सुरक्षासँगै पर्यटन प्रवर्द्धनमा जुट्यो लेटाङ प्रहरी
Editor
लेटाङ नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय लेटाङ र सावधान युवा समूह लेटाङको सहकार्यमा पर्यटन प्रवर्द्धनात्मक अभियान सञ्चालन गरिएको छ ।
अभियानअन्तर्गत लेटाङ बजार, जाते बजार तथा बुधबारे बजार क्षेत्रका सार्वजनिक स्थानहरूमा लेटाङका पर्यटकीय गन्तव्य समेटिएका होर्डिङ बोर्डहरू राखिएका छन्। बोर्डमार्फत नगरभित्र रहेका प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्वका पर्यटकीय स्थलहरूको पहिचान गराउँदै स्थानीय पर्यटनको विकासमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
होर्डिङ बोर्डमा राजारानी पोखरी, बराहक्षेत्र मन्दिर, अन्तर्राष्ट्रिय शान्ति पार्क, राजारानी क्षेत्रका प्राकृतिक सम्पदा, साग्मा क्षेत्र, सप्तकोशीसरीलगायतका प्राकृतिक भू–दृश्य तथा विभिन्न झरना र वन क्षेत्रजस्ता आकर्षक गन्तव्यहरूका तस्बिर समेटिएका छन्। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक महत्त्व बोकेका यी स्थलहरूको प्रचारप्रसारले लेटाङलाई आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय पर्यटकीय स्थलहरूको जानकारी सर्वसाधारण तथा बाह्य क्षेत्रबाट आउने आगन्तुकसम्म पुर्याउने उद्देश्यले बजारका सार्वजनिक स्थानमा बोर्ड राखिएको हो।
इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर साहका अनुसार प्रहरीको भूमिका शान्ति सुरक्षा कायम गर्ने कार्यमा मात्र सीमित नभई स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धन र सामाजिक विकासमा समेत योगदान पुर्याउने उद्देश्य अभियानले राखेको छ। प्रहरी, युवा समूह र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लेटाङलाई सुरक्षित, सुन्दर र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
सुरक्षा र पर्यटनलाई एकसाथ जोडेर अघि बढाइएको यस अभियानले स्थानीय पर्यटकीय सम्पदाको संरक्षण, प्रचारप्रसार र आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्रको विकाससँगै स्थानीय व्यवसाय, होटल तथा अन्य सेवामूलक गतिविधिले समेत लाभ लिन सक्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने देखिन्छ। लेटाङ नगरपालिकाका विभिन्न पर्यटकीय स्थलको पहिचानलाई व्यापक बनाउँदै पर्यटनमैत्री वातावरण निर्माण गर्न प्रहरी, स्थानीय युवा, समुदाय र सरोकारवाला निकायबीचको सहकार्य महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।



