Category: प्रमुख

  • गायिका मनिता कुँवरको घर जलेर खरानी, दुईजना घाइते, सहयोगको अपिल

    गायिका मनिता कुँवरको घर जलेर खरानी, दुईजना घाइते, सहयोगको अपिल

    मोरङको केराबारी गाउँपालिका–५ सतीशाले स्थित विशालचोकमा रहेको गायिका मनिता कुँवरको घरमा ग्यासको सिलिन्डर विस्फोटका कारण भएको आगलागीबाट दुइजना घाइते भएका छन् भने घर जलेर खरानीमा परिणत भएको छ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल जिल्ला कार्यसमिति मोरङकी साधारण सदस्यसमेत रहेकी मनिता पहिलो केराबारी आइडलकी उपबिजेता  पनि हुन् । हाल कोशी आइडलको प्रतिस्पर्धामा रहेकी  मनिताको घरमा भएको आगलागीबाट घरभित्र रहेका अधिकांश सामान जलेर नष्ट भएका छन् । आगलागीबाट आफूले लगाएका कपडाबाहेक कागजातसहित घरभित्रको कुनै पनि सामान जोगाउन नसकिएको परिवारले जनाएको छ।

    आगलागीमा परेर मनिताका मनोज र दिदी मनिसा कुँवर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

    आगलागीबाट कुखुरा, बाख्रा लगायतका चौपाया तथा पशुपन्छीहरू मरेका छन्।

    परिवारमा ठूलो आर्थिक संकटमा पारेकोले

    परिवारजनले आर्थिक तथा अन्य सहयोगका लागिअपिल गरेका छन् ।

    आगलागीबाट भएको क्षतिको यकिन  बिबरण आउन बाँकी छ।

     सुन्दरहरैँचा र धरानबाट आएका दमकलले आगो नियन्त्रणमा लिए पनि

     हालसालै खरिद गरिएको केराबारी गाउँ पालिकाको दमकल आउन सकेन । खरिदपछि आवश्यक प्राविधिक तथा व्यवस्थापन सम्बन्धी तयारी पूरा नभएकाले तत्काल नया दमकल प्रयोगमा आउन नसकेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ।

    फेसबुक मार्फत गायिका मनिता कुँवरले गरेको अपिल

    विक्रम संवत् २०८३ साल असोज १६ गते हाम्रो परिवारमाथि कहिल्यै नबिर्सने ठूलो विपत्ति आइपर्‍यो। हाम्रो घरमा भीषण आगलागी भयो। आगलागी यति ठूलो थियो कि आगलागीमा हाम्रो घरमा रहेका लत्ताकपडा, भाँडा–कुँडा, खाद्यान्न, फर्निचर तथा घरायसी आवश्यक सामग्रीहरू पूर्ण रूपमा जलेर नष्ट भए। त्यस्तै, घरमा रहेको नगद पैसा, सुनचाँदी तथा बहुमूल्य सामग्रीहरू, मोबाइल, टेलिभिजन लगायतका विद्युतीय तथा महत्वपूर्ण उपकरणहरू, साथै हाम्रा महत्त्वपूर्ण कागजात तथा आवश्यक प्रमाणपत्रहरू समेत आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

    वर्षौँको मेहनत र दैनिक जीवनयापनका आधारहरू एकैछिनमा गुमाउँदा हाम्रो परिवार अहिले अत्यन्तै कठिन परिस्थितिमा पुगेको छ।

    त्यसै क्रममा मेरा दाजु र दिदीलाई समेत आगोले भेटेर चोटपटक लागेको छ । उहाँहरूलाई उपचारका लागिअस्पतालमा राखिएको छ । हाम्रो घर, सम्पत्ति, पशुपन्छी, महत्त्वपूर्ण कागजात तथा उपचारसमेतको क्षतिले अहिले हामीलाई आर्थिक सहयोगसँगै खाद्यान्न, लत्ताकपडा, भाँडा–कुँडा, घरायसी आवश्यक सामग्री तथा दैनिक जीवनयापनका अत्यावश्यक सामग्रीहरूको धेरै नै आवश्यकता परेको छ। त्यसैले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आफन्तजन, साथीभाइ, छरछिमेकी, शुभेच्छुक, दाजुभाइ, दिदीबहिनी तथा मनकारी महानुभावहरू समक्ष आफ्नो क्षमताअनुसार सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

    हजुरहरूले गर्नुभएको सानोभन्दा सानो सहयोगले पनि हाम्रो परिवारलाई यो कठिन परिस्थितिबाट पुनः उठ्न ठूलो राहत र हौसला मिल्नेछ। आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरूले एसएमएस पनि गर्न सक्नुहुनेछ । खाद्यान्न वा आवश्यक सामग्रीका रूपमा सहयोग गर्न चाहनुहुने महानुभावहरूले पनि हामीलाई प्रत्यक्ष रूपमा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ।

    9807055165

    9807346963

    9827344101

    🙏 यो विपत्तिको घडीमा तपाईंहरूको साथ, सहयोग र सद्भाव नै हाम्रो परिवारका लागि ठूलो सहारा हुनेछ।

    🙏 हजुरहरूको सहयोगप्रति हामी हृदयदेखि नै आभारी रहनेछौँ।

    धन्यवाद।

  • देवीझोडा सामुदायिक वनको २७औं  वार्षिक साधारण सभा सम्पन्न

    देवीझोडा सामुदायिक वनको २७औं  वार्षिक साधारण सभा सम्पन्न

    मोरङ केराबारी ९ मा अवस्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समूहले विभिन्न कार्यक्रमसहित सत्ताइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरको प्रमुख आतिथ्यता र  देवीझोडा सामुदायिक वनका अध्यक्ष  गोविन्द बहादुर बस्नेतको अध्यक्षतामा वनको आफ्नै सभाहलमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रतिवेदन प्रस्तुति, सांस्कृतिक कार्यक्रम, जेष्ठ नागरिक, जग्गादाता तथा उपभोक्ता सम्मान लगायतका कार्यक्रमहरू गरिएको थियो । कार्यक्रममा वनका अध्यक्ष गोविन्द बहादुर बस्नेतले अध्यक्ष तथा सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष आशा लिम्बुले आर्थिक प्रगति प्रतिवेदन र लेखा  समिति संयोजक अभिषेक राइले  लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    साधारण सभामा अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार यस सामुदायिक वनले आर्थिक वर्ष २०८२/०८३ को अवधिमा ४ हजार ९६ क्युफिट काठ संकलन गरेको थियो । जसमध्ये २ हजार ९७  क्युफिट काठ आन्तरिक बिक्री वितरण गरिएको थियो भने ८ सय ९७ क्युफिट काठ बाह्य लिलाम बिक्री गरिएको थियो । त्यस्तै जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत २ सय १ क्युबिक फिट काठ बिक्री वितरण भएको थियो । काठ बिक्री वितरण सहित यस सामुदायिक वनले गतवर्ष ५६ लाख ७२  हजार ९९०  रुपैयाँ ९२ पैसा आम्दानी गरेको छ  ।

    अघिल्लो वर्ष मोरङ जिल्लामै उत्कृष्ट सामुदायिक वनको रुपमा पुरस्कृत भएको  यो सामुदायिक वन आर्थिक वर्ष २०८२/०८३ को अवधिमा नेपालका सामुदायिक वनहरूमध्ये सबैभन्दा उत्कृष्ट हुँदै गणेश मान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको थियो । वनले उपभोक्ता का परिवारमा मृत्यु हुँदा दाह संस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराउँदै आएको छ । वनले विपन्न तथा एकल उपभोक्ता वर्ग लक्षित गम्भीर प्रकृतिका स्वास्थ्य उपचारका लागि २०हजार रुपयाँ  सहयोग गर्दै आएको छ । त्यस्तै वनले ड्राइभिङ तालिम सञ्चालन, विपन्न तथा गरिब विद्यार्थीका लागि छात्रवृत्ति,  कुप घेराबारा मर्मत, बिरुवा घोडमेल, झाडी सरसफाई, वृक्षारोपण, उपभोक्ता लक्षित सामूहिक कृषि खेती, अदुवा तथा बेसार खेती, नदी नियन्त्रण लगायतका कामहरू गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यस सामुदायिक वनले काठ चिरान गरी विपन्न तथा अन्य मौरीपालक कृषक उपभोक्ताहरुलाई घार वितरण गर्ने तयारी गरेको छ ।

    साधारण सभालाई सम्बोधन गर्दै केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले देवीझोडा सामुदायिक वन केराबारीको मात्र नभई नेपालकै उत्कृष्ट सामुदायिक वनको रुपमा स्थापित भइसकेको र यस सामुदायिक वनले धेरै उदाहणीय कार्यहरू गरेको बताए । केराबारी गाउँपालिकाले पनि यस सामुदायिक वनसँग विभिन्न कार्यक्रमका लागि साझेदारी गर्दै आएको उनले बताए ।

    उपभोक्ताहरूको भव्य उपस्थितिमा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ कोशी प्रदेशकी महासचिव बालकुमारी कट्टेल, केराबारी गाउँपालिका वडा नम्बर ९ कि वडा सदस्य लिला देवी दास, हिमालय  साकोसका अध्यक्ष शिव लामिछाने, मोरङ आदर्श स्कुलका सञ्चालक सन्तोष राई, सबडिभिजन वन कार्यालय केराबारीका कर्मचारीहरु कृष्णप्रसाद जैसी र गनेशकुमार राइ, कुसुमे साकोसका अध्यक्ष प्रेम कार्की, पूर्वज्योति क्लबका अध्यक्ष रेवत बहादुर कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता थियो ।  साधारण सभामा सामुदायिक वन उपभोक्ता महासङ्घ कोशी प्रदेशकी महासचिव बालकुमारी कट्टेल, हिमालय बचत तथा ऋण सहकारीका अध्यक्ष शिव लामिछाने, सबडिभिजन वन कार्यालय केराबारीका गनेशकुमार राइ लगायतले पनि मन्तव्य राखेका थिए ।

    विगतका तीन  वटा वार्षिक साधारण सभामा पाँच दर्शनभन्दा बढी जेष्ठ नागरिकहरूलाई सम्मान गरेको यस सामुदायिक वनले सत्ताइसौं वार्षिक साधारण सभामा पनि सातवटा टोलका १४ जना जेष्ठ नागरिकहरूलाई सम्मान  गरेको छ । गाउँपालिका अध्यक्ष सुमन मेरिङचिङ मगरले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । साधारण सभामा  विद्यालय प्रथम भएका स्थानीय बुद्ध माध्यमिक विद्यालयका छात्रा नम्रता सुवेदी र छात्र हरि पोखरेललाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा बुद्ध माध्यमिक विद्यालय र शहिद स्मृति आधारभूत विद्यालयका विद्यार्थीहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा पहिलो केराबारी आइडलकी  विजेता सरला तामाङले पनि गीत प्रस्तुत गरेकी थिइन् ।

    यस सामुदायिक वनले कार्यालय तथा हलसहितको व्यवस्थित भवन निर्माण गरिसकेको छ । १४७.७५ हेक्टर क्षेत्रफल रहेको यस सामुदायिक वनमा कुल ३ सय ५३ घरधुरी उपभोक्ता छन् । साधारण सभाले वनको १० वर्षीय कार्ययोजनासमेत पारित गरेको छ ।

  • मोरङ कांग्रेस सभापतिका लागि चुनावी सरगर्मी, पाँच नेताबीच प्रतिस्पर्धा हुँदै

    मोरङ कांग्रेस सभापतिका लागि चुनावी सरगर्मी, पाँच नेताबीच प्रतिस्पर्धा हुँदै

    नेपाली कांग्रेस मोरङको १५औँ जिल्ला अधिवेशनबाट नयाँ जिल्ला सभापतिको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

    पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाले मोरङ कांग्रेसभित्र विभिन्न नेताहरूले सभापति पदमा आफ्नो दाबी प्रस्तुत गर्न थालेका हुन्।

    यसपटक सभापतिको आकांक्षीका रूपमा पूर्व जिल्ला सहसचिव तथा नेपाल विद्यार्थी संघ मोरङका पूर्व जिल्ला अध्यक्ष ज्ञानेन्द्र ढकाल, १४औँ महाधिवेशनमा पहिलो चरणको निर्वाचनबाट बाहिरिएका यदुकुमार विष्ट, १४औँ महाधिवेशनमा दोस्रो चरणसम्म पुगेर उपविजेता बनेका  दिलिपकुमार गच्छदार, वर्तमान जिल्ला सचिव ललितबहादुर श्रेष्ठले पनि सभापतिको दाबी प्रस्तुत गरेका छन् । त्यस्तै कोशी प्रदेश सभाका पूर्व सांसद सुयर्माराज राई पनि सभापतिको दौडमा छन् ।

    पार्टीको विशेष महाधिवेशनको पक्षमा सुरुदेखि नै खुलेर लागेका विष्ट र राईको भूमिकालाई पछिल्लो समय कांग्रेसभित्रको नयाँ राजनीतिक समीकरणसँग जोडेर समेत हेरिएको छ।
    विशेष महाधिवेशनको अभियानमा श्रेष्ठ र गच्छदार पछिल्लो समय जोडिएको  चर्चा भए पनि पाँचै जना आकांक्षी अहिले आफ्नै राजनीतिक आधार र संगठनात्मक सम्पर्क विस्तारमा केन्द्रित  छन् । क्षेत्रीय प्रतिनिधि तथा क्रियाशील कार्यकर्तासँग भेटघाट गर्दै समर्थन जुटाउने प्रयासले मोरङ कांग्रेसभित्र अधिवेशनको माहोललाई थप तातेको छ।

    नेपाली कांग्रेसको विधानअनुसार जिल्ला सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ। पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा भए पहिलो चरणमा कसैले पनि आवश्यक बहुमत प्राप्त गर्न नसकेमा शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुनेछ । अधिवेशन नजिकिँदै जाँदा ढकालसहित विष्ट, गच्छदार, श्रेष्ठ र राई आ–आफ्नो पक्षमा प्रतिनिधि र कार्यकर्ता जुटाउन सक्रिय रहेकाले मोरङ कांग्रेसको जिल्ला नेतृत्व चयन थप प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।

  • राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा कहाँ  छन् किरात

    राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा कहाँ छन् किरात

    – डा. नवराज सुब्बा

    नेपालको अमूर्त सांस्कृतिक सम्पदाको राष्ट्रिय सूची निर्माण हुनु स्वागतयोग्य काम हो। मौखिक परम्परा, अनुष्ठान, चाडपर्व, परम्परागत ज्ञान, प्रकृतिसम्बन्धी ज्ञान र सीपलाई समुदायको सहभागितामा अभिलेखीकरण गर्नु आजको आवश्यकता पनि हो।

    यही उद्देश्यले UNESCO काठमाडौं कार्यालय र नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२६ देखि २०२८ सम्म चल्ने Development of Inventory of Intangible Cultural Heritage Covering All Seven Provinces of Nepal परियोजना सुरु गरेका छन् (UNESCO, 2026a)।

    तर यसको प्रारम्भिक संरचनाले एउटा असहज प्रश्न जन्माएको छ। नेपालको प्राचीन किरात सभ्यता र जीवित किरात सांस्कृतिक परम्परा यस राष्ट्रिय प्रयासमा कहाँ छन्?

    🔹 १७ समुदाय छानिए, राई र लिम्बू छुटे

    परियोजनाले सातै प्रदेशबाट १७ आदिवासी समुदायमा community based inventorying गर्ने बताएको छ। ती समुदाय हुन्, शेर्पा, धिमाल, ताजपुरिया, सन्थाल, दनुवार, नेवार, तामाङ, चेपाङ, थामी, गुरुङ, थकाली, सियार, मगर, थारू, मुगल, राजी र व्यासी (UNESCO, 2026a)।

    यो सूचीमा याक्थुङ लिम्बू छैनन्। राई छैनन्। याक्खा र सुनुवार पनि छैनन्।

    यसलाई सामान्य छुट भनेर मात्र पन्छाउन कठिन हुन्छ। किनकि यी समुदाय नेपालका साना वा सांस्कृतिक रूपमा अस्पष्ट समूह होइनन्। राष्ट्रिय आदिवासी जनजाति उत्थान प्रतिष्ठानले याक्थुङ लिम्बूलाई नेपालको सूचीकृत आदिवासी जनजाति मान्छ। उनीहरूको आफ्नै भाषा, सिरिजङ्गा लिपि, मुन्धुम, फेदाङमा, साम्बा, येवा र येमाजस्ता ज्ञानवाहक तथा विशिष्ट अनुष्ठानिक परम्परा छन् (NFDIN, n.d.-a)।

    राई समुदायको अवस्था पनि उस्तै छ। राईभित्र अनेक भाषिक समुदाय छन्। उनीहरूको ऐतिहासिक थातथलो माझकिरातसँग जोडिएको छ र मुन्दुम उनीहरूको अनुष्ठानिक मौखिक ज्ञान परम्पराको आधार हो (NFDIN, n.d.-b)।

    त्यसैले प्रश्न संख्या ठूलो वा सानोको मात्र होइन। यहाँ नेपालको एउटा महत्त्वपूर्ण Indigenous knowledge tradition नै प्रारम्भिक छनोटबाट बाहिर परेको छ।

    🔹 किरात केवल जातीय नाम होइन, जीवित ज्ञान परम्परा पनि हो

    नेपालको २०२१ जनगणनासम्बन्धी सरकारी विश्लेषणले किरातलाई नेपालमै उत्पत्ति भएको Indigenous religion का रूपमा उल्लेख गर्छ। यसले याक्थुङ लिम्बू, राई, सुनुवार, याक्खा, थामी, थुलुङलगायत समुदायलाई किरात परम्परासँग जोडेको छ (National Statistics Office, 2026)।

    यसको महत्त्व बुझ्नुपर्छ।

    किरात सांस्कृतिक विरासत कुनै एउटा नाच वा चाडमा सीमित छैन। मुन्धुम आफैँ विशाल मौखिक ज्ञान प्रणाली हो। यसभित्र सृष्टि, पुर्खा, भूमि, प्रकृति, जीवन, मृत्यु, कृषि, वनस्पति, अनुष्ठान, नातासम्बन्ध र नैतिक जीवनबारे ज्ञान पुस्तान्तरण हुँदै आएको छ।

    याक्थुङ परम्परामा मुन्धुमसँगै माङ्गेना, तङसिङ, पालाम, यालाङ, च्याब्रुङ, फेदाङमा र साम्बाको मौखिक ज्ञान, माङ्गेना यक, इपुङदेन अर्थात् समाधिस्थल तथा पुर्खागत भूगोल जोडिएका छन्। यी UNESCO को अमूर्त सांस्कृतिक सम्पदाका पाँच प्रमुख क्षेत्रमध्ये धेरैसँग प्रत्यक्ष सम्बन्ध राख्छन्।

    त्यसैले राष्ट्रिय ICH inventory निर्माणको प्रारम्भिक अभ्यासमै यस्तो परम्परा अनुपस्थित हुँदा प्रश्न उठ्नु स्वाभाविक हो।

    🔹 अझ ठूलो विरोधाभास UNESCO कै सिद्धान्तमा देखिन्छ

    UNESCO को 2003 Convention अन्तर्गत inventory निर्माणसम्बन्धी मार्गदर्शनले कुनै देशको inventory सकेसम्म व्यापक र पूर्ण हुनुपर्ने बताउँछ। अमूर्त सांस्कृतिक सम्पदा निरन्तर परिवर्तन भइरहने भएकाले कुनै सूची कहिल्यै पूर्ण हुँदैन, त्यसैले यसलाई नियमित रूपमा अद्यावधिक गर्नुपर्ने पनि UNESCO ले स्पष्ट गरेको छ (UNESCO, n.d.)।

    अहिलेको नेपाली परियोजना पनि अन्तिम राष्ट्रिय सूची होइन। यसले कम्तीमा २० ICH elements अभिलेखीकरण गरेर नेपालको फराकिलो राष्ट्रिय inventory निर्माणमा योगदान गर्ने लक्ष्य राखेको छ (UNESCO, 2026a)।

    त्यसैले १७ समुदायको सूचीलाई “नेपालका महत्त्वपूर्ण आदिवासी संस्कृतिहरूको अन्तिम सूची” भनेर बुझ्नु गलत हुन्छ।

    तर यही तथ्यले अर्को प्रश्न हटाउँदैन।

    🔹 पहिलो चरणका १७ समुदाय छनोट गर्ने आधार के थियो?

    UNESCO को सार्वजनिक परियोजना विवरणले यसको स्पष्ट उत्तर दिँदैन। उपलब्ध परियोजना निर्णयमा जुलाई २०२५ मा १७ समुदायका प्रतिनिधिहरू भेला भएर community based inventorying को क्षमता विकास गर्न इच्छा व्यक्त गरेको उल्लेख छ (UNESCO, 2025)। यसबाट परियोजनाको छनोट कुनै हदसम्म त्यसअघिको सहभागिता प्रक्रियाबाट आएको देखिन्छ।

    तर राई, लिम्बू, याक्खा वा सुनुवार किन त्यस प्रक्रियामा थिएनन् भन्ने कुरा सार्वजनिक विवरणले बताउँदैन।

    🔹 यही ठाउँमा पारदर्शिताको प्रश्न उठ्छ

    कोशी प्रदेशको प्रतिनिधित्व भयो, तर किरात सभ्यताको प्रतिनिधित्व भयो?

    परियोजना सातै प्रदेश समेट्ने गरी डिजाइन गरिएको छ। कोशी प्रदेशबाट धिमाल र ताजपुरियाजस्ता समुदाय समावेश छन्। उनीहरूको समावेश आवश्यक र स्वागतयोग्य छ। समस्या उनीहरूलाई किन राखियो भन्ने होइन।

    प्रश्न हो, त्यही प्रदेशको ऐतिहासिक र सांस्कृतिक संरचनामा गहिरो उपस्थिति भएका किरात राई र याक्थुङ लिम्बू किन छुटे?

    राईको ऐतिहासिक भूगोल माझकिरातसँग जोडिन्छ। लिम्बूको ऐतिहासिक थातथलो पल्लोकिरात वा लिम्बुवानसँग जोडिन्छ (NFDIN, n.d.-a, n.d.-b)। यी समुदायका भाषा, मुन्धुमी परम्परा, संस्कार र सांस्कृतिक भूगोल आज पनि जीवित छन्।

    त्यसैले केवल सात प्रदेशबाट केही समुदाय लिएर “geographical representation” पूरा गर्नु र नेपालको सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्नु एउटै कुरा होइन।

    भूगोलको प्रतिनिधित्व र सभ्यतागत परम्पराको प्रतिनिधित्व फरक विषय हुन्।

    समस्या बहिष्करणभन्दा पनि छनोट प्रक्रियाको अस्पष्टतामा छ,

    तर छनोटको आधार सार्वजनिक रूपमा स्पष्ट नहुनु आलोचनायोग्य छ।

    किन १७ समुदाय?

    किन यी १७?

    कुन सूचक प्रयोग गरियो?

    सांस्कृतिक सम्पदा लोप हुने जोखिम हेरियो कि हेरिएन?

    जनसङ्ख्या हेरियो?

    भाषिक विविधता हेरियो?

    भौगोलिक प्रतिनिधित्व मात्र हेरियो?

    Indigenous knowledge system को विशिष्टता हेरियो?

    समुदायको तयारी हेरियो?

    राई र लिम्बूका प्रतिनिधि संस्थासँग परामर्श भयो कि भएन?

    यी प्रश्नको उत्तर परियोजनाको सार्वजनिक विवरणमा स्पष्ट छैन (UNESCO, 2026a, 2026b)।

    राष्ट्रिय सांस्कृतिक inventory जस्तो संवेदनशील काममा छनोटको विधि पनि inventory जत्तिकै पारदर्शी हुनुपर्छ।

    🔹 किरात परम्परालाई पछि थपे पुग्छ?

    प्राविधिक रूपमा थप्न सकिन्छ। UNESCO स्वयं inventory नियमित रूपमा अद्यावधिक हुनुपर्ने बताउँछ (UNESCO, n.d.)। अहिलेको परियोजना पनि नेपालको सम्पूर्ण ICH inventory होइन।

    तर प्रारम्भिक चरणको आफ्नै महत्त्व हुन्छ।

    यही चरणमा जनशक्ति तालिम पाउँछन्। समुदायमा documentation skills विकास हुन्छन्। video documentation तयार हुन्छ। सरकारी अधिकारी र अनुसन्धानकर्ताबीच सञ्जाल बन्छ। भविष्यको राष्ट्रिय inventory को पद्धति यही अभ्यासबाट निर्माण हुन्छ।

    त्यसैले प्रारम्भिक चरणबाट बाहिर पर्नुको अर्थ केवल “नाम सूचीमा नआउनु” होइन। क्षमता विकास, अभिलेखीकरण अनुभव, संस्थागत दृश्यता र भविष्यको heritage policy निर्माणको प्रारम्भिक प्रक्रियाबाट पनि बाहिर रहनु हो।

    यसैले राई, लिम्बू तथा अन्य छुटेका किरात समुदायलाई अर्को चरणमा समावेश गर्नु केवल प्रतीकात्मक प्रतिनिधित्वको विषय होइन। यो ज्ञान संरक्षणको विषय हो।

    समुदायले पनि आफ्नो अभिलेख आफैँ बनाउनुपर्छ

    🔹 यस घटनाले अर्को पाठ पनि दिन्छ।

    राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थाले कहिले हाम्रो सम्पदा अभिलेखीकरण गर्छन् भनेर मात्र पर्खनु पर्याप्त छैन।

    याक्थुङ तथा अन्य किरात समुदायले आफ्नै community based inventory बनाउन सक्छन्। मुन्धुमका प्रकार, साम्बा र फेदाङमाको ज्ञान, माङ्गेना यक, इपुङदेन, हाङ यक, पालाम, यालाङ, च्याब्रुङ, परम्परागत कृषि ज्ञान, वनस्पति ज्ञान, जन्म र मृत्यु संस्कार तथा स्थानसँग जोडिएका मौखिक कथालाई समुदायको सहमतिमा व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सकिन्छ।

    यसमा एउटा सावधानी भने आवश्यक छ। सबै Indigenous knowledge सार्वजनिक गर्नुपर्छ भन्ने छैन। UNESCO कै inventory guidance ले समुदायको free, prior and informed consent आवश्यक मान्छ र समुदायले गोप्य वा दुरुपयोग हुन सक्ने ज्ञान सार्वजनिक नगर्ने अधिकार राख्ने बताउँछ (UNESCO, n.d.)।

    अर्थात् संरक्षणको अर्थ सबै ज्ञान इन्टरनेटमा राख्नु होइन। समुदायले के अभिलेखीकरण गर्ने, के सार्वजनिक गर्ने र के समुदायभित्र मात्र राख्ने भन्ने निर्णय आफैँ गर्नुपर्छ।

    🔹 निष्कर्ष

    नेपालको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा inventory निर्माण ऐतिहासिक अवसर हो। त्यसैले यसको प्रारम्भिक चरणमा राई, याक्थुङ लिम्बू र अन्य किरात समुदाय नदेखिनु सामान्य सूचीगत त्रुटि भनेर मात्र छोड्न मिल्दैन।

    तर उपलब्ध प्रमाणका आधारमा यसलाई नियोजित सांस्कृतिक तथा बौद्धिक बेइमानी भन्नु पनि हतारो हुन्छ।

    अहिले देखिएको मुख्य समस्या प्रतिनिधित्व र छनोट प्रक्रियाको पारदर्शिता हो।

    किरात सभ्यता नेपालको इतिहासको बाहिरी किनारा होइन। राई, लिम्बू, याक्खा, सुनुवार र अन्य किरात समुदायसँग आज पनि जीवित मौखिक ज्ञान, भाषा, अनुष्ठान, धार्मिक अभ्यास, सांस्कृतिक भूगोल र प्रकृतिसम्बन्धी ज्ञान छन्। राष्ट्रिय ICH inventory ले नेपालको विविधता प्रतिनिधित्व गर्ने हो भने यस्ता ज्ञान प्रणालीलाई छुटाएर त्यो उद्देश्य पूर्ण हुन सक्दैन।

    त्यसैले अब प्रश्न “किरातलाई किन राखिएन?” मा मात्र रोकिनु हुँदैन। अझ उपयोगी प्रश्न हो:

    किरात समुदायको जीवित सांस्कृतिक विरासतलाई समुदायको स्वामित्व, सहमति र ज्ञान अधिकार सुरक्षित गर्दै राष्ट्रिय inventory मा कसरी व्यवस्थित रूपमा समावेश गर्ने?

    यसको उत्तर अर्को सूचीमा केही नाम थप्नु मात्र होइन। समुदाय आफैँले आफ्नो मुन्धुम, भाषा, अनुष्ठान, सांस्कृतिक भूगोल र ज्ञान परम्पराको पहिचान, अभिलेखीकरण र संरक्षणमा निर्णयकारी भूमिका पाउने संरचना बनाउनु हो।

    सन्दर्भ

    National Foundation for Development of Indigenous Nationalities. (n.d.-a). लिम्बु. NFDIN.

    National Foundation for Development of Indigenous Nationalities. (n.d.-b). राई. NFDIN.

    National Statistics Office. (2026). Religion in Nepal: National Population and Housing Census 2021. Government of Nepal.

    UNESCO. (n.d.). Drawing up inventories: Intangible cultural heritage. UNESCO.

    UNESCO. (2025). Decision of the Bureau: 20.COM 4.BUR 3.2. Convention for the Safeguarding of the Intangible Cultural Heritage.

    UNESCO. (2026a). Development of inventory of intangible cultural heritage covering all seven provinces of Nepal. Intangible Cultural Heritage.

    UNESCO. (2026b). Launch of national initiative for the development of the inventory of intangible cultural heritage in Nepal. UNESCO.

    लेखक 🌐 https://nrsubba.com.np

  • अन्तरा म्युजिक सेन्टरले बलियामा गर्यो सांगितिक कार्यक्रम

    अन्तरा म्युजिक सेन्टरले बलियामा गर्यो सांगितिक कार्यक्रम

    अन्तरा म्युजिक सेन्टर सुन्दरहरैंचाले प्रथम बार्षिकोत्सव को अबसरमा सांगितिक कार्यक्रम गरेको छ ।
    म्युजिक सेन्टरमा संगीत सिकेका विद्यार्थीहरुको प्रस्तुतिमा सुन्दरहरैंचा ४ बलियास्थित ज्येष्ठ नागरिक समाज सुन्दरहरैँचा ४ को भवनमा कार्यक्रम भएको हो ।
    अन्तरा म्युजिक सेन्टरका संचालिका शर्मिला सिग्देल र भुमा अधिकारीकै वाद्यबादनमा भएको कार्यक्रममा कसरी म भुलेँ, ए कान्छा ठट्टैमा यो जोवन जान लाग्यो, अल्झेछ क्यारे पछ्यौरी तिम्रो लगायत विभिन्न आधुनिक गीत, राष्ट्रिय गीत तथा भजनहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा आरम्भ, एबिस, एल्सन, रचित, रोषिका, सुभांसी, उर्जा, तिलान्जली र ज्येष्ठ नागरिकहरु नगेन्द्र कार्की र राजेन्द्र कोइरालाले आ-आफ्नो प्रस्तुति राखेका थिए ।
    भुमा अधिकारीले संचालन गरेको कार्यक्रममा सुन्दरहरैंचा ४ का वडाध्यक्ष कैलास बस्नेतको प्रमुख आतिथ्यता र रामकुमार कालाखेती को अध्यक्षता थियो । कार्यक्रममा साहित्यकार मनु मन्जिल, केपी घिमिरे, कलाकार कृष्ण नेपाल, गायक दुर्गा पराजुली, र संगीत साधना प्रतिष्ठान, इटहरीका प्रतिनिधि लगायत विभिन्न कलाकार,साहित्यकार, श्रष्टा एवम् सर्जकहरुको आतिथ्यता थियो । कार्यक्रममा कवि मनु मन्जिल र संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीले मन्तव्य व्यक्त गरेका थिए ।

  • लालीगुराँस साकोसको रक्तदानमा ५१ पिन्ट रगत संकलन

    लालीगुराँस साकोसको रक्तदानमा ५१ पिन्ट रगत संकलन

    मोरङ बेलबारी–३ स्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारणसभाको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ।
    हरेक वर्ष साधारणसभाको अवसरमा विभिन्न कार्यहरू गर्दै आएको सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको हो।
    नेपाल रेडक्रस सोसाइटी, धरानले प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ ।

  • नेपाली कांग्रेस कोशी प्रदेश सभापतिको प्रमुख दाबेदार बन्दै फागो

    नेपाली कांग्रेस कोशी प्रदेश सभापतिको प्रमुख दाबेदार बन्दै फागो

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा कोशी प्रदेश सभापतिका लागि विभिन्न नेताहरूको नाम चर्चामा आइरहेका बेला  कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री उर्लाबारी–५ निवासी खड्ग बहादुर फागो प्रदेश नेतृत्वका लागि उनको प्रमुख दाबेदार बनेका छन् ।
     लामो राजनीतिक अनुभव, संगठनात्मक भूमिका र जनसम्बन्धका कारण उर्लाबारी नगरपालिकाका पूर्व नगरप्रमुखसमेत रहेका फागोले स्थानीय सरकार सञ्चालनको अनुभवसँगै पार्टी संगठनमा लामो समय नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका छन्। स्थानीय तहबाट राजनीतिक यात्रा सुरु गरेका फागो नगर नेतृत्व हुँदै क्षेत्रीय र प्रदेश तहको जिम्मेवारीसम्म पुगेकाले पनि उनको दाबी बलियो बन्दै गएको छ।
    फागोले दुई कार्यकाल नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिको जिम्मेवारी  पनि सम्सहालिसकेका छन् । क्षेत्रीय संगठनको नेतृत्व लामो समय सम्हालेका कारण उनी मोरङ क्षेत्र नं. १ का कांग्रेस कार्यकर्ता तथा राजनीतिक वृत्तमा परिचित छन्। संगठनको तल्लो तहदेखि प्रदेश संरचनासम्म काम गरेको अनुभवले उनको नेतृत्व दाबीलाई फरक आधार दिएको देखिन्छ।
    क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहँदा मोरङ क्षेत्र नं. १ मा कांग्रेसको संगठन विस्तार र कार्यकर्ता परिचालनमा फागोको भूमिका रहेको स्थानीय कांग्रेस नेताहरू बताउँछन्। उनको नेतृत्वकालमा संविधानसभा सदस्यमा डिगबहादुर लिम्बू विजयी भएको तथा क्षेत्रका चार स्थानीय तहमध्ये तीनमा कांग्रेसले नेतृत्व हासिल गरेको राजनीतिक पृष्ठभूमि पनि उनको संगठनात्मक यात्रासँग जोडिन्छ।
    स्थानीय सरकारको नेतृत्व सम्हालेको अनुभव फागोको अर्को महत्वपूर्ण राजनीतिक आधार हो। नगरप्रमुखका रूपमा काम गर्दा उनले विकास निर्माणदेखि नागरिकका दैनिक समस्या र स्थानीय प्रशासन सञ्चालनसम्मको प्रत्यक्ष अनुभव हासिल गरेका छन्। पार्टी संगठन र सरकार दुवै तहको नेतृत्व अनुभव भएका कारण प्रदेश नेतृत्वका लागि उनको दाबीलाई बहुआयामिक अनुभवसँग जोडेर हेरिएको छ।
    कांग्रेसको १४औँ महाधिवेशनपछि फागो कोशी प्रदेश सहमहामन्त्री बने। क्षेत्रीय तहको नेतृत्वबाट प्रदेश संगठनको जिम्मेवारीमा पुगेका उनले प्रदेशभित्र पार्टीका गतिविधिमा समेत भूमिका निर्वाह गर्दै आएका छन्। अहिले प्रदेश सभापतिको सम्भावित आकांक्षीका रूपमा उनको नाम आउनु पनि यही राजनीतिक निरन्तरताको अर्को चरणका रूपमा व्याख्या भइरहेको छ।
    फागोको दाबीलाई बलियो बनाउने अर्को पक्ष उनको सामाजिक सम्बन्ध हो। लामो समय स्थानीय राजनीतिमा सक्रिय रहँदा उनी विपन्न, समस्यामा परेका तथा दिनदुःखी नागरिकका पक्षमा उभिने नेताका रूपमा परिचित रहेको उनका समर्थकहरूको भनाइ छ। सामाजिक समस्या समाधानका लागि व्यक्तिगत तथा राजनीतिक तहबाट पहल गर्ने उनको शैलीले जनतासँग प्रत्यक्ष सम्बन्ध बनाएको उनीनिकट नेताहरू बताउँछन्।
    फागो राजनीतिलाई पद प्राप्तिको माध्यमभन्दा समाज परिवर्तन र नागरिकको जीवन सुधार गर्ने माध्यमका रूपमा बुझ्नुपर्ने धारणा राख्दै आएका छन्। राजनीति जनताको सुखदुःखसँग जोडिनुपर्ने र नेतृत्वले कमजोर तथा पहुँचविहीन नागरिकको आवाज सुन्न सक्नुपर्ने उनको धारणा छ। सामाजिक न्यायलाई राजनीतिक व्यवहारसँग जोड्ने उनको प्रयासलाई समर्थकहरूले उनको नेतृत्व शैलीको महत्वपूर्ण पक्षका रूपमा लिएका छन्।
    न्यायप्रतिको उनको दृष्टिकोण पनि राजनीतिक वृत्तमा चर्चाको विषय बन्ने गरेको छ। पहुँच, शक्ति वा आर्थिक अवस्थाका आधारमा नागरिकबीच विभेद हुन नहुने र राज्य तथा पार्टी नेतृत्वले समान व्यवहार गर्नुपर्ने फागोको धारणा छ। यही कारण उनी सामाजिक न्याय र जनताको पक्षमा बोल्ने नेताका रूपमा प्रस्तुत हुँदै आएका छन्।
    विचारका हिसाबले पनि फागोले कांग्रेसको मूल आदर्शलाई आफ्नो राजनीतिक यात्रासँग जोड्दै आएका छन्। संस्थापक नेता बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवाद कांग्रेसको राजनीतिक मार्गदर्शन हुनुपर्ने उनको धारणा छ। लोकतन्त्रसँगै सामाजिक न्याय र आर्थिक समानतालाई प्राथमिकतामा राखेर कांग्रेसलाई जनतासँग अझ नजिक बनाउनुपर्नेमा उनले जोड दिँदै आएका छन्।
    फागोको राजनीतिक सक्रियता निर्वाचनमा पनि देखिएको छ। २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार बनेका उनले ११ हजार ९ सय ८६ मत प्राप्त गरेका थिए। निर्वाचनको अनुभवले उनलाई मतदाता, संगठन र क्षेत्रीय राजनीतिको व्यवहारिक पक्ष बुझ्ने थप अवसर दिएको देखिन्छ।
    प्रदेश नेतृत्वको दौडमा उनको दाबीलाई बलियो बनाउने विषय यही अनुभवको निरन्तरता हो। स्थानीय सरकारको नेतृत्व, क्षेत्रीय सभापतिको दुई कार्यकाल, प्रदेश सहमहामन्त्रीको जिम्मेवारी र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष अनुभव—यी सबै राजनीतिक भूमिकाले फागोको नेतृत्व यात्रालाई स्थानीय तहमा सीमित नराखी प्रदेश तहसम्म विस्तार गरेको छ।
    अर्कोतर्फ, फागो लामो समयदेखि कांग्रेसको संगठनभित्रै रहेर जिम्मेवारी निर्वाह गर्दै आएका नेता भएकाले नयाँ जिम्मेवारीका लागि उनको दाबीलाई संगठनात्मक निरन्तरताका रूपमा पनि हेरिएको छ। स्थानीय कार्यकर्तासँगको सम्पर्क, क्षेत्रीय संगठनको अनुभव र प्रदेश तहको जिम्मेवारीले उनलाई विभिन्न तहमा काम गरेको अनुभव प्रदान गरेको छ।
    कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दै गर्दा अनुभव र संगठनात्मक क्षमतालाई प्राथमिकतामा राख्ने विषय पनि बहसमा छ। पुरानो पुस्ताको अनुभव, वर्तमान नेतृत्वको कार्यसम्पादन र नयाँ पुस्ताको अपेक्षाबीच सन्तुलन खोज्नुपर्ने चुनौती कांग्रेससामु छ। यही परिवेशमा फागोको नाम प्रदेश नेतृत्वको बहसमा आउनुलाई उनको लामो राजनीतिक यात्राको स्वाभाविक विस्तारका रूपमा उनका समर्थकहरूले हेरेका छन्।
    उर्लाबारीबाट प्रदेश तहको नेतृत्वमा दाबी प्रस्तुत गरेका फागोका लागि अबको चुनौती भने पार्टीभित्रको समर्थनलाई व्यापक बनाउनु हुनेछ। प्रदेशका विभिन्न जिल्ला, निर्वाचन क्षेत्र र संगठनका प्रतिनिधिहरूसँगको सम्बन्ध तथा महाधिवेशनको क्रममा बन्ने राजनीतिक समीकरणले उनको दाबीको वास्तविक स्वरूप निर्धारण गर्नेछ।
    तर अहिलेको अवस्थामा फागोको राजनीतिक यात्राका आधारहरू हेर्दा उनको दाबीलाई सामान्य आकांक्षाका रूपमा मात्र लिन नसकिने अवस्था छ। नगर नेतृत्वदेखि क्षेत्रीय संगठनको जिम्मेवारी, प्रदेश सहमहामन्त्रीको अनुभव, निर्वाचनको प्रत्यक्ष सहभागिता र सामाजिक क्षेत्रमा स्थापित जनसम्बन्धले उनलाई प्रदेश नेतृत्वको बहसमा स्थापित दाबेदारका रूपमा उभ्याएको छ।
  • अमना सिसौली सामुदायिक वनको नवौं साधारणसभा सम्पन्न

    अमना सिसौली सामुदायिक वनको नवौं साधारणसभा सम्पन्न

    अमना सिसौली सामुदायिक वन उपभोक्ता समूह, बेलबारीको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    मोरङको बेलबारी नगरपालिका १ मा अवस्थित वन  समुहको नवनिर्मित भवनमा बुधबार विभिन्न कार्यक्रमसहित साधारणसभा भएको हो । बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाको प्रमुख आतिथ्यता र सबडिभिजन वन कार्यालय बेलबारीका प्रमुख सत्यनारायण झाको विशेष आतिथ्यतामा साधारण सभा भएको थियो  ।

    साधारण सभामा सबडिभिजन वन कार्यालय बेलबारीका रेन्जर कुमार यादव।, बेलबारी नगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघ बेलबारीका अध्यक्ष लीला आचार्य,  देवीथान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोहन पौडेल, बेतना सिमसारकी कोषाध्यक्ष बिन्दुकला गुरुङ,  बेलबारी ३ का वडा सदस्य भोगेन्द्र राई, बेलबारी वडा नं १ कि वडा सदस्य सन्चमाया लिम्बु, बेलबारी ४ का वडा सदस्य दिनेश चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि हरूको  आतिथ्यता थियो ।

    सामुदायिक वन अन्तर्गत विभिन्न परिषद् सदस्य तथा उपभोक्ताहरूको सहभागिता रहेको साधारण सभामा सामुदायिक वन उपभोक्ता महासंघ बेलबारीका अध्यक्ष तथा अमला सिसौली सामुदायिक वनका पूर्व अध्यक्ष लीला आचार्य , बेलबारी ३ का वडा सदस्य भोगेन्द्र राई, वेतना सिमसारकीको सदस्य   बिन्दुकला गुरुङ लगायतले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साधारण सभामा उपाध्यक्ष रामहरि  कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। साधारण सभामा अमना सिसौली सामुदायिक वनका अध्यक्ष भोजराज बस्नेतले अध्यक्षको प्रतिवेदन, सचिव शर्मिला मगरले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बिमला राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    सामुदायिक वनका अध्यक्ष भोजराज बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा एक्कासी लाख रुपैयाँको लागत इस्टिमेटमा अघिल्लो वर्षदेखि निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको, सिसौली पर्यटन क्षेत्र विकासका लागि बगैँचा निर्माण, टनेल निर्माण, पैदल मार्ग निर्माण लगायत विभिन्न काम गरिनुका साथै डिपिआर निर्माण गरिएको र विभिन्न सामाजिक काम गर्नुभएको लगायतका कारण आम्दानीभन्दा खर्च बढी भएको उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार सामुदायिक वनले आर्थिक वर्ष  २०८२ ८३ को अवधिमा ९१ लाख ४३ हजार ९३६ र १ करोड २३ लाख १० हजार ४७१ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

    सिसौली पर्यटन क्षेत्र विकासका लागि संघीय सरकारको पर्यटन मन्त्रालयबाट ५ करोड रुपैयाँ बजेट विनियोजन भएको र सो बजेटबाट विभिन्न संरचना तथा स्थल निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको वनका अध्यक्ष भोजराज बस्नेतले जानकारी दिए ।

    त्यसैगरी प्रतिवेदन प्रस्तुत गर्दै वनकी कोषाध्यक्ष बिमला  राईले वनको कुल आम्दानीमध्ये आन्तरिकतर्फ ६० लाख १६ हजार ९३६ रुपैयाँ आम्दानी भएको, बेलबारी नगरपालिकाबाट १७ लाख ५० हजार रुपैयाँ र डिभिजन वन कार्यालय र चुरे उत्थानशील बाट १३ लाख ७७ हजार प्राप्त भएको जानकारी दिइन  वनले आर्थिक वर्ष ८३८४ को अवधिमा सदस्यता विस्तार,   घाटगद्दी निर्माण, सांस्कृतिक तथा मौलिक फुड फेस्टिवल कार्यक्रम आयोजना,  अवलोकन भ्रमण लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

    यस सामुदायिक वनले आर्थिक वर्ष २०७३८४ को अवधिमा रेडियो वेतनालाई रु. लाख, विद्यालय सहयोग २ लाख,   महिलाहरूका विभिन्न संघसंस्थालाई २ लाख, विद्यालय स्तरीय वन तथा वातावरण अभिमुखीकरण कार्यक्रमका लागि ४ लाख, फुटबल क्लबहरूका लागि २ लाख ५० हजार लगायत सिसौली पर्यटकीय क्षेत्रमा बत्ती जडा, घाटगति जाने बाटो निर्माण, अवलोकन भ्रमण लगायतका लागि पनि बजेट छुट्याएको छ। त्यसैगरी वनको नवनिर्मित भवन का लागि फर्निचर तथा स्टेसनरी खरिद मा पनि बजेट विनियोजन गरेको छ। वनले विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि ५ लाख, विपन्न बिरामीहरू को उपचारका लागि २ लाख, वन्यजन्तु रात कोषका लागि ५ लाख, आगलागि पीडितको सहयोगका लागि २ लाख, एक करोड विपन्न नागरिकहरूका लागि पशु चौपाया वितरणका लागि १ लाख विपन्नको घर निर्माणका लागि २ लाख ३५ हजार र इन्डक्सन चुलो वितरणका लागि ३ लाख विनियोजन गरेको छ।

  • हाइकुहरू – तोमनाथ उप्रेती

    हाइकुहरू – तोमनाथ उप्रेती

    तोमनाथ उप्रेती

    १

    खरानीमाथि
    नयाँ सपना उम्रियो
    उज्यालो भयो।

    २

    जलिसकेका ती
    सपनालाई फूलझैँ
    फेरि फुलाऔँ।

    ३

    सहिदको सपना
    हाम्रो आँखामा बाँचोस्
    देश अघि बढोस्।

    ४

    युवा आगो होइन
    अन्धकार हटाउने
    दीप बनेर।

    ५

    युवा उठेपछि
    देशको भाग्य फेरिन्छ
    नयाँ प्रभात।

    ६

    प्रश्न गर्ने मन
    उत्तर खोज्ने हातले
    भोलि बनाउँछ।

    ७

    टुटेका संरचना
    हामी मिलेर जोडौँ
    विश्वास फर्काऔँ।

    ८

    आक्रोशलाई अब
    विवेकको बाटो दिऔँ
    देश बचाऔँ।

    ९

    ढाल्ने हातहरू
    अब निर्माणमा जुटून्
    सुन्दर नेपाल।

    १०

    सत्ताभन्दा माथि
    जनताको जीवन हो
    सेवा नै धर्म।

    ११

    नाताका ती जाल
    योग्यताले चुँडियोस्
    न्यायले जितोस्।

    १२

    भ्रष्ट कालो बादल
    सत्यको घाम लागे
    देश मुस्काओस्।

    १३

    मेहनती हातमा
    अवसरको फूल फुलोस्
    देशमै भविष्य।

    १४

    गाउँका ती बाटा
    सहरसँग जोडिऊन्
    मन पनि जोडून्।

    १५

    आमाको आँखामा
    अब आँसु होइन हाँसो
    नेपाल हाँसोस्।

    १६

    बाको पसिनाले
    देशमै मूल्य पाओस्
    घरमै उज्यालो।

    १७

    हिमाल पहाड
    तराई एउटै मुटु
    नेपाल हाम्रो।

    १८

    भाषा फरक हो
    मनमा एउटै प्रेम
    देश एउटै हो।

    १९

    माटोको प्रत्येक
    कणभित्र देश बोल्छ
    मनले सुनौँ।

    २०

    सीमाका जवान
    राष्ट्रको गौरव हुन्
    नमन गरौँ।

    २१

    नारा मात्रै होइन
    कर्मले देश बोलोस्
    साँचो देशप्रेम।

    २२

    अधिकारसँगै
    कर्तव्यको दीप बालौँ
    लोकतन्त्र जोगाऊँ।

    २३

    प्रतिशोध होइन
    न्यायको बाटो रोजौँ
    मेलमिलाप होस्।

    २४

    पुरानो अनुभव
    नयाँ पुस्ताको जोस
    देश बलियो होस्।

    २५

    खरानीपछि फेरि
    उज्यालो नेपाल बनोस्
    साझा हाम्रो देश।

  • बेलबारीका बस्नेत प्रेस युनियन मोरङको अध्यक्षमा निर्वाचित

    बेलबारीका बस्नेत प्रेस युनियन मोरङको अध्यक्षमा निर्वाचित

    नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत चयन भएका छन् ।
    युनियनको मोरङ जिल्ला शाखाको बिराटनगरमा सम्पन्न अधिबेशनबाट संयन्त्र सञ्चार सहकारी संस्था लि. द्वारा संचालित रेडियो बेतनाका अध्यक्ष बस्नेत जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
    सार्वजनिक गरिएको नामावली अनुसार कार्यसमितिको उपाध्यक्ष पदमा गोपाल प्रसाद पोखरेल, पर्शुराम निरौला, चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा उषा कुमारी सरदार, निर्वाचित भएका छन् । त्यस्तै, सचिव पदमा सन्तोष कुमार वास्तोला, चयन हुनुभएको छ। सह–सचिवमा अनुज सापकोटा, र अन्जना पराजुली तथा कोषाध्यक्ष पदमा दिलीप कुमार अग्रवाल चयन भएका छन् ।
    जिल्ला कार्यसमिति सदस्यहरूमा भोजराज घिमिरे, पुरुषोत्तम कट्टेल, विवेक मेहता, शोभा घिमिरे, अफताब अली, दिपेन्द्र साह, प्रेम पारख, पारस मण्डल, र सुभाष भण्डारी रहेका छन् ।
    निर्वाचन समितिका संयोजक अविनाश कुमार निधी तथा सदस्यहरू विकास थापा र बाबुराम निरौलाले दिएको जानकारी अनुसार १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति, १३ जना संघीय महाधिवेशन प्रतिनिधि तथा १० जना प्रदेश महाधिवेशन प्रतिनिधिहरूको चयन गरिएको छ ।
    केन्द्रीय संघीय महाधिवेशनका लागि मोरङबाट १३ जना प्रतिनिधि निर्वाचित हुनुभएको छ। जसमा शंकर खरेल, हरी प्रसाद कोइराला, अरविन्द कुमार मेहता, मिन कुमार श्रेष्ठ, रोहित कुमार लुइटेल, चुमन बस्नेत, अनन्तराज न्यौपाने, कुमोद अधिकारी, विक्रम निरौला, कमला कँडेल, विनोद भण्डारी, सुशीला पाठक र शेखर रेग्मी रहेका छन् ।
    त्यसैगरी प्रदेश महाधिवेशन प्रतिनिधितर्फ १० जना चयन हुनुभएको छ। प्रदेश प्रतिनिधिहरूमा लिलानाथ गच्छदार, वेदराज पौडेल, राजु बस्नेत, टेकेन्द्र अधिकारी, पदम कुमार सरदार, रामकुमार परियार, प्रेम प्रसाद भट्टराई, शम्भु पोखरेल, राजन पोखरेल, र कुमार खड्का निर्वाचित रहेका छन् ।।नवनिर्वाचित सम्पूर्ण पदाधिकारी, सदस्य एवं महाधिवेशन प्रतिनिधिहरूलाई विभिन्न सञ्चारगृह तथा पत्रकार संगठनहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।