२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान

Author Uttari Morang
आइतबार, भाद्र ३१, २०७५
ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान

कोही सुकेका रुखको ठुटामा गोत्लिएका त कोही निलो पानीको माछातिर हेरेझैं गरी एकोहोरिएका छन् । वरिपरि हेर्यो भने महिला र पुरुष गरी दर्जनभन्दा बढी भद्रभलाद्मी छन् ,तर सबै आ – आफ्नै सुरमा छन् । न कोही एक अर्कासंग बोल्दै छन् , न त एकले अर्काको वास्ता नै गरेका छन् ।

त्यहाँ  आइपुगेका युवायुवती छक्क पर्दै सोध्छन् -’ यहाँ के भइरहेको छ ? ‘ त्यहीँ छेउमा बसेका कसैले नजिकैको एउटा फ्लास बोर्डतिर इसारा गर्दै कार्यक्रमबारे बताइदिन्छन् । त्यहाँ लेखिएको छ ‘ साहित्य परिक्रमा’ ।

२०७५ भाद्र मसान्तको दिन शनिबार अपरान्ह ३ बजेतिर मोरङ्को बेतना सिमसारमा पुग्दा त्यस्तै दृश्य देखिन्थ्यो । ‘साहित्यकारहरुलाइ लेखन सृजनामा अभ्यास गराउने उद्देश्यले सर्जकका लागि सिर्जना गर्ने विशेष ठाउँ , बिशेष समय र विशेष बिषयबस्तु हुँदैन’ भन्ने नारासहित  बेलबारी साहित्य बिकास समितिले पहिलोपटक आयोजना गरेको ‘साहित्य परिक्रमा’ अभियानको उद्घाटनका दिन सिमसारमा झण्डै दुई दर्जन श्रष्टाहरु त्यसरी भेला भएका थिए । र सबै साहित्यकारहरु घोत्लिनुको कारण थियो – ‘अन द स्पोट लिट्रेचर’ अर्थात ठाउँको ठाउँ रचना र प्रस्तुति ।

हो, त्यसरी एकाएक कुनै पनि बिषय र शिर्षकमा कविता र गजल रचना गरेर शनिबार बेतनामा करिब दुई दर्जन श्रष्टाहरुले साहित्यको नयाँ प्रयोग गरे ।

 साहित्य परिक्रमा कार्यक्रममा साहित्यकारहरु रेखा सुवेदी, कबिन्द्र धिमाल, भक्तशेर लिम्बु , यज्ञराज सुवेदी, तिला लेकाली, शिव छाङ्छा, सोनाली गुरुङ, बादलदेवी चाम्लिङ, गणेश बिक, उमा मानन्धर, राजेन्द्र कार्की, भिमकुमार राई, हिरा खड्का, मिलन राई, सन्देश तामाङ , टेकराज मगर लगायत थुप्रै साहित्यकार हरुले  तत्कालै रचना गरेका कविता र गजल सुनाएका थिए ।

उपस्थित श्रष्टा सोनाली गुरुङले घरमा बसेका बेला फुर्सदमा लेखेर राखिएका रचना ल्याएर बाचन गर्दा भन्दा कार्यक्रम स्थलमै आएर स्वतस्फूर्त रचना गरी त्यहीँ प्रस्तुति गर्दा निकै रमाइलो भएको बताइन् ।

लेखनको खडेरी बढ्दै गएको र बारम्बार पुराना रचना बाचन गर्ने क्रम बढेकाले स्रष्टाहरूलाई तत्काल सृजना गर्न र नयाँ नयाँ रचना बाचन गर्ने बानीको बिकास गराउने उद्देश्यले साहित्य परिक्रमा कार्यक्रम शुरु गरिएको बेलबारी साहित्य बिकास समिति अध्यक्ष रेखा सुवेदीले बताइन् । उनका अनुसार अबदेखि  हरेक १५ दिनमा एकपटक बेलबारी लगायत विभिन्न ठाउँका पर्यटकीय स्थल वा धार्मिक र एेतिहासिक महत्त्व बोकेका ठाउँमा साहित्यकारहरुको जमघट गराइ रचना बाचन गराइनेछ । प्रतियोगिताका रूपमा नभई अभ्यास र जमघटका रूपमा गराइने साहित्य परिक्रमा सम्भब भएसम्म निरन्तर आयोजना गरिने साहित्य बिकास समितिले जनाएको छ ।