२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बिराटचोकको सुन पसलमा पेस्तोल देखाएर दिउँसै डकैती, ठाउँको ठाउँ पक्राउ पर्यो एक्लो लुटेरा

Author Uttari Morang
शुक्रबार, भाद्र १५, २०७५
बिराटचोकको सुन पसलमा पेस्तोल देखाएर दिउँसै डकैती, ठाउँको ठाउँ पक्राउ पर्यो एक्लो लुटेरा

बेलबारी, मोरङ । पेस्तोल लिएर आएको एक लुटेराले मोरङको विराटचोकमा शुक्रवार दिउँसै लुटपाट गरेको छ । तर स्थानीयबासी र प्रहरीको सतर्कताका कारण सुन लुटेर भाग्दै गरेको लुटेरा ठाउँको ठाउँ पक्राउ परेको छ ।

मध्य दिनमा करिब ११ बजेतिर सुन्दरहरैंचा १० विराटचोकमा अबस्थित छत्रबहादुर न्यौपानेले संचालन गर्दै आएको थापा सुनचाँदी पसलमा मास्क लगाएर आएको लुुुटेराले पेस्तोल देखाउँदै ब्रासलेट लुटेर पैदल भागेको थियो ।  सुन पसलमा पेस्तोल देखाउँदै ९.७७ ग्रामको ब्रासलेट लुटेर भाग्दै गर्दा स्थानीयहरुको सहयोगमा प्रहरीले करिब एक किलोमीटर लखेटेर पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राइले बताए ।

प्रहरी निरीक्षक राइका अनुसार घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीबाट राइकै नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । लगत्तै  प्रहरीले लुटेरालाई पक्रेर नियन्त्रणमा लिएको थियो  । पक्राउ पर्ने लुटेरा भोजपुर दिङ्ला २ घर भई हाल धरानमा बस्दै आएको रोशन भनिने गोपाल दाहाल (वि.क.) भएको प्रहरी निरीक्षक राईले बताए ।

पक्राउ परेका विकबाट प्रहरीले  दुइवटा गोली लोड गरिएको  ७.६ एमएमको  एक थान स्वचालित पेस्तोल र ब्रासलेट बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । – अम्बिका भण्डारीबाट