२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

ओलीले भनेको सांच्चै रहेछ, बिराटनगरमा सयवटा घरका चुला चुलामा पुग्यो बायोग्यास

Author Uttari Morang
मंगलबार, भाद्र ०५, २०७५
ओलीले भनेको सांच्चै रहेछ, बिराटनगरमा सयवटा  घरका चुला चुलामा पुग्यो बायोग्यास

विराटनगर महानगरपालिका–१४ का स्थानीयको घरघरमा पाइपमार्फत वायो ग्याँस वितरण  भएको छ ।

सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सयभन्दा बढी गाईको गोबरबाट वायो ग्याँस उत्पादन गर्ने गरी निर्माण गरेको ३ सय घनमिटर क्षमताको ग्याँस प्लाण्टबाट पाइपलाइनमार्फत यहाँका ३२ घरमा वायो ग्याँस पुर्‍याइएको हो । उक्त ग्याँस प्लाण्टको प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार एक कार्यक्रमका बिच उद्घाटन गरे ।

विश्व बैङ्कको सहयोगमा वैकल्पिक ऊर्जा केन्द र विराटनगर महानगरपालिकाको सहयोगमा करीब १ करोड ५० लाख रुपैयाँको लगानीमा श्रीकृष्ण गौशालामा उक्त गोबर ग्याँस प्लाण्ट स्थापना गरिएको छ । पहिलो चरणमा ३२ ओटा घरमा पाइप जडान गरी ग्याँस वितरणको व्यवस्था मिलाइएको र दोस्रो चरणमा थप ४८ घरमा ग्याँस वितरण गरिने बताइएको छ ।

ग्याँसका सिलिण्डर काँधमा बोकेर हिड्नु नपर्ने ओलीको गफ

सो अवसरमा प्रधानमन्त्री ओलीले विराटनगरबाट ग्याँसका सिलिण्डर काँधमा बोकेर हिड्नुपर्ने अवस्था अन्त्य भएको भन्दै मुलुक विकासको दिशातर्फ उन्मुख भएको बताएका छन्  ।

‘३२ घर परिवारले अब काँधमा सिलिण्डर बोकेर कुद्नुपर्ने समस्या हटेको छ,’ प्रधानमन्त्री ओलीले भने । यतिमै मात्र यस्तो प्लाण्ट सिमित नहुने भन्दै प्रधानमन्त्री ओलीले स्याङजा, तनहुँ, कास्कीलगायतका जिल्लाहरुमा समेत ग्याँस प्लाण्टको तयारी भइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले फोहरलाई समस्यामा होइन सम्पतिमा बदलेर विभिन्न फाइदा लिनुपर्ने बताए ।

कार्यक्रममा उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले प्रधानमन्त्री ओलीको जनताको घरघरमा पाइपलाइनबाट ग्याँस पुर्‍याउने सपना साकार भएको बताए । उद्घाटन कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि सहभागी थिए ।

करीब दुई हजार किलो गोबरबाट गत साउन २० गतेबाटै ग्याँस उत्पादन शुरु भएको यो प्लाण्टबाट एक सयभन्दा बढी घरलाई पुग्ने गरी वायो ग्याँस उत्पादन गर्न सकिने बताइएको छ । गौशालाभन्दा उत्तरतर्फ एक किलोमिटरसम्मको बस्तीमा रहेका ४८ घरमा दोस्रो चरणमा ग्याँस पुर्‍याउने योजना छ ।