२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कहिले न्याय पाउलान् संयन्त्र सहकारीको स्थापनाकालका शेयर सदस्यहरुले

Author Uttari Morang
मंगलबार, चैत्र २०, २०७४
कहिले न्याय पाउलान् संयन्त्र सहकारीको स्थापनाकालका शेयर सदस्यहरुले

मोरङ । लामो समयदेखि हिसाबकिताब नदेखाइएको र साधारणसभा समेत नगरिएको कारण  मोरङको बेलबारीस्थित रेडियो बेतनाका करिब डेढ सय जना शेयर सदस्यहरूको लगानी जोखिममा परेको छ ।

रेडियो संचालक समितिको बेबकुवीका कारण दुई बर्षभन्दा लामो  समयदेखि साधारणसभा नहुदा लगानी जोखिममा परेको हो । हाल रेडियो संचालक समितिको  मनोमानी कतिसम्म छ भने हालसम्म रेडियोमा कतिजना शेयर सदस्य छन् भन्ने कुनै रेकर्ड नै छैन । त्यतिमात्र होईन, कतिजना शेयर सदस्य छन् भन्ने कुरा अध्यक्ष बाहेक अरु कुनै पदाधिकारीलाई थाहै छैन । अझ कर्मचारीलाई तलब खुवाउन पैसा नपुगेको भन्दै पुराना  शेयर सदस्यहरुबाट उठाइएको थप १५ हजार रुपैयाँको रेकर्ड समेत कार्यालयमा छैन ।

रेडियो बेतना संयन्त्र सन्चार सहकारीद्वारा संचालित सामुदायिक रेडियो हो । कानुनी रुपले सहकारीको संचालक समिति नै रेडियो संचालक समिति हो । त्यसैले सहकारी र रेडियोको संचालक समिति एउटै छ । संचालक समितिमा बिगत दुई कार्यकाल अर्थात् ६ बर्ष देखि राजकुमार  लिम्बू अध्यक्ष छन् । दोश्रो कार्यकालमा लिम्बू निर्वाचित भएपछि २०७२ साल चैतमा साधारणसभा गरिएपनि त्यसयता साधारणसभा गरिएको छैन । त्यसबेला पनि रेडियोमा ठुलो घाटा देखाइएको थियो । दोस्रो कार्यकाल पनि यस अघि नै सकिइसकेको छ ।

दुई बर्षअघि गरिएको  साधारणसभामा कुल १ सय ६ जना शेयर सदस्यहरुको बिवरण देखाइएको थियोे । तर त्यस समययता शेयर सदस्य  थपेर अध्यक्षले करिब देढ सय पुर्याएको रेडियो संचालक समितिका एक सदस्यले बताए । तर को को शेयर सदस्य थपिएका छन् भन्नेबारे अध्यक्ष लिम्बू बाहेक अरु कसैलाई थाहा नभएको उनले बताए । लामो समयदेखि संचालक समितिको बैठक नबसेको र बसेका बैठकहरुमा पनि अध्यक्षले त्यसबारे जानकारी नदिएको नाम नबताउने सर्तमा ती सदस्यले बताए । रेडियोमा हर हिसाब हेर्न खटाइएका (एकाउन्टेन्ट) कुल प्रसाद बरालले समेत रेडियोमा कति शेयर सदस्य छन् भन्नेबारे आफुलाइ जानकारी नभएको बताउने गरेका छन् । बराल अध्यक्ष राजकुमार लिम्बुका निकट पात्र मानिन्छन् ।

अझ लाजमर्दो कुरा त के भने  संयन्त्र सन्चार सहकारी तथा रेडियो बेतनाको संचालक समितिका  सचिब लीला आचार्यलाई समेत शेयर सदस्यको संख्याबारे थाहा रहेनछ । उनलेे पनि त्यसको जानकारी अध्यक्षलाई मात्र भएको स्वीकार गरे । साधारणसभा कहिले हुन्छ भन्ने प्रश्न गर्दा आचार्यले यकिन गरी भन्न सकेनन् तर  साधारणसभाको आन्तरिक तयारी भइरहेकोले चाडै साधारणसभा हुने दाबी गरे ।

शुरुमा  सय वाट क्षमताको रेडियोलाइ हालकै समितिले ५ सय वाट स्वीकृत गराएर सोही अनुसार सन्चालन गरिरहेको छ । पछिल्लो पटक शेयर थपिएको पनि त्यही प्रयोजनका लागि नै हो । तर थपिएका शेयर सदस्यहरुको रकम कति हो र कतिजना थपिएका छन् भन्नेबारे संचालक समितिको बैठकमा पनि जानकारी गराइएको छैन । यधपी अध्यक्ष राजकुमार लिम्बूले अबको साधारणसभाबाट आफुले रेडियोको नेतृत्व छाड्ने घोषणा गरिसकेका छन् ।

 हुन त अध्यक्ष लिम्बू स्वच्छ छबि भएका मानिन्छन् । उनी लोभीपापी नभएकै कारण सहकारीको न्युनतम ज्ञान नभए पनि  रेडियोको पहिलो कार्यकालमा उनलाइ अध्यक्ष बनाइएको थियो । तर अरुको कुरा सुन्नै नमान्ने , कामको जस एकलै मात्र लिन खोज्ने र गलत मान्छेहरुको प्रभावमा परेर उनीहरूको कुरा मात्र मान्ने बानीका कारण पछिल्लो समय उनको छवि बिग्रदै गएको छ ।  गत स्थानीय तहको चुनावमा काङ्ग्रेसबाट बेलबारी नगरको मेयरका लागि चुनाव लडेका लिम्बुले दुई सय भोटले चुनाव हारेका थिए ।

त्यसो त आफू निकटका  मानिसहरूलाई च्याप्ने लिम्बुको बानीको कारण समेत पछिल्लो समय रेडियो धराशायी बन्दै गएको छ । तीन बर्ष अघि केही कर्मचारीले रेडियोमा ठुलो हिनामिना र फटाइ गरेपनि तीनीहरुको फटाइ गुपचुप पार्ने कोशिश गरिएको थियो । दबाब झेल्न नसकेपछि ती कर्मचारीलाई रेडियोबाट निकालिएपनि हिनामिना भएको रकम त्यत्तिकै गुपचुप पारिएको थियो । त्यस यता रेडियोमा स्टेसन म्यानेजर समेत छैन । केही कर्मचारीकै भरमा रेडियो चल्दै आएको छ ।

हालसम्म सहकारी स्थापना कालदेखिका कुनै शेयर सदस्यले शेयर प्रमाणपत्र समेत पाएका छैनन् । सहकारीद्वारा संचालित रेडियो भएपनि न चारखाता बनाइएको छ, न त ब्यबस्थित लेखा प्रणाली नै छ ।

अर्कोतिर रेडियोको माउ संस्था संयन्त्र सन्चार सहकारी संस्था लि. को स्थापना गर्ने शेयर सदस्यहरु आफुहरुलाइ पछिल्लो सन्चालक समितिले  अन्याय गरेको भन्दै बिगतदेखि नै आन्दोलित छन् । पटक पटक रेडियोको सन्चालक समितिलाई ज्ञापनपत्र बुझाउदा र छलफलका लागि आग्रह गर्दा पनि  अध्यक्ष राजकुमार लिम्बुले सुनुवाइ गर्न इन्कार गरेको आरोप उनीहरूले लगाउदै आएका छन् ।

सहकारीका करिब ३५ जना संस्थापक शेयर सदस्यमध्ये  आधाजसोको हाल शेयर कायम भएपनि अरुलाइ शेयरको रकम थपका लागि जानकारी पनि  नगराइएको, शेयरको रकम फिर्ता पनि नदिइएको र शेयर सदस्यबाट बन्चित गराइ साधारणसभामा पनि नबोलाइने गरिएको संयन्त्र सन्चार सहकारीका पुर्व अध्यक्ष तथा पुर्व सांसद नरेन्द्र बस्नेतले बताए ।

केही महिनाअघि सहकारीका संस्थापक शेयर लसदस्य तथा पुर्व पदाधिकारीहरुले रेडियोको पछिल्लो संचालक समिति समक्ष ७ बुदे ज्ञापनपत्र पनि बुझाएका थिए । सोही समयताका उनीहरूले संचालक समितिले सुनुवाइ नगरेको भन्दै डिभिजन सहकारी कार्यालय मोरङमा उजुरी पनि दिएका थिए । डिभिजन सहकारीले पटक पटक फोनबाट छलफल गरी विवाद मिलाउन निर्देशन दिदा पनि संचालक समितिले अटेर गरेपछि लिखित पत्राचार समेत गरेको थियो । तर सहकारी डिभिजनको त्यो निर्देशनको अवज्ञा गरिदै आएको छ ।