Blog

  • राजमार्ग क्षेत्रमा सटर बनाएपछि डुब्ने भो स्कुलको १० लाख

    राजमार्ग क्षेत्रमा सटर बनाएपछि डुब्ने भो स्कुलको १० लाख

    अम्बिका भण्डारी , बेेलबारी  । बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक बिद्यालयको ब्यबस्थापन समितिका एक दुई पदाधिकारी र कर्मचारीको मिलेमतोमा आफुुखुुुशी राजमार्ग क्षेत्रमा ब्यापारीक सटर बनाएपछि त्यसको लगानी डुब्ने अबस्था सृृृजना भएको छ ।

    विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा  बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम र प्रधानाध्यापक मानबहादुर खडका सहित केही ब्यक्तिले आफुखुशी पुर्ब पश्चिम सडकको क्षेेेत्राधिकार मिचेर बनाउन थालेको ब्यापारीक सटर स्कुलका जग्गादाता र स्थानीयबासीलेे   अबरुद्द गरेपछि केही ब्यापारीबाट कोठा भाडा बापत लिइएको पेश्की सहित निर्माणको लागि खर्चिएको झण्डैे १० लाख रुपैयाँ जोखिममा पुगेको हो ।

    बिद्यालयको ब्यबस्थापन समितिका एक दुई जना पदाधिकारी र विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा मनखुशी सडकको ८५ फिटमै ईटा लगाएर सटर निर्माण गरेपछि बिद्यालयका जग्गादाता समेत रहेका राजनीतिज्ञ तथा समाजसेवी प्रतापकुमार थापाको नेतृत्वमा स्थानीयले आइतबार निर्माण कार्य अबरुद्ध गरेका छन्  । स्थानीयले अवरोध गरेपछि निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको छ ।

    सडक मिचेर सटर निर्माण भएको बारे विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सो कार्य रोक्न नगरपालिका लगायत सम्बन्धित निकायमा जानकारी गराउँदा पनि  बेवास्ता गर्दै सडककको जग्गामा नाफा कमाउने नियतका साथ निर्माण कार्य नरोकेको भन्दै आईतबार थापा सहित बेलबारीका स्थानीय बासिन्दाले निर्माण कार्य अबरुद्ध गरेका हुन्  । निर्माण कार्य नरोकिए बनाइएका संरचना भत्काउने उनीहरूले चेतावनी दिएका छन ।

  • राजमार्ग मिचेर सटर बनाउंदै चर्को बिवादमा मुछियो भगवती स्कुल, वडाध्यक्ष पनि बिबादमा

    राजमार्ग मिचेर सटर बनाउंदै चर्को बिवादमा मुछियो भगवती स्कुल, वडाध्यक्ष पनि बिबादमा

    अम्बिका भण्डारी / नेपाली समाजमा एउटा उखान छ ‘मुखमा मांड छैन , पुच्छरमा घिउ’ । उखान सुन्दा लाग्छ याे एउटा ठट्यौली हो, तर त्यो उखान उखानमा मात्र सिमित छैन, यथार्थमा आधारित छ । नपत्याए मोरङ बेलबारीको एउटा स्कुलको चाला हेर्नोस, अनि थाहा हुनेछ हो कि होईन भनेर ।

     

    एकातिर बेलबारी नगरपालिकाले सार्बजनिक सुचना नै जारी गरेर पुर्व पश्चिम् राजमार्गको अघिकार क्षेत्रभित्र रहेका बिभिन्न पसल र भौतिक संरचना भत्काउन शुरु गरेको छ तर अर्कोतिर  बेलबारी ३ मा रहेको भगवती माविले भने  दोकानीहरुलाइ भाडा लाएर पैसा कमाउनकै लागि राजमार्गमा सटर निर्माण गरिरहेको छ ।

    हो, सडकको ८५ फिट भित्र बिद्यालयले ईटा लगाएर सटर बनाइरहेको छ । पोहोर साल पुर्वपट्टीको सडक बिस्तार गर्दा पनि स्कुुल बिवादमा परेको थियो । त्यसबेेला एक दुुुुइ जनाको घरको केही भाग जोगाउनकै लागि पैसाको सौदाबाजी गरी पैसा लिएर स्कुलले सर्वदलीय सहमति भन्दै बाटोका लागि जग्गा दिएको थियो ।सो बापत घरवालाहरुबाट २० लाख लिएर स्कुलले २० लाख र नगरपालिकाले दिएको २० लाख गरी ६० लाखमा ब्यापारिक भवन अर्थात सटर बनाएर हाल भाडामा लगाउन थालेको छ । त्यसबेला मुनि कक्षा कोठा बनाएर माथि सटर बनाउन सकिने भएपनि त्यसो गरिएन ।

     

    स्कुलको अबस्था चाहिँ कस्तो छ भने न आफ्नो खेल मैदान छ, न त फराकिलो परिसर ।  केही बर्षदेखि बेलबारी बहुमुखी क्याम्पस त्यहीँ सन्चालन भइरहेकोेले कक्षा कोठाको अभावै अभाव छ । कक्षाकोठाको समस्या भएको भन्दै स्कुलले पटकपटक क्याम्पसलाइ हट्न दबाब दिदै आएको छ । तर स्कुल भने कुनै निजी ब्यापारीक निकाय झैं स्कुलको जग्गामा सटर बनाउदै कमाउने मेलो खोज्नै ब्यस्त छ । त्यतिमात्र कहाँ हो र हुँदा हुँदा यसपाली त राजमार्गको क्षेत्राधिकारभित्र अरु सटर बनाइरहेको छ । बेलबारी १ को पुर्व बस स्टेसन नजिकै पनि आफ्नो जग्गामा अस्थायी भवन बनाएर स्कुलले दुई चार बर्षदेखि सटर भाडामा लगाउंदै आएको छ ।

    बिद्यालयले यसअघि पनि दाताले दिएको जग्गामा मनपरी गरेको र दाताहरुको उपेक्षा गरेको आरोप खेप्दै आएको छ । बिद्यालयलाई कुन दाताले कति जग्गा दिएको हो र कहाँको जग्गा दिएको हो भन्ने बारेमा स्वयं  स्कुल प्रशासन पनि अन्यौलमै छ । बिद्यालयमा अझै बिद्यालयका दाताहरु को हुन र कति जग्गा दिएका हुन भन्ने रेकर्ड समेत उपलब्ध छैन । त्यस्तै बेला बिद्यालय प्रशासनले फेरी सडकमै सटर निर्माण गरेर अर्को बिवाद खडा गरेको गरेको छ । गुणस्तरीय शिक्षा दिनुपर्ने सरकारी स्कुल नै पैसा कमाउने ब्यापारमा लागेको  भन्दै दलका केही नेता स्थानीय आक्रोशित बनेका छन ।

     

    कतिसम्म भने बिद्यालयलाई दिईएको जग्गामा समेत मोहियानी हक कायम भएको जग्गा छ । पोहोर साल राजमार्गबाट दक्षिण जाने सडक निर्माण गर्दा बिद्यालयको सार्बजनिक जग्गा किनबेच गरेको आरोप लागेको थियो । बेलबारी वडा नम्बर ३ का अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रबत्ता समेत रहेका योगेन्द्र सुवेदीसँग यस बिषयमा सम्पर्क गर्दा सटर निर्माण गर्ने बिषयमा सञ्चालक समितिले निर्णय नगरेको र प्रधानाध्यापक मानबहादुर खडका सहित केही ब्यक्तिले आफुखुशी यो निर्णय गरेको उनले बताए ।सुवेदी बिद्यालय ब्यबस्थापन समितिका पदेन सदस्य समेत हुन । उनले सडकको जग्गा मिचिएको बिषयमा भने तत्काल १ सय ५ फिट सडक निर्माण कायम नहुने र सडक निर्माण हुँदा भत्काउने र सोही समयसम्म सो सटरहरु अस्थायी रुपमा निर्माण गरी भाडामा लगाउने उद्धेश्यका साथ निर्माण भएको हुनसक्ने बताए ।
    उता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा  वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतमले भने बिद्यालयले आफनो जग्गाभित्र जे पनि गर्न पाउने ठाडो  जवाफ फर्काएका छन । नगरपालिकाले ८२ फिटभित्र बनिरहेको संरचना भएपनि बिद्यालयले निर्माण गरेका सटर ८५ फिटमा मात्र रहेको बताए । सडक बिभागले पछि सडक फराकिलो पार्दा सो संरचना भत्काउने गरी निर्माण गरिएको उनको भनाई छ । बेेेलवारी नगरपालिकाले डोजर लगाएर राजमार्गको ८२ फुट क्लियर गर्न थालेका बेला एक वडाध्यक्षकै नेतृत्व रहेकोे स्कुुलले गरेको काम जो अगुुवा उही बाटो …. भने झैं भएको टिप्पणी सर्वसाधारणले गर्न थालेका छन् ।

    स्थानीय बासिन्दा भने शिक्षा प्रदान गर्ने ठाँउमा दाताहरुको दिएको जग्गामा बिद्यालयले ब्यापार गरिरहेको भन्दै आक्रोश पोख्न थालेका छन । एमाले नेता समेत रहेका समाजसेवी प्रताप थापाले स्कुलले कक्षाकोठा थप गर्नेतर्फ भन्दा राजमार्गमा सटर बनाउने स्कुलको निर्णय गलत भएको बताए । उनले राजमार्गमा सटर बनाउने कार्य विरुद्ध फेसबुकमा स्टाटस लेखेरै बिरोध गरेका छन् । उनको बिरोधबाट शुरु भएको सो बिबादित बिषय फेसबुकमा भाइरल बन्दै गएको छ ।

  • बेतना सिमसारको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, सिमसारको २० बर्षे गुरुयोजना सार्वजनिक

    बेतना सिमसारको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, सिमसारको २० बर्षे गुरुयोजना सार्वजनिक

    बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    मोरङ बेलबारीस्थित बेतना सिमसार परिसरमा भएको साधारणसभामा उल्लेख्य उपभोक्ताहरुको  उपस्थिति थियोे । साधारणसभा सामुदायिक वनका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षता र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो । एघार बजे शुरु गर्ने भनिएपनि ढिलो भएपछि साढे एक बजेसम्म  विभिन्न कलाकारहरुले गीत प्रस्तुत गरेका थिए । कार्यक्रम शुरु गर्दा पौने दुई बजेको थियोे ।

    बेतना सिमसारकी सचिब निशाकिरण राइले सञ्चालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत सिमसार समितिका सबैजसो  सल्लाहकारहरुको पनि उपस्थिति थियो । कार्यक्रममा इन्दिरा कार्कीले स्वागत मन्तब्य दिएकी थिइन् ।

    बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले पानसमा बत्ती बालेर र बिरुवामा पानी हालेर साधारणसभाको उद्घाटन गरेका थिए । उद्घाटन लगत्तै बेतना सिमसारका संस्थापक अध्यक्ष स्व. बिष्णु बस्नेतको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बेतना सिमसारका सल्लाहकार महेन्द्र सुवेदी, परशुराम सुवेदी, डिपी राई, तिलक राइ लगायतले शुभकामना दिएका थिए ।

    सामुदायिक वनले साधारणसभाकै अबसरमा पन्चज्योती आधारभूत विद्यालयलाइ १ लाख २०  हजार रुपैयाँ, वडा नम्बर ४ को खुल्ला दिशामुक्त अभियानलाई १ लाख रुपैयाँ र नयाँ बेतना पैनी उपभपभोक्ता समितिलाइ पैनी मर्मतका लागि सहयोग गरेको छ ।

    कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सामुदायिक वनबारे संघिय संसद र प्रदेशले कानुन बनाउने काम गरिरहेकोले कानुन बनिसकेपछि सामुदायिक वन संचालनमा सहजता आउने बताए । उनले बेलबारी नगरपालिकाले सिमसारलाई राष्ट्रिय स्तरको हुनेगरी  बिकास गर्न जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले बेतना सिमसारको बिकासका लागि केन्द्रिय सरकारसंग माग पेस गरेको र यसलाई प्रदेश १ को गौरवको योजना बनाउन प्रदेश सरकारले पनि प्रतिबद्धता जनाएको जानकारी दिए ।

    साधारणसभामा समितिका अध्यक्ष डम्बर बस्नेतले बार्षिक प्रगति प्रतिवेदन, सचिव निशाकिरण राइले संस्थागत अबस्था तथा भावी निति कार्यक्रम र कोषाध्यक्ष कमल कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    बेतना सिमसारमा २५ जनाको कार्यसमिति रहेको छ भने  ३ सय ३० जना परिषद सदस्य छन् । साधारणसभामा बेतना सिमसारको २० बर्षे गुरुयोजना पनि सार्वजनिक गरिएको छ ।

  • यस्ता छन् बेलबारीका जनप्रतिनिधिले पहिलो एक बर्षभित्र गरेका काम

    यस्ता छन् बेलबारीका जनप्रतिनिधिले पहिलो एक बर्षभित्र गरेका काम

    अम्बिका भण्डारी / बेलबारी नगरपालिकाले  डेढ दर्जन कानुन कार्यबिधिहरु पारित गरेको छ ।

    स्थानीय सरकारको रूपमा जनप्रतिनिधि आएपछि ती कार्यबिधि पारित भएका हुन् । नगरपालिकाले पारित गरेका कार्यबिधिहरुमा आर्थिक कार्यबिधी कानुन २०७४, कार्यबिभाजन नियमावली २०७४, कार्यसम्पादन नियमावली २०७४, प्रमाणीकरण नियमावली २०७४, पदाधिकारीहरुको आचारसंहिता २०७४, खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधी २०७४, टोल बिकास संस्था कार्यबिधी २०७४, नगरपालिका बैठक संचालन कार्यबिधी २०७४, नगरसभा संचालन कार्यबिधी २०७४, मर्मत संभार कोष संचालन कार्यबिधी २०७४, बिपद ब्यबस्थापन कोष संचालन कार्यबिधी २०७४, शैक्षिक ब्यबस्थापन कार्यबिधी २०७४, सामुदायिक बिकास अभियान संचालन कार्यबिधी २०७४, बजार अनुगमन कार्यबिधी २०७४ र बिपद जोखिम ब्यबस्थापन कार्यबिधी २०७४ लगायत छन् ।

    विद्युतीय हाजिरी लागू हुँदै

    नगरपालिकाले चालू आबको अबधिमा सामुदायिक विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरु र नगरपालिका समेत गरी ४८ वटा सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी मेसिन जडान गरेको छ । त्यसैगरी १२ वटा बोर्डिङ र एउटा सामुदायिक विद्यालयलाइ कक्षा थपको अनुमति दिएको छ । त्यसैगरी आधा दर्जनभन्दा बढी स्कुलहरुलाइ  अनुमती नलिइ चलाइएका कक्षा बन्द गर्न पत्राचार गरेपनि अटेर गर्दै आएका छन् ।

    ५७ जनाले पाए २५ हजारवाला सहयोग  : नगरपालिकाले गम्भीर प्रकृतिका  पाँचवटा रोग लागेका बिरामीलाई २५ हजारका दरले सहयोग गर्ने  निर्णय गरेको थियोे । सोही अनुसार बिगत केही महिनाको अबधिमा ५७ जना बिरामीले सो सहयोग पाइसकेको नगरपालिकाले जनाएको छ ।

    त्यसैगरी बेलबारी नगर क्षेत्रमा १० जना कुष्ठरोगी फेला परेको र तीनीहरुको उपचार भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।

    टोल बिकास समिति गठन : बिकास निर्माणका कामलाई प्रभावकारी बनाउन नगरपालिकाले प्रत्येक वडामा १५ वटाको दरले टोल समितिहरु गठन गरी दर्ता समेत गर्ने काम तीब्र पारेको छ । हालसम्म नगरक्षेत्रभित्र ६ दर्जनभन्दा बढी टोल बिकास समिति नगरपालिकामा दर्ता भइसकेको र अन्य टोल बिकास समितिहरु पनि गठन र दर्ताको क्रम तीब्र पारिएको नगरपालिकाले जनाएको छ ।

    आन्तरिक स्रोतबाट उठ्यो झण्डै २ करोड राजस्व

    यस नगरपालिकाले गत बर्ष पुसमा मात्रै नगरसभा गरेको थियोे  । तर ढिलो नगरसभा भएपनि चालू आर्थिक बर्षका ९० प्रतिशतभन्दा बढी योजना सम्पन्न भइसकेको प्रबक्ता सुवेदीले बताए ।

    नगरपालिकाले चालू आबमा आन्तरिक स्रोतबाट १ करोड ९८ लाख ६४ हजार ४ सय २५ रुपैयाँ राजस्व असुली गरिसकेको गत हप्ता आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    नगरसभाको तयारी

    बेलबारी नगरपालिकाले दोस्रो  नगरसभा यही असार ७ गते गर्ने भएको छ ।

    नगरकार्यपालिकको निर्णय बमोजिम असार ७ गते नगरसभा गर्ने तयारी तीब्र पारिएको नगरपालिकाले जनाएको छ । बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीका अनुसार वडागत बजेटको विवरण सुचकका आधारमा बजेट बनाउने काम भइरहेको छ ।

     

  • पहिलोपटक खोला ठेक्काबाट ७४ लाख आम्दानी गर्यो केराबारी गाउँपालिकालेले

    पहिलोपटक खोला ठेक्काबाट ७४ लाख आम्दानी गर्यो केराबारी गाउँपालिकालेले

    स्थानीय तहलाई पहिलो पटक खोला ठेक्का लगाउन अनुमती दिइएपछि केराबारी गाउँपालिकाले एउटा ठेक्काबाट चालू आर्थिक बर्षमा ७४ लाख आम्दानी गरेको छ ।

    वन बिभागले वन कार्ययोजना बमोजिम जिल्ला वन कार्यालय मोरङ मार्फत वन क्षेत्रलाई असर गर्ने भन्दै खोला ठेक्काको अनुमती दिएपछि गाउँपालिकाले एक महिनाभित्र नै ७४ लाख आम्दानी गरेको हो । जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७४/ ०७५ को लागि भुमि कन्स्ट्रक्सनलाई १८ करोडमा खोला ठेक्का दिएकोले त्यसको अनुपात अनुसार भ्याट सहित ७४ लाख ठेक्का निर्धारण भएको र सोही अनुसार ठेक्का लगाइएको केराबारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत डम्बरु बल्लभ बरालले जानकारी दिए ।

    बरालका अनुसार सरकारले वन क्षेत्रको रूपमा परिभाषित गरेको केराबारीस्थित लोहोन्द्रा खोलाको तल्लो नाकाको १ किलोमिटर लामो क्षेत्रमा हालै गाउँपालिकाले यसअघि जिल्ला समन्वय समितिले खोला ठेक्का दिएको ठेकेदार कम्पनी भुमि कन्स्ट्रक्सनले नै थप ठेक्का पाएको छ । खोलामा थप ठेक्का लागाउनुपरे साबिक ठेकेदार कम्पनीलाई नै दिने जिल्ला समन्वय र ठेकेदारबिचको सम्झौता बमोजिम नै ठेक्का दिइएको बरालले बताए । उनका अनुसार ठेक्काबाट प्राप्त आम्दानी गाउँपालिकाको राजस्व खातामा जम्मा हुनेछ ।

    असार १ देखि भदौ मसान्तसम्म खोला पस्न निषेध हुने भएकोले ठेक्का अनुसार ठेकेदारले यही जेठ मसान्तभित्र  खोलाबाट गिटी वालुवा निकालिसक्नुपर्नेछ । त्यस हिसाबले ठेकेदारले करिब दुई हप्ताको लागि ठेक्का पाएका छन् । एक किलोमीटर क्षेत्रमा ५५ मीटर चौडाइ र १.१० मीटर गहिराई मात्रै उत्खनन गर्न पाउने गरी ठेक्का दिइएको गाउँपालिकाले जनाएको छ । जेठ १९ गतेदेखि उत्खननमा हाल जिल्ला वन कार्यालयका प्राबिधिक बसेर च्यानलाइज गराउने काम भइरहेको छ । समय समयमा जिल्ला समन्वय समितिका प्राबिधिकहरुले पनि अनुगमन गर्ने र जिल्ला वनका  प्राविधिक बसेर मात्रै उत्खनन गर्ने अनुमति दिइएकोले सो ठेक्कामा मापदण्डको पुरा पालना हुने गाउँपालिकाले दाबी गरेको छ ।

  • साकार बन्दैछ तमोर गड्तिरमा मोटर गुडाउने हेमराजको सपना

    साकार बन्दैछ तमोर गड्तिरमा मोटर गुडाउने हेमराजको सपना

    बिकास कल्पनाले मात्रै पूरा हुन्छ । जसले विकास गर्ने कल्पना गर्दैन, उ राजनीतिज्ञ बन्न पनि सक्दैन । मात्र स्वार्थी बन्छ । हेमराज भण्डारी पनि स्वार्थी हुन् । यतिमात्र फरक छ, उनी जनताका कामका लागि स्वार्थी बने । र, त्यही स्वार्थ आज राष्ट्रिय महत्वको बनेको छ ।

    प्रत्येक राजनीतिज्ञसँग सपना र परिकल्पना हुनुपर्छ, जो समाजसँग जोडिएको हुनुपर्छ । हेमराज भण्डारी उर्फ सुदर्शनका पनि कयौं सपना छन् । देश बदल्ने परिकल्पना छ । तीमध्ये तमोर करिडोर बनाउने एउटा महत्वाकांक्षी सपना थियो, जुन पूरा भएको छ ।

    राजनीतिज्ञले विकासलाई सँगै जोडेर लैजान्छन् । विकास र राजनीतिलाई सँगै लैजान नेतृत्व मात्रै सफल बन्छन् । उनी राजनीति सँगसँगै विकासलाई सँगसँगै डोहो¥याउन चाहन्छन् ।

    उनले यस्तो सपना देखे, जसलाई पूरा गर्न निरन्तर लागे । सरकारले नै पत्याउन नसकेको योजना बनाए । आफ्नो योजना पूरा गर्न कम्मर कसे । एकरत्ति पनि कसैको बहकाउमा लागेनन् । अन्ततः उनको योजना पूरा भयो । त्यो योजना हो तमोर करिडोर ।

    यसरी बन्यो योजना
    धनकुटाको कुरुलेतेनुपामा जन्मिएका हेमराज भण्डारीले धनकुटा सदरमुकमा आउनु पर्दा त्यही तमोरको किनारै किनार आएर याक्चना घाटको घिर्लिङ तर्नुपर्थाे । उनले कयौपटक तमोरको किनार छिचोले । तमोर नदीको पानी खाए । त्यतिमात्रै होइन, त्यही तमोरको गड्तिरमै हुर्किएभन्दा पनि फरक पर्दैन ।

    उनी पूर्व मसालमा रहँदा पनि कुशल संगठक थिए । जब उनी २०५६ मा दिनानाथ शर्मासँगै माओवादीमा प्रवेश गरे, त्यसपछि उनका लागि त्यो तमोरको किनार बाच्ने प्रिय साथीझैं बन्यो । कयौपटक त्यही किनारबाट आफ्ना जनमुक्ति सेनालाई हिडाएँ । संगठनका काममा लाग्दा पनि सुरक्षाकर्मीको आँखा छल्ने माध्यम त्यही किनार थियो ।

    सुरक्षाकर्मी बख्तरबन्द गाडीमा हुँईकिन्थे । तमोर नदीको किनार सडकबाट निक्कै टाढा थियो । त्यस्तो अवस्थामा सुरक्षाकर्मीको आँखा छल्न सजिलो पनि थियो । त्यही भएर नदी किनारको बाटो रोज्नु बाध्यता पनि थियो ।

    जबजब उनी तमोर नदीको किनारमा पुग्थे, त्यो बेला उनको मनमा यो किनारमा कहिले गाढी गुड्ला नि ! भन्ने कुराले पौठेजोरी खेल्थ्यो । चर्काे घाम र असुविधा भोग्दा उनी मनमनै कल्पना गर्थे ‘म यो किनारमा अवस्य पनि एक दिन गाढी गुडाएरै छाड्छु ।’

    नभन्दै माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो निर्वाचनमा उनी धनकुटा क्षेत्र नं. १ बाट उम्मेदवार बने । अत्याधिक मत पाएर विजयी पनि भए । सभासद भएपछि उनको मनमा उत्साह थपियो । अनि तमोर नदीको किनारै किनार हिड्दाको दुःख सँगै सिंहदरवारसम्म आइपुग्यो ।

    त्यतिवेला संसदीय विकास कोषको रकम सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउँथे । उनले त्यही मौकामा तमोर नदीको किनारै किनार बाटो खोल्ने संकल्प गरे ।

    उनले ०६५ सालमा धनकुटाको मुलघाटबाट तमोर नदीको किनारै किनार बाटो खोल्न ८ लाख रुपैयाँ लगाउने योजना बनाए । त्यसैअनुरुप जिल्ला सडक कार्यालय, जिल्ला विकास समिति लगायतका निकायसँग अनुनय गरे । तर, नमानेपछि जवरजस्ती ब्रम्हध्वज साङपाङको अध्यक्षमा उपभोक्ता समिति बनाएर ८ लाख रुपैयाँ लगाए । जबरजस्ती सडको ट्रयाक खोल्न सुरु पनि भयो ।

    दोस्रो वर्ष अर्थात् २०६६ मा डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला १ करोड ५० लाख विनियोजन भयो । त्यो पैसामा पनि उनले चलख्याइँ गरे । धनकुटाको मुलघाटबाट सडक बनाउन आएको पैसा पाँचथरका सांसदको हातमा सुम्पिए ।

    र, पाँचथरका सांसदहरुले पाँचथरको जोरसालबाट मुलघाटतर्फ बाटो खन्न थाले । जतिसक्दो छिटो पाँचथरबाट मुलघाट बाटो जोडियोस् भन्ने उनको चाहना थियो । त्यही भएर ५० लाख रुपैयाँ धनकुटालाई राखेर १ करोड रुपैयाँ पाँचथरका सांसदको हातमा सुम्पिएका थिए ।

    साकार फर्मुला
    १० वर्षे सशस्त्र युद्धको समयमा माओवादीलाई जोगिन छोटो र सुरक्षाकर्मी नपुग्ने बाटो चाहिन्थ्यो । उनी प्रायः त्यही फर्मुला प्रयोग गर्थे । त्यतिमात्रै होइन, नदी किनार आसपासमा बसोबास गर्ने आम नागरिकको दैनिकी पनि भोग्न पाउथे ।

    उनी जनयुद्धको समयमा त्यही तमोर नदीको किनारलाई साक्षी राखेर ताप्लेजुङको दोभानदेखि काभ्रे जिल्लाको शिरसम्मै यात्रामा निस्किएका छन् । त्यही भोगाईले उनले मनमनै तमोर करिडोरको खाँका कोरे । त्यसबेलाको मनको खाँका अहिले पूरा भएको छ ।

    दीर्घकालीन परिकल्पनाकार
    राजनीतिज्ञको एउटा सपना हुन्छ । तमोर नदीको किनारबाट करिडोर बन्ला भनेर कमैले सोचेका थिए । जवरजस्ती संसदीय कोषको बजेटबाट सुरु भएको बाटो आज करिडोरको रुपमा विकास भएको छ । जसको श्रेय हेमराज भण्डारीलाई मात्रै जान्छ ।

    उनले आफ्नो परिकल्पना पूरा गर्न भएभरको शक्ति लगाएका छन् । राजनीतिक जीवनको आधा शक्ति खर्चिएका छन् । यति मात्रै होइन, उनले यस्तो परिकल्पना गरेका छन्, काठमाडौं–ओलाङचुङ गोला जोड्ने सबैभन्दा छोटो मार्ग बनाउने । त्यति मात्रै नभएर मुलघाटबाट त्रिवेणी हुँदै दुधकोशीको किनारै किनार उदयपुरको घुर्मी जोड्ने परिकल्पना गरे । उनकै पहलमा सर्वेसमेत भइसकेको छ ।

    उनले तमोर करिडोरलाई १ नं. प्रदेशको मुख्य मार्ग बन्ने आशा लिएका छन् । भारतको जोगवनीबाट विराटनगर रानी हुँदै ओलाङचुङ गोलासम्म २७० किलोमिटर मात्रै छ । धनकुटाको मुलघाटदेखि तमोर नदिको किनारै किनार करिव १ सय ८० किमिमा तथा विराटनगरको रानी भन्सारवाट चीन वोर्डरसम्मको लम्वाई २ सय ७० किमि छ ।

    तमोर करिडोर ओलाङचुङ गोला–मुलघाट–बराहक्षेत्र सडक आयोजनाको कामलाई अझ अगाडी बढाउन केही समय अगाडी ताप्लेजुङका सासद योगेश भट्टराईको नेतृत्वमा एक समिति बनेको छ । जसमा ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका सांसदहरू र पूर्व सभासदहरू छन् ।

    तमोर करिडोर बन्न सके तमोर जलविद्युत आयोजनाको काम पनि छिटो बढ्न सक्छ भन्ने उनको बुझाई छ । उनले तमोर करिडोरलाई धेरै सम्भावना बोकेको करिडोरको रुपमा लिएका छन् । उनको बुझाईमा पूर्वका विभिन्न जिल्लालाई काठमाडौं र हेटौडा जोड्ने सबैभन्दा उत्तम मार्ग बन्छ भन्ने छ ।

    ‘यो सडक भारत र चीन जोड्ने नेपालकै सबैभन्दा छोटो मार्ग पनि बन्नेछ भन्ने लाग्छ’ उनले निशान न्युजसँग भने, ‘यसले धेरै सम्भवना बोकेको छ, यो १ नं. प्रदेशको प्रमुख मार्ग बन्नसक्छ ।’

    किन रोज्छन् किनारमा बाटो ?
    नदी किनारमा बाटो बनाउँदा धेरै फाइदा हुन्छ । पहिलो कुरा नदी किनारमा बस्ती विकास गर्न सकिन्छ । बाटो गएपछि उत्पादन हुन नसकेका ठाउँमा बस्ती बस्छ ।

    सधैं नेपालमा सप्तकोशी उच्च बाँध निर्माणको कुरा चलिरहन्छ । अहिलेसम्मका बस्तीहरु नदी किनारमै छन् । यदी नदी किनारमा राजमार्ग बन्दा सरकारलाई पनि सप्तकोशी उच्च बाँध निर्माणमा कुनै पनि सम्झौता नगर्न दबाब पर्छ ।

    ‘नदी किनारका बस्ती कहाँ लैजाने त ? सरकारलाई समस्या पर्छ’ उनी भन्छन्, ‘अहिले तमोर करिडोरसँगै मुलघाट–त्रिवेणी–दुधकोशीको किनार हुँदै घुर्मी जोड्ने सडक बनेपछि कुनै पनि सरकारले ती सडक आसपासमा बसेको बस्ती हटाएर कुनै बाँध बनाउनै सक्दैन ।’

    यो सडक आयोजना गरेर तमोर नदीमा व्यवस्थित बस्ती विकास गर्ने उनको सपना छ । त्यति मात्र होइन, काठमाडौंलगायत भारत र चीनकै लागि पनि आकर्षक गन्तव्यको रुपमा विकास गर्न सकिन्छ कि भनेर उनी रातै दिन भोक प्यास नभनी लागिपरेका छन् ।  (निशान न्युजको सहयोगमा )

  • चुरे संरक्षणकाे टोलीद्वारा पूर्वकै ठुलो सिमसारको अबलोकन

    चुरे संरक्षणकाे टोलीद्वारा पूर्वकै ठुलो सिमसारको अबलोकन

    केशु विरही, बेलबारी / बेलबारी र सुन्दरहरैचा नगरपालिकाकाे सिमानामा निर्माण भैरहेकाे पर्यटकीय पाेखरी “बासुकी” वाटर रिचार्ज सेन्टरकाे राष्ट्रप्रति चुरे तराई मधेष संरक्षण समितिकाे केन्द्रीय कार्यलयबाट सदश्य सचिव हेमलाल अर्यालकाे नेतृत्वमा अाएकाे केन्द्रीय टाेलीले स्थलगत भ्रमण गरी  पछिल्लाे अवस्थाकाे वारेमा जानकारी लिएकाे छ ।

    साे टाेलीमा विभागका उपसचिव श्रीप्रसाद बराल, वाेर्ड सदश्य दिपा प्रधान अादिकाे सहभागिता रहेकाे थियाे ।

    राष्ट्रप्रति चुरेकाे ७२ लाख वागदेवदी र सुकुना सामुदनयिक वनकाे १५ लाख गरि जम्मा८७ लाखमा पर्यटकीय पाेखरी निर्माण भैरहेकाे छ ।

    बेलबारी नगरपालिका वार्ड नं २ र सुन्दरहरैचा नगरपालिका वार्ड नं १० काे सिमानामा निर्माण भैरहेकाे साे पर्यटकीय पाेखरीकाे लागि रकम अपुग हुने भए पछि  बेलवारी र सुन्दरहरैचा नगरपालिकाले ५/५ लाख उपलव्ध गराउने भएका छन् ।

    पाेखरीकाे स्थलगत भ्रमण पछि राष्ट्रपति चुरे तराई मधेष विकास समितिका सदश्य सचिव हेमलाल अर्यालले यस्ता पाेखरीले पर्यावरणकाे संरक्षण मात्र नगरेर स्थानीस्तरमा राेजगारकाे पनि सिर्जना गर्ने वताए ।

    साथै पर्टकीय पाेखरीकाे प्रवर्धनमा चुरेकाे भूमेका कस्ताे रहनेछ भन्ने प्रश्नमा विभागका उपसचिव श्रीप्रसाद बरालले बासुकीकाे प्रवर्धनका लागि चुरेकाे मात्र भर पर्नु नहुने, अव स्थानीय निकायले यसकाे जिम्मा लिनु पर्ने अासय व्यक्त गरे ।

    भ्रमणमा अाएकाे टिमलाई बासुकी परियाेजना उपभाेक्ता समितिका अध्यक्ष रामकुमार मास्के, सचिव फडिन्द्र थापा तथा प्राविधिक परामर्शदाता नागेन्द्र झाले कामकाे वारेमा जानकारी गराएका थिए ।  पूर्वकै वहुप्रतिष्ठित रुपमा लिईएकाे पर्यटकीय पाेखरी “बासुकी” परियाेजनाकाे वाँधकाे निर्माणको  कार्य अन्तिम चरणमा पुगेकाे छ ।

  • बेतना सिमसारको २० बर्षेे गुरुयोजना सार्वजनिक

    बेतना सिमसारको २० बर्षेे गुरुयोजना सार्वजनिक

    पूर्वी मोरङको बेलबारी स्थित प्रमुख पर्यटकीय गन्तब्य वेतना सिमसारको स्तरोन्नतिका लागि ४८ करोड रुपियाँको वृहत गुरूयोजना तयार गरिएको छ ।वेतना सिमसार सामुुदायिक वन उपभोक्ता समूहले २० वर्षे गुुरू योजना तयार गरी सार्वजनिक गरेको हो ।
    गुरूयोजनामा सिमसार परिसरमा संरक्षित पशु पंक्षीका लागि ब्यवस्थित चिडिया घर निर्माण गर्ने घडियाल प्रजनन केन्द्र स्थापना र आर्किड गार्डेन निर्माण गर्ने उल्लेख छ । यस्तै योजना हार्वाेरियन तयारी व्यवस्थापन,पोखरी तथा चिल्ड्रेन पार्क , बनभोज स्थल निर्माण गर्ने उल्लेख छ ।

    यसैगरी राजमार्गको दक्षिणक्षेत्रमा समेत सिमसार विस्तारगरी कछुुवा प्रजनन केन्द्र, चरागुुड निमार्ण, क्यानल निर्माण र भुुमिगत विद्युुत तथा पानी व्यवस्थापनको कामलाई अगाडि बढाइने भएको छ ।
    गुरुयोजनामा पानी संरक्षण गर्ने विभिन्न प्रजातिका वनस्पतिको रोपण, भुुक्षय नियन्त्रण , पानीको मुुहान साथै पुुरातात्विक सम्पदाको संरक्षण गर्ने विषयलाई समेटिएको छ ।मोरङको बेलबारी ४ मा अवस्थित सिमसार १ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सिमसारको ७७ प्रतिशत भाग वाँझोपर्ति , १३ प्रतिशत भाग हिलो दलदल तथा ९ दशमलव ४८ प्रतिशत भाग जलासययुक्त पानीले ढाकेको छ ।
    २०७२ सालमा सामुुदायिक वनलाई सिमसार हस्तान्तरण गरिएको थियो । गतवर्ष २ लाख ३ हजार ५ सय आन्तरिक तथा वाह्य पर्यटक सिमसार घुुम्न आएको वेतना सिमसार सामुुदायिक वनका अध्यक्ष डम्वर वस्नेतले बताउनु भयो । पर्यटकबाट प्रवेश शुल्क वापत गतवर्ष १ करोड ११ लाख रुपियाँ संकलन भएको कोषाध्यक्ष कमल कोइरालाले बताउनु भयो । दैनिक साढे ५ सय पर्यटक आउने कोइरालाले बताउनु भयो । उहाँले नयाँ वर्ष जस्ता विशेष दिनमा ८ हजार ३ सय जना सम्म पर्यटकहरु आएको बताउनु भयो ।

    गुरुयोजना निर्माण मस्यौदा परामर्शदाता केशव अर्यालका अनुसार संरक्षित सिमसार क्षेत्रलाई ३ भागमा वर्गीकरण गरी उचित व्यवस्थापन गर्ने योजना छ । कुल १७४ दशमलव ९१ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार पूर्ण संरक्षित क्षेत्र रहनेछ ।

    त्यस क्षेत्रमा संरचना निर्माण गर्न नदिने समेत गुरुयोजनामा उल्लेख गरिएको छ ।कछुवाको साथै घोडियाल गोहीको प्रजनन केन्द्र स्थापना गर्ने लक्ष्य पनि गुरुयोजनाले लिएको छ ।

    केन्द्र तथा प्रदेशको मन्त्रालय , सरोकारवाला सरकारी कार्यालय , सिमसार विज्ञ तथा स्थानीय तहका प्रमुुख र सर्वसाधारणहरुसँग समेत छलफल अगाडि वढाएको अध्यक्ष वस्नेतले वताउनुुभयो । छलफल कार्यक्रमा वेलवारी नगरपालिकाका प्रमुुख ज्ञानेन्द्र सुवेदीले सिमसारको विस्तार एवं व्यवस्थितगर्न नगरपालिकाको सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको बस्नेतको भनाई छ ।

    सिमसारमा ५८ प्रजातकिा चरा, ४ प्रकारका लोपोन्मुख पशु , ४ प्रकारका कछुवा र १० प्रकारका माछा रहेका छन । सिमसारमा नौका बिहारका लागि ढुंगाको समेत ब्यवस्था गरिएको छ ।

  • २७ करोड खर्चेर बनाइएको होटललाई खर्च धान्न पनि धौधौ

    २७ करोड खर्चेर बनाइएको होटललाई खर्च धान्न पनि धौधौ

    करिबन २७ करोड खर्चेर थ्रीस्टार होटेलको स्तर, मापदण्ड र आधार  पुर्याइकन धनकुटा हिलेको चुच्चे डांडामा खोलिएको पुर्वी पहाडकै ठुलो र सुबिधासम्पन्न एउटा  होटल पर्यटकको कमीले खर्च बर्च धान्नै धौ धौ अबस्थामा पुगेको छ ।

    धनकुटा मुगाका थापाकाजीकै खलक प्रहरीका पुर्व एसएसपी तथा बिराटनगरस्थित रत्ना होटलका साहु रेवत बहादुर थापाले खोलेको होराइजन माउन्टेन होटलको त्यस्तो अबस्था भएको हो । फाट्टफुट्ट बिदेशी पर्यटक  आइपुग्ने यस होटलमा हाल मासिक सरदर दुई तीन सय मानिसहरु मात्रै बास बस्न आइपुग्ने गरेका छन् ।

    नेपाली सेनाको हिले बाहिनीसंगै जोडिएको होटल जम्मा ४९ रोपनी जग्गा जमीनको कम्पाउण्डमा अबस्थित छ । त्यस  होटलमा ३७ वटा कोठाहरु छन् , जसमा एकैपटक ७५ जनासम्म आगन्तुक बस्न सक्छन् । हेलिकप्टरमा आउनेहरूको लागि हेलिप्याड पनि छ । आफ्नै तरकारी खेती भएकोले होटलका लागि चाहिने अर्गानिक सागसब्जी त्यहीँबाट परिपुर्ति हुन्छ । त्यस्तै गाइ र भैंसी पालन समेत गरिएकोले दूध पनि बाहिरबाट किनिरहनु पर्दैन । होटलको कम्पाउण्डभित्र नै आकर्षक चिया बगान र आकर्षक बगैंचा पनि छ ।

    त्यतिमात्र होइन, पर्यटन बोर्डका पुर्व सदस्य समेत रहेका थापाकाजीको होटलबाट कन्चनजङा, मकालु, सगरमाथा जस्ता धेरै हिमाल र हिमश्रीङ्खला अनि संखुवासभा, भोजपुर, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर, खोटाङ, सोलु , ओखलढुंगा र तराईका केही भागको समेत दृश्यावलोकन गर्न सकिन्छ । ठण्डा ठण्डा र कुल कुल मौसममा रम्न सकिने होटलमा दुइ दर्जनले रोजगारी पाएका छन् । भविष्यमा बिराटनगरमा रहेको रत्ना होटलमा बस्ने पर्यटकलाइ प्याकेज बनाएर हिलेको होराइजन होटलमा पनि ल्याउने संचालक थापाको योजना छ ।

    आफु पर्यटन बोर्डमा हुँदा बिराटनगरलाई अन्तरास्ट्रिय बिमानस्थल बनाइ पुर्वी नेपाललाई पर्यटन केन्द्र बनाउन विभिन्न योजना अघि  सारेको तर सरकारले बेवास्ता गरेको बताउने होटल संचालक रेवत बहादुर थापा धनकुटामा बिमानस्थल बन्न लागेकोमा आशावादी छन् तर अन्तर्राष्ट्रिय बिमानस्थल सहित पुर्वमा ट्रेकिङ मार्ग बनाइ त्यसको  प्रबर्द्धन गर्न सकेमा मात्र पर्यटन र होटल ब्यबशाय राम्रोसँग फस्टाउने थापा बताउँछन् । – अम्बिका भण्डारी

  • चुरे फेदीको किनारबाट पनि बन्नेभो पुर्व पश्चिम जोड्ने अर्को राजमार्ग 

    चुरे फेदीको किनारबाट पनि बन्नेभो पुर्व पश्चिम जोड्ने अर्को राजमार्ग 

    चुरे मार्ग सरोकार समितिले लामो सयमदेखि उठाउदै आएको माग बमोजिम ओली सरकारले चुरे फेदीबाट अर्को राजमार्ग  निर्माण  गर्ने भएको छ ।

    झापाको शान्तिनगरबाट मोरङको मधुमल्ला, लेटाङ, केराबारी हुँदै सुनसरीको धरानबाट उदयपुर, सिन्धुली, हेटौंडा हुँदै महाकालीसम्म पुग्ने चुरे फेदी मार्ग निर्माण हुने भएको छ ।

    उक्त मार्गको नाम मदन भण्डारी राजमार्ग राख्ने गरी जेठ ६ गते अर्थात आईतबार साँझ बसेको मन्त्रीपरिसद बैठकले करिव १२ सय किमी लामो सडक निर्माणका लागि भौतिक मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको हो ।

    इलामका वृहस्पति खतिवडाको संयोजनमा काठमाण्डौ पुगेर दुई महिना अघि प्रधानमन्त्रि केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रि झलनाथ खनाल, संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ र अर्थ मन्त्रि डा. युवराज खतिवडालाई भेटी चुरे मार्ग निर्माणका लागि बजेट विनियोजन गर्न दवाव दिएको थियो । सुनसरी क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य जयकुमार राईको नेतृत्वमा विभिन्न मन्त्रालय तथा नेताहरुसँग बजेट पार्न दवाव दिइएको थियो । पुुुर्वका ६ जिल्लाका स्थानीयले चुरे मार्ग सरोकार समिति बनाएर हेटौडा–धरान मार्गलाई इलामसम्म जोड्न दवाव दिदै आएका थिए ।

    चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्ने उक्त सडक निर्माणका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयले एक साता अघि प्रस्ताव लगेको थियो । सोही प्रस्ताव अनुरुप मन्त्रिपरिषदेले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधी राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

    प्रस्तावित मदन भण्डारी राजमार्ग झापाको शान्तिनगरबाट सुरु भइ मोरङको मधुमल्ला, लेटाङ, केराबारी हुँदै सुनसरीको धरानबाट, चतरा, गाइघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, रिडी, तम्घास, शिमलटारी, प्युठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, वीपीनगर, सहजपुर, बुडर, जोगढुवा हुँदै रुपालसम्म पुग्ने बताइएको छ ।
    यो राजमार्ग निर्माण भएसँगै पूर्व  पश्चिम राजमार्गको विकल्प तयार हुनेछ । पूर्वपश्चिम राजमार्गमा बन्द–हडताल भएको अवस्थामा विकल्पको रुपमा यो राजमार्गलाई प्रयोग हुनेछ ।

    चुरे फेदी राजमार्गमा पर्ने विभिन्न खण्डका सडकहरु अहिले समेत निर्माणाधिन अवस्थामा छन् । सुनसरीको चतारामा सप्तकोशी नदीमा पुल समेत निर्माण भइसकेको छ । हेटौंडादेखि धरानसम्म ३ सय १८ किमि सडक दुई लेन विस्तार कार्य भईरहेको छ । सोही योजनालाई स्थायीयबवासीले चुरे फेदी हुदै इलामसम्म जोड्न माग गरेका थिए ।
    हेटौडा–धरान सम्मका लागि २०७३ मंसिरमा ठेक्का लागेको  थियाे । भौतिक पूर्वधार तथा यातायात मन्त्रलाय अन्तर्गत सडक विभागका इन्जीनियर कविश तण्डुकारका अनुसार २० प्रतिशत काम भईसकेको छ । पूर्वलाई जोड्न धरान र चतरा विचकोे सेउतीमा पुल निर्माण  निर्माण भईरहेको छ ।

    आव २०७५/०७६ को बजेटमा सरकारले  मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ५० रुपैयाँ विनियोजन गरेको छ ।