकारले चाह्यो भने त नदीनियन्त्रणमा धेरै थोक गर्न सक्छ । तर, सरकारमा भने इच्छाशक्ति देखिँदैन । मन्त्री आउने र आश्वास दिने तर काम सिन्को नभाचिने पुरानै शैली हो ।
    प्रविधिले रातारात उकालो टेकीरहेको विश्वसन्दर्भमा बक्राहा–नूनसरीमा आकाश धमिलो हुने बित्तिकै अब भगवान भरोसा भनेर बस्नुपर्ने बाध्यता छ । यसपटक पूर्वीमोरङ साँच्चै खतरामा छ । मधुमल्ला, राजघाट, गोविन्दपुर, हसन्दह, अमरदह, इटहरालगायतका क्षेत्रमा बक्राहामा बाढी आउनु र कटान गर्नु बर्सेनि बढ्दो छ । खतरा रहेको स्थानमा भरपर्दो रोकथाम मर्मत तथा कटान प्रयास गर्ने इच्छाशक्ति नहुँदा भने पक्कैपनि समस्या नै मान्नुपर्छ ।

  • पाथीभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स

    पाथीभरा देवीको दर्शनका लागि मानव एम्बुलेन्स

    लोकनाथ रिजाल
    ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १९.४ किलो मिटर पुर्वाेत्तोर तथा समुन्द्र सतहदेखि ३७९४ मिटरको उचाईमा पुगेपछि सबैको बिश्वास र आस्थाकी देवी माता पाथीभराको दर्शन गर्न पुगिन्छ ।
    माताको एक झलक दर्शन गर्नकै लागि टाढा टाढा बाट दर्शनार्थीहरु अनेक कष्ट र दुःख झेल्दै पाथीको आकारमा रहेको त्यस पबित्र भूमी टेक्ने गर्दछन् । तल्लो फेदीबाट कस्सिएर हिड्न सक्नेका लागि २ घण्टाको नाक ठोकिने ठाडो र अक्करीलो भिरको यात्रा तय गरेपछि मात्र माताको काखमा पुगिन्छ । सो भिरको यात्रा तय गर्दा लेकाली अंगेरी , गोब्रे सल्लो , धुपी, बिभिन्न प्रजातीका लालीगुरांसको जंगल पार गर्दै जानुपर्छ ।
    साघुरो ढुंगे बाटो , शुन्य डिग्रीको तापमान, खाने पानीको अभाव तथा लेक लाग्ने उच्च डरका साथ बाटोको यात्रा तय गर्नुपर्छ । दर्शनका लागि तल्लो फेदीदेखि नै दर्शनार्थीहरुको लावालस्कर सुरु हुन्छ । यस्तो भएपनि आफ्नो मनोकामना पुरा गर्नका लागि नेपालका आन्तरीक दर्शनार्थीसंगै भारत, बंगलादेश, भुटान लगायतका देशबाट दर्शनका लागि भक्तजनहरु पुग्ने गर्छन् ।
    अत्यन्तै बिकट सो क्षेत्रमा आवश्यक सेवा सुबिधा नपुगे पनि दर्शन गर्न आउने बृद्ध बृद्धा , बालबालिका तथा अशक्तहरुका लागि काईदाको सेवा देख्न पाईन्छ । त्यो सेवा मानवीय एम्बुलेन्स सेवा हो । देबीको एक झलक दर्शनका लागि लालायीत हुने दर्शनार्थीले गंग्रेटो बाटो सहितको अक्करीलो भिरको यात्रा तय गर्न नसके भरीयाले बोकेरै देवीको काखमा पु¥याइदिन्छन् । यस बापत उनीहरु केजीको हिसाबले पैसा लिन्छन् । उनीहरु यस कार्यलाई मानवीय एम्बुलेन्स सेवा भन्न रुचाउंछन् ।
    मान्छे बोक्ने भरीयाको सेवा प्रदान गर्दै आएका स्थानीय श्री खड्का आफुलाई पहाडको एम्बुलेन्स भन्न रुचाउंछन् । किन यस्तो काम गरेको भनी सोध्दा उनी भन्छन् – “ आफुलाई खर्च पनि हुने अनि धर्म पनि कमाईने ।” तर मान्छेले मान्छेलाई नै बोकेर अफ्ठ्यारो उकालो र सांघुरो बाटो हिड्दा श्वास बढ्ने गरेको उनी सुनाउछन् । खड्का भन्छन्– “सास बढे पनि तिर्थ यात्रीहरुले बाबु धर्म गनुभो, तपाइंको भलो होस् भन्छन् त्यही भएर आफुलाई सन्तोष लाग्छ ।”
    अरु मानिसलाई लेक लागे पनि उनीहरुहरुलाई लेक लाग्दैन रे । दिनमा तीन चार पटक ओहोर दोहोर गर्ने भएकोले आफुहरुलाई लेक नलाग्ने गरेको खड्काले बताए । आफुहरु जस्तै अन्य थुप्रै साथीहरुले भरीयाको काम गर्दै आएको उनले सुनाए । कति संख्यामा यस्ता भरीयाहरु छन् त भन्ने प्रश्नमा खड्काले भने ३५–४० जना जति छौं ।
    यस्तो प्रकारको सेवा पाथीभरा बिकाश संरक्षण समितीले भने राखेको होईन रहेछ । त्यहींका स्थानीय मिलेर यस प्रकारको सेवा दिने गरेको उनीहरुको भनाई छ । खड्का भन्छन् “ हामीलाई कसैले राखेको पनि होईन । हामी युवाहरु मिलेर यस्तो काम थालेका हौ ।“
    मान्छे बोक्ने भरीयाको काम गर्दै आएका थुरुम्बुका बिकाश लिम्बुका अनुसार प्रति केजी अपको (चढाएको) १ सय रुपैया र अप एण्ड डाउनको (तलमाथीको) २ सय रुपैया लिने गरेका छन् । उनी भन्छन् –“तर दर्शनार्थी भनेर छुट दिने गरेका छांै । जस्तो कि १२ हजार रुपैया भयो भने हेरेर ९ हजार सम्म लिने गरेका छौ । “
    उनका अनुसार सिजनको बेला दिनमा न्युनतम १ हजार देखि ५ हजार सम्म कमाई हुने गर्छ । उनीहरुको कमाई हुने सिजनको बेला भनेको नौरथाको समय बिशेष गरी असोज–कात्तिक र चैत्र–बैशाख हो । खासगरी सिजनका बेला बिहान चार बजे देखि बेलुका ५ बजे सम्म सो बाटोमा यस्ता मानवीय एम्बुलेन्सहरु भेटिन्छ ।
    स्थानीय युवाले ज्यानको जोखीम राखेर यस प्रकारको सेवा दिईरहेपनि त्यहाको पाथीभरा संरक्षण कोषले भने खासै केही गरेको देखिदैन । बाटोमा एक दुई ठाउं शौचालय बनाए पनि त्यसको समेत उचित संरक्षण र सरसफाई हुने गरेको छैन । यतिसम्म कि मन्दिरमा दर्शनार्थीहरुले चढाएको पैसा छरपष्ट र भिजेर च्यातिएको देख्न सकिन्छ । यसरी पाथीभराको संरक्षण र बिकाशका लागि राज्य तथा अन्य क्षेत्रबाट उचित पहल नभएको कारण अन्र्तराष्टिय स्तरको धार्मीक तथा पर्यटकीय स्थल उपेक्षाको शिकार भएको छ ।

  • पर्यटकहरुको ढुकढुकी बन्दैछ बेतना सिमसार

    पर्यटकहरुको ढुकढुकी बन्दैछ बेतना सिमसार

    अम्बिका भण्डारी /  मोरङ बेलबारी बजारबाट २ किलोमिटर पूर्वमा अबस्थित बेतना सिमसार पूर्वी नेपालका मात्र नभई नेपालभरका र बिदेशी पर्यटकहरुको समेत आकर्षणको केन्द्र बनेको छ l कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल ओगटेको बेतना सिमसार क्षेत्र पर्यटकको आकर्षक गन्तब्य मात्र होइन, बन्यजन्तु र साना ठुला जी

    व अनि जंगली जनावरहरुको बासस्थानको केन्द्र समेत बनेको छ l

    दैनिक सरदर साढे  ५ सय भन्दा बढी पर्यटक आउने बेतना सिमसारमा हाल सेक्युरिटी गार्ड सहित दर्जनभन्दा बढी कर्मचारी छन्  l तारबेराले घेरिएको सिमसारमा चौबिसै घण्टा सेक्युरिटी बस्छन् l दुइवटा ताल रहेको पुर्व पश्चिम लोकमर्ग किनारमै अबस्थित सिमसारको पूर्वपट्टीको तालमा बोटिङ संचालन हुँदै आएको भएपनि पश्चिमपट्टीको ताल पानीझारले झाडीमय भएका कारण प्रयोजन बिहिन जस्तै छ l तर छुट्टै पिकनिक स्पोट र मनोरम दृष्यहरुको आकर्षणले गर्दा बिशेष अवसर, चाडबाड र बिदाका दिनहरुमा पिकनिक खान आउनेहरुको घुइंचो हुने गरेको बेलबारी गाबिसका पुर्व अध्यक्ष तथा बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहका सदस्य शिव बराल बताउनुहुन्छ l

    सिमसारवाला पहिलो सामुदायिक वन

    पहिले बेतना सिमसार संरक्षण समितिले ब्यबस्थापन गर्दै आएको बेतना सिमसार अहिले सामुदायिक बनको स्वामित्वमा छ l घाँस, दाउरा र काठ काट्न नपाइने गरी नयाँ निर्देशिका नै बनाएर गत वर्ष सरकारले सामुदायिक वनको रुपमा विधिवत दर्ता गरेर हस्तान्तरण समेत भैसकेको सामुदायिक बन हो बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह l तर नाम सामुदायिक बन भएपनि यसको काम भने बेतना सिमसारको संरक्षण र सम्बर्धन गर्ने मात्र हो l  बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह अरु सामुदायिक बनहरु भन्दा बिल्कुल भिन्न भएको र सिमसार संरक्षणको मूल उदेश्यले नेपालमा दर्ता भएको पहिलो सामुदायिक वन भएको दावी गर्नुहुन्छ सामुदायिक वनका सदस्य शिव बराल l

    सिमसार क्षेत्रमा आबश्यक पर्ने अर्थात आन्तरिक प्रयोजनको लागि लडे-पढेका काठ प्रयोग गर्न पाइने तर कसैलाई काठको बिक्री बितरण गर्न नपाइने प्राबधान रहेको अध्यक्ष बस्नेत बताउनुहुन्छ l त्यतिमात्र होइन, प्राकृतिक रुपमा जे छ त्यसको संरक्षण बाहेक सिमसार क्षेत्रमा रहेका बुट्यान र झाडी समेत सरकारको पुर्व स्वीकृतिबिना काट्न पाइन्न l

    जीवजन्तु र जनावरहरुको आश्रयस्थल  

    सिमसार क्षेत्रमा अजिंगर, चित्तल, निलगाई, बाँदर, ढेडु, हुचिल, लाटकोसेरो, बन बिरालो, पानी ओत र खरायो खोरमा राखेर संरक्षण गरिएका छन् l सिमसार क्षेत्रको तालमा जताततै साना – ठुला माछा नै माछा देखिएपनि कति माछा छन् भन्ने यकिन छैन l नेपालमा पाइने १२ प्रजाति मध्ये मयुरपंखी, सुनकछुवा र ढकनी कछुवा सहित ३ प्रजाति रहेको पुष्ठी भएपनि कछुवा बिज्ञ डा. के. आर. खम्बुले बेतना सिमसारमा ६ प्रजातिका कछुवा रहेको बताएका छन् l सिमसार क्षेत्रमा बिभिन्न प्रजातिका ३ सय भन्दा बढी कछुवा रहेको अनुमान गरिएको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष डम्बर बस्नेतको भनाइ छ l

    रैथाने र बिकाशे माछाहरुले नै सिमसार पोखरी ढाकिएको देखिन्छ l रैथाने जातका माछाहरु मार्न नपाइने भएपनि बिकाशे जातका माछा प्रसस्त भएकोले समय समयमा माछा बिक्री गरी आम्दानी भइरहेको बस्नेत बताउनुहुन्छ l मत्स्य बिकाश केन्द्रले बिगत दुइ बर्षदेखि बार्षिक रुपमा विकाशे माछाहरु सिमसार पोखरीमा छाड्दै आएको छ l  त्यस बाहेक केहि बर्ष पहिले धरानका एक लाहुरेले माछाका भुरा छाडेको र घुम्न आउने पर्यटकले समेत माछाका भुरा छाड्ने गरेकोले सिमसार पोखरीमा प्रसस्तै माछा छन् तर त्यहाँ कति माछा छन् भन्ने यकिन कसैलाई छैन l

    बेतना सिमसारको अर्को आकर्षण हो ८ फुट उचाई र ६ फुट लम्बाई भएको कमिलाको मुर्ति l करिब डेढ लाख लागतमा श्रम र एकताको प्रतीकको रुपमा केहि  बर्ष अघि बनाइएको कमिला सिमसार क्षेत्रको केन्द्रमा रहेको छ, जसले सिमसारको आकर्षण मात्र थपेको छैन, पर्यटक समेत आकर्षित गर्ने गरेको छ l

    पशुपंक्षी र वनस्पतिको बासस्थान केन्द्र

    प्बेतना सिमसारमा कछुवा, सिपी, घुंगी, गंगटा, भ्यागुता, सर्प, बुदुना, पैया, हिले, मुंग्री, सिङगी,बुहाली, असला, सिद्रा, टिलटिले, कालीमाछा, गराही, टेङग्रा, अन्धबाम, कैइचीबाम, राजाबाम, चुच्चेबाम र कवाई लगायतका जलचर छन् l त्यस्तै चरा प्रजातिका सारस, चिल, जलकौवा, काग, बकुल्ला, लुइचे, सिमकुखुरा, चिवे, हाँडीफोर, बाज, जुरेली, हुट्टीट्याउं, रुपी, ढुकुर, गौंथली, मयुर, कोइली, उल्लु,सुगा, भंगेरा,पानीहाँस, जलेवा लगायतका चरा चुरुंगी समेत बेतना सिमसार क्षेत्रमा छन् l

    त्यस्तै बँदेल, दुम्सी, सालक, अजिंगर, बाँदर, खरायो, ढेंडु, बन बिरालो, माछा खाने बिरालो, स्याल, चमेरा, हरिण, मृग, चित्तल, सुनगोहोरो र हात्ती आदि जंगली जनावरहरु पनि यस सिमसार क्षेत्रमा छन् l त्यसबाहेक पर्यटकले छोडेका आधा दर्जन हाँस पनि सिमसार क्षेत्रमा छन् l

    बनस्पति प्रजातिका बेत, बेल, रुद्राक्ष, अंगेरी , धतुरो, बनआँप, हर्रो, बर्रो, असारे, भर्लासाल, सिमल , भलायो, खयर, हलुड़े, टाँकी, सत्तीसाल, टुनी, काभ्रो, औलिया, पिपरी, आंक, ओदाल, दत्रुंग, टाँटरी, कुम्भी, क्यामुना, कुसुम, छतिवन, डुमरी, गलेनी, स्वामी, कमल, मरङगे, पटेर, जिब्रिसाग, वनकेरा र अर्चल आदि बनस्पति समेत बेतना सिमसार पर्यटकीय क्षेत्रमा छन्  l

    सिमसारको शुरुवात /अबधारणा  

    स्थानीय कृषकहरुलाई सहज रुपमा सिंचाइको लागि पानी उपलब्ध गराउने एकमात्र उद्देश्यले विसं २०५७ सालमा एक करोडभन्दा बढीको लागतमा बेतना खोला सिंचाई जल उपभोक्ता समितिले ड्याम निर्माण गरी पोखरी बनाएपछि सिमसारको अबधारणा बनेको थियो l त्यसबेला सिंचाई विभागबाट प्राप्त ९७ लाख र स्थानीय उपभोक्ताबाट उठेको १४ लाख ५९ हजार रकम लगानी गरी ड्याम निर्माण गरिएको थियो l

    बाँध बनाइएपछि पोखरीमा परिणत भएको दह आकर्षक देखिन थाल्यो र स्थानीय बासिन्दा पनि उत्साहित भए l राजमार्ग किनारमै भएकोले हेर्न र घुम्न आउनेहरु पनि बढ्दै गए l त्यहिबेला खासगरी एपेकको सक्रियतामा २०६० सालतिर त्यो दहलाई सिमसार बनाउने अबधारणा बन्यो र बेतना सिमसार नामाकरण गरियो l २०६१ सालमा नै बिष्णु बहादुर बस्नेतको अध्यक्षतामा बेतना सिमसार संरक्षण समिति बनाइएपछि सिमसारले संस्थागत रुप लिन थाल्यो l

    २०६१ सालमा नै एपेक मार्फत युएनडिपीले सिमसारको निर्माण र बिकाशका लागि १९ लाख रुपयाँ लगानी गर्यो l त्यसपछि सरकार र दात्री निकायको सहयोग बढ्दै गयो र एउटा आकर्षक पर्यटकीय थलो बन्यो l २०६७ सालमा जिल्ला बन कार्यालयको स्वीकृतिमा इलाका प्रसासन कार्यालय मोरङमा बेतना सिमसार संरक्षण समिति एक संस्थाको रुपमा दर्ता भयो l तर गत बर्ष बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह दर्ता भइ विधिवत रुपमा २०७२ असार ३१ गते हस्तान्तरण भएपछि बेतना सिमसार सोहि सामुदायिक बनको स्वामित्वमा छ l

    आब २०७२/०७३ मा पर्यटन मन्त्रालयबाट विनियोजित १५ लाख रुपयाँबाट हाल सिमसार क्षेत्रमा फुट ट्रयाक (पैदल मार्ग ) बनाउने काम भएको छ l

    बेतना सिमसारबाट निकाश भएको पानीले १२ सय बिघा क्षेत्रफल जमीनमा सिचाई हुँदै आएकोले स्थानीय कृषकहरु समेत लाभान्वित छन् l बिक्रम सम्बत २०२४ सालतिर राजमार्ग दक्षिणको ६० बिघे भन्ने ठाउँमा बस्ती बसाल्न हाल सिमसार रहेको क्षेत्रबाट पानी लगेर तत्कालिन सरकारले सिचाइको ब्यबस्था गरेको बताइन्छ l

    पुरातात्विक महत्वको सिमसार 

    बेत बाँस प्रसस्त रहेकोले त्यसको नामकै आधारमा बेतना नामाकरण गरिएको यो सम्पदा प्राकृतिक दृष्टिले मात्र होइन, पुरातात्विक दृष्टिले समेत अहम महत्वको छ l पुरातत्व विभागले गत बर्ष बेतना सिमसार क्षेत्रमा स्थलगत अन्वेषण तथा उत्खनन् गर्दा यहाँ भेटिएका माटाका भाँडा, ढुंगा र सिलौटा आदिको अध्ययनका आधारमा २५ सय बर्ष पहिले यहाँ मानब बस्ती रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको थियो l विभागले सिमसारको दुइ सय मिटर आसपासका तीन ठाउँमा उत्खनन् गरेको थियो l फेला परेका ती भाँडावर्तनका अवशेष नव पाषाणकालीन भएको पुरातत्व विभागले जनाएको छ l

    पर्यटक लोभ्याउने गुरुयोजनाको तयारी

    बेतना सिमसारको बिकाशको लागि गुरुयोजनाको तयारी भैरहेको छ l त्यसैले हाल सिमसारको बिकाश र संरक्षणका लागि तीनवटा खण्ड वा क्षेत्र प्रस्ताब गरिएको छ l जस अनुसार कुल १ सय ७४ दशमलब ९१ हेक्टर क्षेत्रफल रहेको यस सिमसार क्षेत्रलाई तिन खण्डमा बर्गीकरण गरीएको छ l

    वन क्षेत्र नभएको खण्ड १ अन्तरगत राजमार्ग दक्षिणतर्फको क्षेत्रमा १.८५ हेक्टर पानी, ९.०५ हेक्टर सिमसार, २.२७ हेक्टर बाँझो गरी १३.१७ हेक्टर क्षेत्रफल छ l खण्ड २ मा ४.२५ हेक्टर पानी, ११.३१ हेक्टर सिमसार, ४.१५ हेक्टर बाँझो जमीन र ४३.३३ हेक्टर बनक्षेत्र गरी ६३.०३ हेक्टर क्षेत्रफल छ l

    त्यस्तै पानी नभएको खण्ड ३ मा ११.२० हेक्टर सिमसार क्षेत्र, ४.९४ हेक्टर बाँझो तथा पार्टी क्षेत्र र ८२.५८ हेक्टर बन क्षेत्र गरी ९८.७१ हेक्टर क्षेत्रफल रहेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहले जनाएको छ l खाली जग्गामा पोखरी बनाई पिकनिक, बोटिङ लगायत मानवीय गतिबिधि संचालन गर्न दिने, खण्ड २ मा जैविक र प्राकृतिक सम्पदाहरुको संरक्षण स्थल सहित भ्यु टावर अनि खण्ड ३ मा जंगली जनावरको बासस्थान र अनुसन्धान केन्द्र बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभयो l (२०७३ )

  • नेपालको राजनीति र कृष्णको जर्किन काण्ड

    नेपालको राजनीति र कृष्णको जर्किन काण्ड

    अम्बिका भण्डारी
    कुरा दुई/चार सालअगाडिकै हो, खासगरी पूर्वीपहाडमा थोरै मात्र सरकारी क्याम्पस थिए । कलेज पढ्न जिल्ला सदरमुकाम भनौ“ अड्डा गएर नपुग्ने, जिल्ला छाडी सातु, सामल र कुम्लो–कुटुरो बोकी नहि“डे पढाइ बढ्ने कुरै नहुने । बाबुआमालाई घा“स–दाउरा र मेलापातमा सघाउने त कुरै छाडा“ै हप्ता र महिनामा घर आउन पनि मुस्किल । धेरै गाउ“वासी विद्यार्थीको नियति थियो त्यो ।

    पूर्वीपहाडका भोजपुर, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, खोटाङदेखि सोलु, ओखलढुंगासम्मका विद्यार्थी धनकुटा क्याम्पस आउ“थे । धनकुटा नै घर भए पनि हाम्रो गति उस्तै–उस्तै थियो । विद्यार्थीको चाप थामिनसक्नुको हुन्थ्यो ।
    घरनजिकै तेह्रथुमकै एउटा गाउ“ले स्कुलबाट कृष्ण खनालले जब एसएलसी पास गरे, तब खनाल परिवारमा पिरलो थपियो, उसलाई कहा“ पढ्न पठाउने भनेर । केही दिनको ठम्याइपछि निधो भो– धनकुटामा डेरा खोजेर राख्ने । जसअनुसार डेरा खोजखाज गरेर टुंगो लगाइयो र धनकुटा क्याम्पसमा भर्ना पनि गरियो ।

    पढाइ सुचारु नहुन्जेल कृष्ण घरतिरै बसे । जब पढाइ दनादन चल्न थाल्यो, कृष्ण सातु–सामल बोकेर धनकुटातिर झरे । दाया“–बाया“ र लप्पन–छप्पन नजानेका खनाल झट्ट हेर्दा अलि सोझाजस्ता थिए । बोली पनि लठेब्रो । त्यसैले साह्रोगाह्रो नहोस् भनेर परिवारले उसलाई चिनेजानेकै साथीभाइस“ग डेरामा बस्ने चा“जोपा“जो मिलाएको थियो ।
    हिउ“दे बिदा हो वा केको बिदा परेर हो कुन्नि † कृष्ण डेरालाई सातु–सामलको थप जोहो गर्न र न्यास्रो पनि मेटाउन ऊ घर गएको थियो सायद । दुई÷चार दिन घर बस्यो अनि फर्कियो कर्मथलोतिर कुम्लो–कुटुरोसहित धरान जाने बसमा सामानका पोका–पन्तुरा निकै । तर, ऊ एक्लो थियो, गाउ“घरबाट क्याम्पस जाने । त्यसैले सामान हराउ“छ कि भनेर होसियार हु“दै बसको यात्रामा थियो । जब ओर्लियो, कन्डक्टरले सबै सामान निकालिदियो । सकीनसकी सामान लिएर कोठामा पुग्यो । दिउ“सोको समयमा साथीहरू क्याम्पस गएको ठानी कोठामा गयो । एक जना साथी रहेछन्, जे भए पनि त्यसबेला मोबाइलको चलन आएकै थिएन, त्यसैले फोन गरेर साथीहरूलाई बसपार्कबाट सामान बोक्न सघाउनका लागि बोलाउन सक्दैनथ्यो । गाडीको यात्रा र कोठासम्म सामान ल्याउ“दा लखतरान भएको उसले सामान सही–सलामत छ कि छैन भनेर साथी खगेन्द्र ढकालको सहयोगमा पोको फुकाई हेर्न लाग्यो ।

    पोको फुकाइसक्दा नसक्दै कृष्णले पत्तो पायो, एउटा सामान छुटेछ । खङ्रङ्ग भयो । साथी खगेन्द्रलाई यति भन्यो– खगेन्द्रजी गाडीमा मेरो एउटा सामान छुटेछ । लौ न के गर्ने ? खगेन्द्रलाई पनि के कस्तो सामान भनेर सोध्ने बुद्धि पनि आएन, हतार–हतार त्यो गाडी भेटिन्छ कि भनेर दुवै भाइ कुदे, बसपार्कतिर । बसपार्क गएर काउन्टरमा तेह्रथुमबाट धरान जाने बसमा सामान छुटेको कुरा भनियो । काउन्टरवालाले आज बस छुटिसकेकाले भोलि आउन भन्यो, तर कृष्णलाई त्यतिमा किन चित्त बुझ्थ्यो र ? नम्बर मागेर धरानको बस काउन्टरमा फोन ग¥यो तर गाडी आइनपुगेको बताएर फोन राखिदियो ।
    त्यसपछि दुवै जना कोठामा गए । खगेन्द्रले सा“झको खाना पकायो तर कृष्णले खाना खाएन । भोकै सुतेको ऊ राति अबेरसम्म पनि निदाएन । साथी ननिदाएपछि विचरा खगेन्द्र पनि अबेरसम्म अनिंदै थियो । कृष्ण लामो सास फेरेर घरी–घरी भन्थ्यो– खगेन्द्रजी, मेरो कस्तो दामी सामान थियो, म बर्बाद भए“ । त्यो कोल्टे फेर्दै र लामो सुस्केरा तान्दै बिस्मातमै अनिंदै रात बिताइदियो कृष्णले तर त्यति हु“दा पनि खगेन्द्रले सामान के थियो भनेर सोधेन । पिरमा परेको मित्रलाई सोध्नु राम्रो हुन्न भन्ठान्यो ।
    अर्को दिन झिसमिसे नहु“दै कृष्ण उठ्यो । नित्य कर्म गरेन सायद, खगेन्द्र उठेकै थिएन एक्लै लाग्यो बसपार्कतिर । धेरैबेरसम्म बसिमात्र रह्यो । एक÷डेढ घन्टामा जब बस आउन थाले । ऊ प्रत्येकलाई यही बस पो हो कि भनेर घुमीघुमी हेथ्र्यो र सामान खोज्थ्यो । यति अतालिएको थियो कि बस धरानतिरबाट आएको हो वा उ“भोबाट भनेर पनि ख्याल नगरी सामान मात्र हेथ्र्यो । उठ्दा साथीलाई कोठामा नदेखेपछि खगेन्द्र पनि हतार–हतार हातमुख धोएर साथी बसपार्क गएको हुनुपर्छ भन्ठानी त्यतै आयो ।

    बस आउ“दैपिच्छे कृष्णको तलासी देखेर घरी–घरी खगेन्द्र लज्जित महसुस गथ्र्याे । र, सम्झाउ“थ्यो मित्रलाई तर कृष्णले किन सुन्थ्यो ? उसले दुई÷चारवटा बस छाडिसकेको थियो । बिचरालाई न आफू आएको बसको नम्बर ख्याल थियो न त कन्डक्टर यही हो भन्ने हेक्का । आफू ओर्लंदा बसबाट सामान ननिकालिदिने बसका कन्डक्टरलाई सत्तोसराप गर्दै झन्डै दर्जन बसको तलासी लि“दा पनि पार नपाएपछि खगेन्द्र सम्झाउ“दै थियो, कृष्णजी भैगो छाडिदिनोस् रुममा जाऊ“, तपाईंको सामान अब भेटिन्न तर कृष्ण मानेन, केहीबेरमा हिजोको बस पनि आइपुग्यो, कसो–कसो कृष्णले कन्डक्टरलाई ठम्यायो । र, तिरिखिरी पार्न खोज्यो । तर, कन्डक्टर किन टेथ्र्यो र ? उसले बसमा केही सामान नछुटेको जिकिर ग¥यो । कृष्णले बसभरि खोज्यो आङ्खनो सामान तर भेटेन । भाउन्न हु“दै बसबाट निस्कियो ।

    स्टाफले सोध्यो, ‘तिम्रो हराएको सामानचाहि“ के हो नि भाइ ?’ कृष्णले मुर्मुरिएको भावमा भन्यो, ‘जर्किन ।’ बसभरि सबै जनाको हा“सो भयो तर उसले झन् कसि“दै भन्यो, ‘के हा“स्नुप¥या नि ?’ चानचुने जर्किन हो र ? त्यो त बाक्लो थियो, आमाले पठाइदिनुभएको, त्यस्तो जर्किन त अचेल पाइ“दा पनि पाइ“दैन । हा“सो झन् रोकिएन । कुरा बुझेपछि खगेन्द्र कोठातिर लाग्यो र हतार–हतार पकाई–तुल्याई गरेर कलेज गयो । कृष्ण भने न कोठामा गयो न त क्याम्पस नै गयो । दिउ“सोतिर कोठामा गई खगेन्द्रले राखिदिएको भात अलिकति खाएर सुतिरह्यो ।
    कुराचाहि“ के रहेछ भने खगेन्द्रको घरबाट यसो मट्टीतेल हाल्न हुन्छ भनेर अढाई लिटरको जर्किन हालिदिएका रहेछन् । ध्वा“सोमा राखेर कालो भएको र बिर्कोसमेत नभएको त्यो जर्किन कृष्णका लागि त अजम्बरी बुटीझै“ थियो तर अरूका लागि सामान्य लाग्थ्यो । आङ्खनो सामान हराउ“दा माया लाग्नुमा बिचराको दोष थिएन । बेलुका खगेन्द्र क्याम्पसबाट आएपछि कृष्ण भन्दै थियो– खगेन्द्रजी, म त बर्बादै भए“ । मेरो सामान भेटिएन । बीचैमा रोकेर खगेन्द्रले हप्कायो, ‘धत् जाबो एउटा थोत्रो जर्किन बसमा छुटेर हराउ“दा पनि यत्रो टेन्सन ? बेकारमा हिजोदेखि कुदाएर । त्यस्तो जाबो जर्किन त दुई÷तीन रूपैया“मा नया“ पाइन्छ, बरु म किनिदिउ“ला एउटा ।’

    कृष्ण त्यो जर्किनका थप विशेÈता बखान गर्न खोज्दै थियो, ऊ ठान्थ्यो नया“ जर्किन किने पनि हराएको सरी हुन्न । खगेन्द्रले हप्कायो– चुप लाग्नोस्, बेइज्जती । अनि बल्ल मुख बन्द भयो कृष्णको । तर, पछिसम्म बस आउ“दा–जा“दा जर्किनको आस गरेझै“ नजरले हेथ्र्यो कृष्ण ।
    कुरा हो झन्डै १२÷१५ वर्Èअघिको । हराएको जर्किन कृष्णलाई घरबाट खासमा खाना पकाउन स्टोभ बाल्ने मट्टीतेल हाल्नका लागि पठाइदिएका थिए, जुन अढाई लिटरको थियो, ध्वा“सोले कालो भएको पुरानो थियो । त्यत्तिकै साइजको जर्किन बजारमा दुई÷तीन रूपैया“जति पथ्र्यो होला । यद्यपि, दुुई÷तीन रूपैया“को भाउ निकै थियो र अर्को कुरा त्यो पुरानो जर्किनमा नया“भन्दा केही फरक विशेÈता पनि थियो होला । घरबाट पठाएको हुनाले सायद कृष्णले त्यो जर्किन हेरेर घरको याद भुल्थ्यो होला ।

    पैसाको नजरबाट नहेर्ने हो भने जर्किनमा आमाको माया, स्नेह र सद्भाव पनि मिसिएको थियो होला, कृष्णको नजरमा । बजारमा किन्ने नया“ जर्किनमा ती विशेषता हुन्नथ्यो होला, जुन जर्किनको खोजी गर्न र पिरै पिरमा कृष्ण दुई दिनसम्म क्याम्पस गएन । तीन÷चार छाक भात खाएन, जर्किन भेटिने आसमा फोन गर्न आठ÷नौ रूपैया“ खर्चियो । त्यति मात्र होइन, एक÷दुई रात त निदाएन पनि । माना“ै कृष्णका लागि त्यो बेला जर्किनभन्दा ठूलो कुरा नै सायद केही थिएन । अरूका लागि हा“सोको मामिला र मूर्खतापूर्ण काम भए पनि । जर्किन भेटिएको भए कृष्णले कति वर्Èसम्म स्टोभ बाल्ने मट्टीतेल हाल्थ्यो होला वा भुटुन राख्दै तरकारी पकाउ“थ्यो होला वा जसरी भए पनि जर्किनले हजारा“ै बराबरको काम गथ्र्यो होला ।
    हुन त कृष्णको हराएको जर्किन संविधानसभाको विम्बका रूपमा तुलनायोग्य नहोला तर कृष्णले अन्जानमा दुई रूपैया“को जर्किन हराएर १०÷२० रूपैया“ सक्दा पनि नभेटाएको सरी नेताहरूले जानाजान अर्बांै सकेर संविधानसभालाई तुहाएको विषय भने तुलनायोग्य छ, पक्कै पनि । कृष्णका लागि जर्किन भरोसाको केन्द्र भएझै“ नेपाली जनताका लागि संविधानसभा आशा र भरोसाको केन्द्र थियो । जे–जसरी भए पनि कृष्णको महŒवपूर्ण सामान हराएझै“ हराइयो संविधानसभालाई । कृष्णले तेह्रथुमबाट धनकुटा आइपुगेको जर्किन हराएजस्तै जनयुद्धदेखि जनआन्दोलनको उपलब्धि भनिएको संविधानसभालाई गन्तव्यमा पुग्न लाग्दा निगुरोसरि निमोठियो । कृष्णको बेहोसीले जर्किन हराएको थियो तर नेताहरूले होसमै जानाजान हराइदिए, संविधानसभालाई ।

    जर्किन हराउ“दा कृष्णको भविष्य बिगारेन तर नेताहरूले नेपाली जनताको भविष्य नै बिगारिदिए । कृष्णले त बेहोसमा गरेको गल्ती सुधार्न अनेक यत्न ग¥यो, भात पानी, निद्रा र पढाइ बिर्सेर या भनौ“ त्यागेर गल्तीको पश्चात्ताप ग¥यो, खा“दै नखाई Ôतिको अनुभूत ग¥यो अझ भनौ“ कुबेरले तोरी टिपेझै“ लगाब प्रदर्शन ग¥यो तर नेताले न पश्चात्ताप गरे, न Ôमा मागे न त Ôतिपूर्तिको कोसिस नै गरे ।

    कृष्ण अति सोझो र कन्जुसजस्तो भए पनि इमानदार थियो तर नेताहरू बेइमान । जर्किन खोज्ने कृष्णलाई हा“सोको पात्र बनाइएझै“ संविधानसभालाई तुहाउनेहरू हा“सोको पात्र भएका छन् तर जर्किन नभेटिए पनि लगावको हिसाबले कृष्ण असफल भएन तर नेताहरू असफल सावित भए । गुमाएको उपलब्धि फर्काउन कोसिस खासै गर्दै गरेनन् । कृष्णको त्याग प्रशंसालायक थियो तर पटक–पटक म्याद थप्दा पनि गम्भीर भएनन्, लगाव र त्याग देखाएनन् नेताले । यद्यपि, लगानीको नजरमा र उपलब्धिको हिसाबले कृष्णको जर्किन खोजाइ र नेतागणको संविधान बनाइ उस्तै–उस्तै बन्न गयो ।
    माथिको कथाका पात्र कृष्णजी सायद अचेल कुनै क्याम्पसमा पढाउ“दै होलान् वा कुनै न कुनै सरकारी वा निजी निकायमा जागिरे बनेका होलान् । उनले त्यतिबेलाको जर्किन जात्रा बिर्सिसके पनि होलान् तर कृष्णजीले नेताले जनताको भविष्य बिगारेझै“ जिन्दगी बिगारेनन्, जर्किनहरू हराइरहे तर कृष्ण बहकिएनन् पढाइ छाडेर, पढिरहे निरन्तर । जर्किनको अभाव खड्किए पनि कृष्ण कतै अड्किएनन् तर नेताहरू अड्किए, सड्किए र रड्किए बीचबाटोमै । गोरु कुट्न हलो अड्काइएझै“ ।

  • वेमैसमी तरकारी खेतीबाट राम्रो आय आर्जन गर्दै लेटाङका कृषक

    वेमैसमी तरकारी खेतीबाट राम्रो आय आर्जन गर्दै लेटाङका कृषक

    केशु बिरही, लेटाङ मोरङ / उतरी मोरङको भोगटेनी १ र २ वडा का एक दर्जन किसानहरुले व्यावसायीकरुपमा वेमैसमी तरकारी खेती सुरुगरेका छन् ।

    उन्नत जाँतका विरुवाको बिउ ल्याई स्थानीयहरुले व्यावसायी तरकारी खेती थालेपछि यहाँका अधिकांश किसानहरु यो खेतीबाट राम्रो आयआर्जन गर्ने सोते बन्दै गएको छ । १ बर्ष अधि स्थानीय किसानहरुलाई प्लान नेपाल सहयोग मा हर्डन नामक सस्थाले तालिम दिएपछि तरकारी सकलन केन्द स्थापना गदिएपछि किसानहरुले वेमैसमी तरकारी व्यावसाय सुरु गरेका छन्  ।
    विदेश जाने खर्च स्वदेशमा लगानी गरे केही गर्ने सकिन्छ भने आसाले विदेश नगई घरमा बसेर व्यवसाय सुरु गरेका भोगटेनी २ का ४५ बर्षीय हेम वा मगर वेमैसमी तरकारी खेती बाट सन्तुटी बन्न थालेका छन् । मगर ले भोगटेनी महिला साकोस मोरङ बाट ४० हजार ऋण लिएर २०६९ चैतबाट वेमैसमी तरकारी खेती सुरु गरेको हो । ५ बर्ष साउदी मा बसेका मगर ले विदेशको तातो घाममा समय विताउनु भन्दा विदेश जाने सोचले अगाडी बढी रहेका साथीभाई लाई वेमैसमी तरकारी खेती थाल्न सुझका दिने उनी बताउँछन।

    विदेशमा भोगेको दुख, परिवारसंग टाडा रहनु इत्यादि कारणले विदेश जाने सोचमा परिवर्तन ल्यााएको उनी सुनाउँछन् । विदेश जाने रकम स्वदेशमै लगानी गरेको छु, विदेशको भन्दा तरकारी खेती व्यावसायबाट राम्रो कमाई हुने उनको कथन छ । विदेशमा एकलै, स्वदेश मै सपरिवार संग व्यावसाय गर्दा छुट्टै आनान्द हुने उनको अनुभव छ । उनका साथमा ,श्रीमती ,२ छोरा र १ छोरी छन् । घर खर्च ,छोराछोरी लाई क्याम्पस पढाउन खर्च राम्ररी नै धानेर पनि राम्रो मासिक बचत भइरहेको मगर बताउँछन् ।

    मगरले वेमैसमी तरकारी खेती अन्तर गत टमटर,फुलकोपी,बन्दा ,चौमासे सीभी,खोसानी लगाएत जातका तरकारी लगाउने गरेका छन। । उनले ५ दिनमा सबै जात को तरकारी गरेर २० के जी तरकारी उत्पादन गर्ने गरेका छन । थोरै घरमा खान राखेर सवै नजिकैको सकलन केन्द्रमा. जम्मा गर्ने गरेका छन् ।उनले अहिले हाल आपनै ५ रोपनी जग्गा मा तरकारी लगाएका छन।
    मगरले अरु ८ रोपनी मा भन्ने अदुवा र अँलिसो लगाएको छ । ५ रोपनी मा लगाएको तरकारी खेती मासीक रुपमा रसायनिक मल, विभिन्न किसीमका किटनासक औषधि हजार ३ सय ४० रुपैया मासिक खर्च हुने मगर ले बताएका छन् ।

    उता महिनाको खर्च कटाएर आफुलाई २० हजार मासिक आम्दानी हुने उनको तर्क छ । उनी मात्र तरकारी खेत ीगर्ने एकला भने होईन् यस्तै भोगटेनी–१ कै महेन्द्र मगर पनि ७० हजार स्थानीय सहकारी संस्थाबाट ऋण लिई तरकारी व्यावसाय सुरु गरेको थियो । पहिले २ रोपनी माm, पछि ३ रोपनी मा गरी अहिले ५ रोपनीमा वेमैसमी तरकारी खेती गदै आएका छन। उनको पनि टमटर,फुलकोपी,बन्दा,चौमासे सीवी,वोडी, लगाएतका वेमौसमी तरकारी खेती गदै आएका छन् । उनले मासिक खर्चकटाएर १५ हजार जति आम्दानी भएको मगर बताउँछन् ।

    उनी पनि यो व्यावसायलाई क्रमश बढाउदै लगेर नमुना कृषि तरकारी खेती लाई व्यावसायी बन्ने सोच राखेको उनको तर्क छ । अहिले उनले दैनिक ५ के जि तरकारी वेच्दै आएको छ । त्यसोत वेमैसमी तरकारी गर्ने लागी उचा भएको जग्गा भए उच्चा ठाउँ र पानी नजम्ने ठाउँ भए राम्रो हुने उनले वताए।।
    त्यसरी विभिन्न सहकारी संस्थाबाट ऋण लिएर वेमैसमी तरकारी खेती गर्ने मगर मात्र होइन भोगटेनी–२ का ३२ बर्षीय नविन मगर ले पनि मासिक २० के जी खोसानी बेच्दै आएका छन् ।त्यस्तै भोगटेनी –२ का दलि बा राई पनि मासिक १० के जि वेमैसमी तरकारी राम्रो आयआर्जन र्गदै आइरहेको उनीहरु बताउँ छन् ।

    त्यसो त भोगटेनी २ को तरकारी सकल्न केन्द जम्मा गरी विभिन्न बजार मा जाने गरेको छ। ् भोगटेनी बाट दैनिक २ मन तरकारी जम्मा हुर्ने गरेको छ । सुरुमा सरुमा निकै गारो भएपनि हाल सल्कलन केन्द भएकाले यातयात को पनि सुविधा पुगेकाले जति तरकारी उत्पादन भए पनि बजार मा खपत हुने मान बा मगर ले बताए।
    भेगटेनी बाट उत्पादन भएको वेमैसमी तरकारी लेटाङ,केरावारी,बेलवारी ,ईन्द्रपुर,ईटहरी विराटनगर जाने गरेको छ। सरकारले कृर्षी क्षेत्रमा लगेका व्यतिmहरु लाई विभिन्न तालिम दिएर व्यवसायिक तरकारी खेती तिर उचित सबोधन्न गर्ने सके अझ उत्पेरण मल्थो कि ?

  • गल्फका नेपालीले एनआरएनलाई हेर्ने दृष्टिकोणमा ठुलो परिवर्तन ल्याईसकेका छौं – भुसाल

    गल्फका नेपालीले एनआरएनलाई हेर्ने दृष्टिकोणमा ठुलो परिवर्तन ल्याईसकेका छौं – भुसाल

    गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालसंग एनआरएनए आइसीसी मिडिया टास्कफोर्स सदस्य उत्तम अधिकारीद्वारा लीइएको अन्तरवार्ता :

    • यूएईमा एनआरएनएको मुभमेन्ट कस्तो छ, यहाँ रहेका नेपालीहरुको निश्वास कत्तिको आर्जन गरेको छ एनआरएनए यूएईले ?

    धेरै कुरा गर्न चाहदा चाहदै र महसुस हुँदा पनि गर्न सकिएको छैन । तर एनसिसि यूएई मातहतका बिभिन्न क्षेत्रीय कमिटिहरु सक्रियताका साथ लागिपरेका छन् । दुबई, आबुधाबी, फुजिराह, रासअलखेमा लगायत कमिटीहरु चलायमान अवस्थामा रहेका छन् । हामीले गएको कार्यकालमा अनुमानित ६२ लाख लगानीमा इन्डोर क्रिकेट ग्राउण्ड बनाउन जर्सी अभियान संचालन गर्यौं । यूएईमा अनिस खालिंग राई बचाऊ सचिवालय एनआरएनकै संयोजकत्वमा गठन भयो र रकम संकलन कार्य सकियो । हामीले सिन्धुपाल्चोकका बाढी पिडित नागरिकका लागि यूएईबाट सहयोग संकलनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका छौं । काठमाडौँमा बन्ने एनआरएनए आइसीसीको भवन निर्माणको लागि रकम संकलन अभियान अन्तरगत २ लाख जम्मा गराइसकिएको छ भने बाँकि संकलन गरिदै छ । समय समयमा जनमानसलाई आकर्षित गर्ने खालका केन्द्रिय र क्षेत्रीय स्तरका बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेका छौं । अचेत अबस्थामा रहेका बुद्धि बहादुर कार्कीको बालबच्चाको सहयोगार्थ, पनौतीमा रहेको सामुदायिक पुस्तकालय भवन निर्माण सहयोगार्थ र चितवनको सहाराको घरमा रहेका केटाकेटीको शिक्षा दीक्षाका सहोगका लागि दुबई कमिटीले आर्थिक सहयोग गरेको छ । अन्य क्षेत्रहरुले पनि यथासक्य बिभिन्न क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

    हामीले बिभिन्न समस्यामा अल्झिएका नेपालीहरुलाई बिगत देखि नै निरन्तर रुपमा सहयोग गर्दै आइरहेका छौं । यूएईमा हामीले नेपालीहरुको बीचमा राम्रो भूमिका निर्वाह गरेकै कारण बिगतमा भन्दा अहिले एनआरएनलाई आफ्नो ठान्ने र यसमा आबद्ध हुनुपर्छ भन्ने भावनाको बृद्दी भएको मैले पाएको छु । यहाँका अधिकाम्स बैचारिक, सामाजिक, क्षेत्रीय तथा जातीय संस्थाहरु पनि अहिले एनआरएनप्रति आकर्षित भएको र यसलाई सबैको साझा चौतारीको रुपमा हेर्ने बातावरण बनेकाले हामी धेरै भन्दा धेरै नेपालीको बिश्वास जित्ने क्रममा छौं जस्तो लाग्छ । तर जति हामी यहाँका नेपालीहरुबीच पुगिसक्नु पर्थ्यो त्यति पुग्न नसकेको यथार्थतालाई पनि हामीले स्विकार्नु पर्छ ।

    बिगतमा एनआरएन भनेको धनिहरुको मात्रै संस्था हो र यो युरोप अमेरिकावासी नेपालीहरुले दोहोरो नेपाली नागरिकता कायम गराउनका लागि मात्रै स्थापित भएको संस्था हो भन्ने जुनखाले मानसिकता जनमानसमा रहेको थियो त्यसलाई हामीले यस अबधिमा चिर्न सफल भएका छौं । स्थानीय समस्याहरु समाधानका लागि एनआरएनले अग्र पंक्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मान्यता यसबीचमा स्थापित भैसकेको छ । त्यसकारण मलाई लाग्छ हामी यूएईका नेपाली समुदायको बिश्वास जित्दै आफ्नो पहिचान स्थापित गर्दै अघि बढ्दैछौं ।

     

    • खाडी क्षेत्रमा रहेका नेपालीहरु श्रमिक हुन् जो केहि समय पश्चात नेपाल फर्कन्छन । त्यसैले यस क्षेत्रमा कार्यरत श्रमिक एनआरएन होइनन् भन्ने आवाज पनि ठुलो रुपमा उठ्ने गरेको छ र यहाँका नेपालीहरुले एनआरएन प्रति खासै चासो नदेखाउनुले पनि यो प्रष्ट हुदैन र ?

    हो, हामी मध्यपूर्वमा बस्ने नेपालीहरु श्रमिक नै हौ । युरोप अमेरिका जस्तो स्थायी बसोबासको लागि अधिकार प्राप्त गर्ने प्रावधान छैन यहाँ । तर हामी नेपालीहरुले रोजगारकै क्रममा पनि यस क्षेत्रका राष्ट्रहरुमा २०-२५ बर्ष बिताउने गरेका छौं, यस्ता थुप्रै उदाहरण छन् । जबसम्म हामी बलियो संगठनमा आबद्ध हुदैनौ तबसम्म आफ्ना समस्याका बारेमा सम्बन्धित निकाय सम्म आफ्नो माग र आवाज पुर्याई आफुलाई स्थापित गर्न सक्दैनौ । नेपाल सरकारले बिदेशमा बस्ने नेपालीलाई हेर्ने दृष्टिकोण र गैर आवासीय नेपाली संघको बिधानको परिभासाले नै सार्क राष्ट्र बाहेकका देशमा बस्ने नेपालीहरु एनआरएन हुन् भन्ने स्पष्ट उल्लेख गरिसकेकाले यस क्षेत्रमा बस्ने नेपाली एनआरएन होइनन भन्ने कुरालाई म मान्दिन । हामी गैर आवासीय नेपाली हौँ तर युरोप र अमेरिकी राष्ट्रका नेपाली भन्दा भिन्न परिश्थिति, परिवेस र समस्याहरु हाम्रा अगाडी छन् । संगठनमा आबद्ध भएर यहाँ कार्यरत नेपालीहरुको समस्यालाई सिंगो संगठनको तर्फबाट निराकरण गराउनका लागि हामी निरन्तर प्रयत्नरत छौं र धेरै मात्रामा हामीले यस बिषयमा प्रगति हासिल पनि गरिसकेका छौं ।

    • तीन लाख भन्दा धेरै नेपालीहरु रहेको यूएईमा जम्माजम्मी एक हजार जनाले मात्रै एनआरएनको सदस्यता लिनुलाई कसरी हेर्नुहुन्छ ?

    हामीले संगठनलाई जुन किसिमले परिचालित र बिस्तार गर्न सक्नु पर्थ्यो त्यो हुन नसकेको सत्य हो । हजारौंको संख्यामा लेवर क्याम्पहरुमा बस्ने र दुर दराजमा बस्ने नेपालीहरु बीच हामी पुग्न नसकेको तथा संगठनको महत्व दर्शाउन नसकेको पक्कै हो । गैर आवासीय नेपाली संघ बिदेशमा बस्ने तमाम नेपालीहरुको एउटा त्यस्तो संगठन हो जसको मध्यमद्वारा हामीले विश्वभर सामना गरिरहेका चुनौती र समस्याको गहिराई सम्म पुगेर समाधानका लागि उचित व्यवस्था गर्न सक्छौं र अवसरहरुलाई नियाल्दै त्यसलाई प्राप्त गर्न समेत सक्दछौं । तर गल्फ क्षेत्रमा रहेका धेरै नेपालीहरु संगठनमा आबद्ध हुने इच्छा हुँदाहुँदै पनि यहाँको ड्युटी गर्ने स्थानीय नियम कानुनका कारण, छुट्टी नमिल्ने कारण, दैनिक ८-१० घण्टा काम गर्नुपर्ने तथा काम गर्ने स्थान र बासस्थान टाढा टाढा हुँदा हुनेगरेका समय अभावका कारणले गर्दा संगठनमा सक्रिय रुपले समाहित हुन नसकेको यथार्थ हो । जे जसरी यहाँ अधिक शारीरिक परिश्रमयुक्त क्षेत्रमा कार्यरत श्रमिक बीच हामी पुग्नु पर्थ्यो त्यहाँ पुग्न नसकेकै हो तर त्यसका पनि कारणहरु छन् । अभियान संचालन गर्न आर्थिक अभाव, ड्युटी गरेर बचेको समयले संगठन संचालन गर्नुपर्ने हुँदा यथेष्ट समयको अभावका कारण बिशेष क्याम्पेन चलाउन नसक्नुले गर्दा केहि समस्या आएका पनि छन् । तर हामी हिजोको तुलनामा हेर्ने हो भने धेरै फैलिरहेका छौं । हिजोका दिनमा गल्फ क्षेत्रका नेपाली एनआरएन होइनन् भन्दै बिरोध गरि हिड्नेहरु पनि आज आएर समस्या समाधानका लागि एनआरएन आवस्यक छ भन्दै वकालत गर्दै हिडेका र स्थानीय समस्यालाई एनआरएनले बढी संबेदनशीलताका साथ उठाउनु पर्ने सुझाव प्रस्तुत गर्ने गरेकाले हामी खुम्चिएको भन्न मिल्दैन । हामीले यस क्षेत्रमा कार्यरत नेपालीको एनआरएनलाई हेर्ने सोचमा ठुलो परिवर्तन ल्याइसकेका छौं ।

    • एनआरएनले आफ्ना मौलिक अभियानाहरुलाई छोडेर नेपाली समाजले गर्ने गतिविधिमै आफुलाई सिमित राख्ने गरेको गुनासाहरु सुनिन्छ नि, तपाईंलाई के लाग्छ ?

    मौलिक अभियान छोडेको भन्ने कुरा म स्विकर्दीन । एनआरएन सबै प्रवासी नेपालीहरुको साझा संस्था भएकाले समस्यामा परेका व्यक्तिबाट आउने गुनासालाई हामी सामाजिक प्राणी भएकाले नाताले पनि त्यतिकै छोड्ने वा वास्ता नगर्ने कुरा पनि आउदैन । त्यसरी समस्या लिएर आउने नेपालीलाई यो बैचारिक संस्थाले गर्ने, सामाजिक वा जिल्लागत संस्थाले गर्ने, जातिगत संस्थाले गर्ने काम हो हामी गर्दैनौं भनेर पन्छाउन मिल्दैन । हामीले जहाँ जहाँबाट सक्छौं त्यहाँ त्यहाँबाट सक्नेसम्मका साना-ठुला सबैखाले समस्या समाधान गर्न निरन्तर पहल गरिरहेका छौं । यसबाहेक आइसीसी बाट प्राप्त हुने निर्देशन अनुसारका कार्यक्रम र अभियानहरु पनि हामीले संचालन गर्दै आइरहेका छौं । यस अर्थमा मूल मुद्धा वा अभियानबाट पन्छिएको भन्न मिल्दैन भन्ने कुरा म यहाँहरुको यसै अन्तर्वार्ता मार्फत मार्फत यस क्षेत्रमा रहनु भएका तमाम नेपालीहरुमा बाड्न चाहन्छु ।

    • नेपाली संघसंस्थाले बिभिन्न अभियानको शुरुवात तामझामका साथ गर्ने तर धेरैजसो अभियानलाई ब्यबस्थित रुपले सम्पन्न गर्न नसकेका थुप्रै उदाहरण छन् । एनआरएन यूएई पनि यसबाट अछुतो रहेको छैन । किन यस्तो हुने गर्दछ ?

    अभियानहरु अल्पकालीन र दिर्घकालिन हुन सक्दछन । तपाईंले एनआरएन यूएईको क्रिकेट इन्डोर प्राक्टिस ग्राउण्ड निर्माण सहयोगार्थ संचालित क्रिकेट टिमको जर्शी अभियानलाई इंगित गर्न खोज्नु भएको भए यो अभियान अघिल्लो कार्यकालमै शुरु गरिएको हो । अहिलेका मध्यपूर्व संयोजक चन्द्र रोकाहा जी, जो त्यतिबेला एनआरएन यूएईको अध्यक्ष हुनुहुन्थ्यो उहाँले अधिबेसन अगावै उक्त अभियान चाहिं आफ्नै संयोजकत्वमा अघि बढाई सम्पन्न गर्छु भन्ने इच्छा देखाउनु भएकाले रोकाहा जी कै संयोजकत्व रहने गरी एनआरएन यूएई भित्रकै केहि र कमिटी बाहिरका केहि साथीहरु सम्मिलित एक समिती बनाइएको थियो । त्यसकारण उक्त अभियान सोहि समितीले हेरिरहेको छ ।

    त्यसैगरी अनिश खालिङ राईको बिषयलाई कोट्याउनु भएको हो भने यस बिषयमा हामीले गरेका प्रयासहरुको सफलता वा असफलताको जस वर्तमान कमिटी र नेतृत्वको हिसावले मेरो जिम्मा ठहर्छ नै । हामीले कतिपय प्रसंगमा समयको उचित पर्खाई गर्ने पर्ने रहेछ । यस सन्दर्भमा हामीले यूएईबाट पैसा संकलन गर्ने, एकत्रित गर्ने, नेपालमा रहेको अनिस बचाऊ समितिमा पठाउने, त्यहाँबाट अदालतले तोकेको रकम नेपालका सम्बन्धित निकायको प्रकृया पुरा गरी यूएई दुतावास झिकाउने लगायत कार्यमा निकै नजिक रही काम गर्यौं । दुतावासबाट पैसा अदालत बुझाउने क्रममा उक्त रकम अन्यत्रबाटै चुक्ता भइसकेको पाइयो जुनकुराको बिभिन्न मिडिया मार्फत पनि बाहिर आइसकेको छ । विश्वभरबाट यस अभियानमा संकलित ३ करोड १९ लाख भन्दा बढी रकम बिदेशमा रहेर दुख पाएका नेपालीहरुलाई अनिसकै नामबाट कोष स्थापना गरी सहयोग गर्ने कुरामा अनिस बचाऊ समिती नेपालका अध्यक्ष समेत तयार हुनुहुन्छ, हामी अहिले निरन्तर सम्पर्कमा रहेका छौं । तर जबसम्म अनिस जेलमुक्त हुदैनन् र सकुसल नेपाल फर्कने वातावरण बन्दैन तबसम्म यस बिषयमा हामी धैर्य गरौँ भन्ने उहाँहरुको धरणा रहेको छ । अनभिज्ञताका कारण घटना हुनगई अदालतले २ लाख दिर्हाम ब्लड मनि तोकेको यूएईमै कार्यरत नेपाली थमबहादुर कुँवरको सहयोगका लागि उक्त रकममध्येको आवस्यक रकम प्रयोग होस् भन्ने एनआरएन यूएई, अनिसको लागि यहाँ गठित सचिवालय र व्यक्तिगत रुपमा मेरो पनि इच्छा हो जसको लागि हामी प्रयासरत छौं ।

    एनआरएन भवन निर्माणतर्फ तपाईंले संकेत गर्नुभएको हो भने हामीले प्रतिबद्धता गरेको ३ लाख रुपैया मध्ये २ लाख रुपैया संकलन भएर बुझाइसकिएको छ । मध्यपूर्व संयोजकले बहराइनमा भएको क्षेत्रीय भेलामा ५ लाख घोषणा गरेको जानकारी गराउनु भएको छ । प्रतिबद्धता गरीए बमोजिमको रकम हामी उपलब्ध गराउनेछौं । हामी यहाँ सबै रोजगारीमा संलग्न भएको र ठुलो संख्यामा थोरै तलब बुझ्ने ठाउँमा संगठन संचालन गर्दै गरेकाले अन्यत्र भन्दा केहि बढी समय लाग्नु स्वाभाविक हो । भवन निर्माण कार्य पनि तत्कालै शुरु भएर चाडै सम्पन्न नहुने हुँदा हामी आफ्नो लक्ष्य पुरा गर्छौं ।

    तपाईंले संस्था दर्ताको लागि हामीले गरेका निर्णयतिर पनि प्रश्न गर्नुभएको जस्तो मलाई लग्यो । यस सदर्भमा हामीले शुरु तिरैका बैठकमा बरिष्ट उपाध्यक्ष बिकाश अधिकारीको संयोजकत्वमा एक समिती बनाएका हौँ । यसका लागि उक्त समिती कृयाशील छ । यो प्रकृयामा सबै नेपाली संघ संस्थाले साथ दिनुपर्ने र सबैको बिगत देखिका गतिबिधि उल्लेख हुनुपर्ने लगायतले गर्दा समय लाग्ने नै भयो । भर्खरै फिलिपिन्सको कम्युनिटीको एउटा क्लब दर्ता भएको छ । उक्त कम्युनिटी संग पनि समन्वय र परामर्श गरी के कस्ता प्रावधान छन् सो अनुसार अघि बढ्न सल्लाह लिनुपर्ने अवस्था छ । यो लामो प्रकृयाको कुरा भएकाले यहि कार्यकालमै हुन्छ भन्ने अवस्था पनि छैन तर प्रयास ठुलो कुरा हो, हामीले प्रयास गरेका छौं । ढिलोचांडो यसले मूर्तरुप पाउने आशा गरौँ ।

    • यूएईमा प्रतिदिन नेपाली श्रमिकहरुको संख्या बढेसंगै समस्याहरु पनि थपिंदै गएका छन् । यस्ता समस्या समाधानका लागि एनआरएनए यूएईले कुनै ठोस योजना बनाएको छ कि ?

    मध्यपूर्वमा रहेका नेपालीहरुलाई अप्ठेरो परेको बेलामा सहयोग गर्ने उद्देस्यका साथ एनआरएनए आइसीसीले एक कोषको स्थापना गरेको छ । त्यसमा अध्यक्ष शेष घलेले १ करोड सहयोग गरिसक्नु भएको छ । उक्त कोषमा मध्यपुर्वका एनसिसिहरुले अभियानकै रुपमा सकेसम्मको रकम थपेर कोष वृद्धि गर्नेतिर लागिरहेका छौं । एनसिसि यूएईको हकमा चाहिं हामीसंग आर्थिक अभावका कारण सहयोगको दिर्घकालिन योजना बनाउन सकिएको छैन । नेपालीलाई आइपरेका समस्या तत्काल समाधानका लागि हरतरहले सहयोग गरि नै रहेका छौं तर आर्थिक सवलता बिना योजनाबद्ध तरिकाले सहयोगको आधार  तयार गर्न चाहिं अलि कठिन हुने महसुस गरिएको छ । हामीले एनसिसि यूएईको आर्थिक कोष वृद्धिका लागि केहि कार्यक्रम पनि आयोजना गरियो तरपनि आशातित सफलता प्राप्त भएनन् । अझै बिबिध कार्यक्रम ल्याएर कोष वृद्धिका लागि हामी क्रियाशील छौं ।

    • तपाईं अध्यक्षमा निर्वाचित भएपछी बितेको एक बर्षको अवधिलाई फर्केर हेर्दा कसरी मुल्यांकन गर्नुहुन्छ ?

    यहाको स्थानीय नियम कानुन, सामाजिक परिवेस, संस्थाको आर्थिक अवस्था, सामाजिक कार्यका लागि खर्चिन सक्ने समय जस्ता कुराहरुलाई मध्यनजर गरेर हेर्दा बितेको एक बर्ष हाम्रा लागि उपलब्धिपूर्ण र राम्रो रहेको ठान्दछु । म केहिसमय अघि मात्रै काठमाडौँमा रहंदा युरोप, अमेरिका लगायत मध्यपूर्वकै अन्य एनसिसि र आइसीसीका साथीहरुले पनि बिभिन्न कार्यक्रम र छलफलका क्रममा बिगतको तुलनामा अहिले एनसीसी यूएईले निकै रचनात्मक र सर्हानिय कार्य गरेको बताउनु भएको जानकारी पाएँ । एनसीसी यूएईप्रति सबैको सद्भाव रहेकाले अझै शसक्त भएर लागिपर्न सुझाव पनि सोहि क्रममा बिभिन्न एनआरएनए अभियन्ताहरुबाट प्राप्त भएको छ । हामीले गर्नुपर्ने र गर्न चाहेका थुप्रै कामहरु बाँकि रहंदा रहँदै पनि साथीहरुबाट प्राप्त प्रशंसनीय र सकारात्मक टिप्पणीले गर्दा अझै जिम्मेवारी थपिएको मैले महसुस गरेको छु ।

    • यूएईको नेपाली दुतावास र यहाँ क्रियाशील अन्य नेपाली संघसंस्थासंग एनआरएनए यूएईको आपसी सम्बन्ध कस्तो छ ?

    दुतावास र एनआरएनए यूएई बिचको सम्बन्धको कुरा गर्दा म के स्मरण गराउन चाहन्छु भने बिगतमा दुतावास भित्र एनआरएन भनेर प्रवेश गर्न पनि हिच्किचाउनु पर्ने अवस्था थियो । केहि अघिसम्म खासगरी पुर्व राजदुत अर्जुन बहादुर थापाको समयमा दुतावास र एनआरएनएले एक अर्कालाई शत्रुतापूर्ण रुपले हेर्ने परिस्थितिको श्रीजना भएको थियो । मेरो नेतृत्वमा नया कार्यसमिति बन्ने बित्तिकै मैले राजदुत धनन्जय झा ज्यूसंग भेटेर परामर्श गरें । यहाँहरुलाई थाहै छ हाम्रो पुरानो कमिटीले मेरो नेतृत्वमा गठित नया कमिटीलाई औपचारिक बुझबुझारथको कार्यक्रम दुतावास भवनमै राखिएको थियो । सोहि समयदेखि अहिलेसम्म दुतावाससंग हाम्रो सुमधुर र मित्रतापूर्ण सम्बन्ध रही आएको छ । राजदुत झा देखि दुतावासका सबैबाट आवस्यक सहयोग प्राप्त हुदै आइरहेको छ ।

    यहाँका सबै नेपाली संघसंस्था र समाजसेवीहरु संग पनि हामीले राम्रो मित्रतापूर्ण व्यवहारको बिकाश गरेका छौं । हिजो एनआरएनएबाट अलग बसेका साथीहरु पनि अहिले आकर्षित भैरहनु भएको छ र बिशेष चासो देखाईरहनु भएको छ । यहाँका सबै संघसंस्थाहरुले एनआरएनए युएइलाई माया गर्नु भएको छ, सद्भाव प्रदर्शन गर्नु भएको छ । हामीले पनि यस बिचमा सबैको बिश्वास जित्ने आधार खडा गरेका छौं ।

    • एनआरएनए यूएईको अध्यक्षका हैसियतले तपाईंले नेपाली श्रमिकहरुको समस्यालाई नजिकबाट बुझ्ने प्रयास गर्नुभएको होला । यूएईमा नेपाली श्रमिकहरुले भोगेका र भोगिरहेका समस्याहरु चाहिं के के रहेछन त ?

    समस्याको कुरा गर्दा सर्वप्रथम त नेपालबाट त्यहाँका म्यानपावर कम्पनीले एक किसिमको आकर्षक समझौता गरेर कामदार पठाउने तर यहाँ आएपछि उक्त सम्झौता अनुसारको तलब तथा सेवा, सुबिधा प्राप्त नभएको, तोकिएको भन्दा फरक किसिमको काम र धेरै समय काम गर्नु परेको प्रशस्तै भेटिएको छ । ट्याक्सी चालकको रुपमा कामदार पठाउदा यहाँको केहि कम्पनीले ६ महिना भन्दापनि बढी समय कोठामै बस्न लगाएको, लाइसेन्स, रोड टेष्टका लागि अत्याधिक समय प्रतिक्षा गराउन लगाएको भेटिएको छ । केहि स-साना कम्पनीहरुले नेपाली कामदार ल्याउने र ब्यबशाय गरेर नाफा कमाउनु भन्दा पनि बैंक र फाइनान्स कम्पनीबाट रकम असुलेर फरार मालिक भैदिने अनि कामदारहरु अलपत्र पर्ने गरेका घटना पनि बेलाबेलामा देखिदै आएको छ । घरेलु कामदारको समस्या जो सबैले जाने बुझेकै छन् । अन्य बिबिध समस्याका कारण नेपाली श्रमिकहरु पिडित बन्दै आइरहेका छन् ।

    • रोजगारीका बावजुद विश्वभरी संजाल रहेको एनआरएनए जस्तो संगठनको एउटा शाखाको नेतृत्व गर्न कत्तिको सजिलो महसुस गर्नुभएको छ ?

    यो निश्चित रुपमा सजिलो त छैन नै । सबैलाई समेटेर सबैको बिश्वास जितेर अघि बढ्नु आफैंमा सजिलो कार्य होइन । हाम्रो आइसीसीसंगको सम्बन्ध र समन्वय, मध्यपूर्वका संगठनहरुसंगको समन्वय र सहकार्यलाई सन्तुलित रुपले अघि बढाउनु पर्ने र नेपाली श्रमिकले व्यहोरेका स्थानीय समस्या समाधानमा खटिरहनु पर्ने हुँदा सोचे जस्तो सहज त छैन । तर सजिलो छैन भन्दैमा हामीले यसबाट पछी हट्ने कुरो आउदैन । नेतृत्व गर्नका लागि अनेकौं कठिनाईलाई सामना गर्नसक्छु भन्ने आत्मविश्वासका साथ नेपाली समुदायको अगाडी सपथ लिएर नेतृत्व सम्हालेपछि उचित रुपले पदीय भूमिका निर्वाह गर्नैपर्छ र मेरो हकमा मैले सकेसम्मको पहल र प्रयत्न गरिरहेको छु ।

    काम गर्दै जाने क्रममा सबैको चित्त बुझाउन नसकिएको पनि होला, सबै साथीहरुको हरेक दृष्टिकोणलाई सम्बोधन गर्न नसकिएका कारण कहीं कसैको सानातिना असन्तुष्टि पनि हुनसक्ला । ठुला संगठनमा सकारात्मक नकारात्मक टिप्पणी र प्रतिक्रिया चली नै रहन्छन, यो सामान्य हो जस्तो लाग्छ मलाई । यसका बावजुद हामी सबै नेपालीहरुको बीच लोकप्रिय बन्दै सबैका सामुहिक समस्या समाधानमा अघि बढेका छौं । हामीले गरेका कामलाई नेपाली दाजुभाई दिदीबहिनीहरुले सकारात्मक रुपमा लिएको मैले अनुभव गरेको छु । यहि नै त्यो शक्ति हो जसले सबै कठिनाईको सामना गर्दै सामाजिक क्रियाकलापमा लागिरहन प्रेरित गरिरहेको हुन्छ ।