२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
प्रमुख

बेलबारी क्याम्पसलाई सरकारले दियो चार बिघाभन्दा बढी जग्गा, बन्नेभो आफ्नै भवन

Author Uttari Morang
सोमबार, आषाढ १८, २०७५
बेलबारी क्याम्पसलाई सरकारले दियो चार बिघाभन्दा बढी जग्गा, बन्नेभो आफ्नै भवन

अम्बिका भण्डारी / बिगत १० बर्ष देखि संचालनमा रहेको बेलबारी बहुमुखी क्याम्पसलाई  नेपाल सरकारले चार बिघाभन्दा बढी जग्गा उपलब्ध गराएको छ ।

नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट हालै सो जग्गा उपलब्ध गराइएको हो । सरकारले भोगाधिकारका लागि  उपलब्ध गराएको जग्गा बेलबारी नगरपालिका ३ स्थित पुरानो बेलबारीको सेक्टर बन कार्यालयभन्दा दक्षिणपट्टी छ । क्याम्पसले बिगत पाँच बर्षदेखि रोकेर राखेको जग्गा नै सरकारले उपलब्ध गराएको र मन्त्रीपरिषदको निर्णयपछि भोगाधिकारको लागि कागजात समेत उपलब्ध भइसकेको  बेलबारी क्याम्पस सन्चालक समितिका अध्यक्ष तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

वन मन्त्रालय अन्तरगत वन बिभागको स्वामित्वमा रहदै आएकोमध्ये चार बिघा तीन कठ्ठा सात धुर जग्गा  भोगाधिकारको लागि स्वीकृत भएको सुवेदीले जानकारी दिए । पाँच /छ बर्षअघि स्थानीय स्तरमा सोही जग्गा क्याम्पसले प्रयोग गर्ने सहमति भएको थियो ।  जग्गा भोगाधिकारको अनुमतीका लागि क्याम्पस संचालक समितिले बिगत पाँच बर्षदेखि पहल र ताकेता गर्दै आएको थियोे । यसअघि लामो समयसम्म पनि जग्गाको अनुमती लिन नसकेको भन्दै टीका टिप्पणी समेत हुन थालेको थियोे ।

क्याम्पसको भवन लगायत भौतिक संरचना निर्माणका लागि बेलबारी नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा १ करोड रुपैयाँ बिनियोजन गरेको छ । बिनियोजित बजेटबाट नगरपालिकाकै पहलमा टेण्डर आब्हान गरी ठेक्का लगाएर भवन निर्माणको काम शुरु गराउने  क्याम्पसका अध्यक्ष तथा मेयर सुवेदीले बताए ।
क्याम्पसको भवन निर्माणका  लागि यसअघि मौज्दात ५० लाख मौज्दात रहेको क्याम्पस प्रमुख खगेन्द्र प्रसाद लुइँटेलले जानकारी दिएका छन् । जस अनुसार क्याम्पसको भवन निर्माणका लागि नगरपालिकाले दिएको १ करोड समेत गरी करिब डेढ करोड बजेट भएको छ  ।

क्याम्पसले नगरपालिकाबाट ६० प्रतिशत र अन्य स्रोतबाट ४० प्रतिशत लगानी गरेर क्याम्पसका संरचना बनाउन प्रस्ताव गरेको र त्यस बिषयमा छलफल गरिने मेयर सुवेदीले बताए ।
बेलबारी बहुमुखी क्याम्पसले आर्ट्स, कमर्स, र एजुकेसनको पढाई संचालन गर्ने अनुमती पाइसकेको छ । तर कक्षा कोठा तथा विद्यार्थीको कमी लगायत विभिन्न कारणले हाल कमर्स र एजुकेसनको मात्र पढाई हुंदै आएको क्याम्पस प्रसासनले जनाएको छ । क्याम्पसमा हाल २ सय ९६ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख लुइँटेलले बताए । उनका अनुसार क्याम्पसमा हाल कर्मचारी र प्राध्यापक समेत गरी २३ जना स्टाफ छन् ।

आफ्नै भवन नहुंदा बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक विद्यालयमा क्याम्पस संचालन गरिदै आएको छ । भगवती स्कुलमा बिहान क्याम्पसको पढाई र दिउँसो स्कुलको पढाइ हुने गरेको  छ । बेलबारी बहुमुखी क्याम्पस २०६५ सालमा स्थापना भएको थियोे ।