२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कार्यक्रममा बोलाउंदैनन्  संघसंस्था, निम्तोबिना जांदैनन पत्रकार पनि

Author Uttari Morang
आइतबार, आश्विन ०७, २०७५
कार्यक्रममा बोलाउंदैनन्  संघसंस्था, निम्तोबिना जांदैनन पत्रकार पनि

अम्बिका भण्डारी

केहि महिना अघि मोरङ बेलबारीमा खासगरी साहित्यकारहरुको एउटा ठुलै जमघट थियो । देशभरबाट प्रतिष्ठित र परिचित स्रष्टाहरु भेला पनि भएका थिए । तर त्यस जमघटमा धेरै स्थानीय सन्चारकर्मीहरुले निमन्त्रणा नै पाएनन् । आयोजकको भनाइलाई आधार मान्ने हो भने निम्तो दिन जिम्मेवारी पाएका ब्यक्तिले हेलचेक्र्याइं गरेका कारण त्यस्तो भएको थियो । तर कारण जे भएपनि निमन्त्रणा नपाएपछि त्यस साहित्यिक महोत्सवमा कोही सञ्चारकर्मी नगएको हुनाले एक दुईवटा मिडियामा बाहेक समाचार नै आएन । आयोजकले पछि त्यस बिषयमा आत्मालोचना पनि नगरेका त होइनन् तर त्यसले मिडियामा जति स्थान पाउनुपर्ने थियो, त्यो नपाउंदा आयोजकले केही खल्लो महसुस गरे ।

त्यसैगरी केही दिन अघि सम्पन्न भएको दोस्रो बुद्द एयर डांगीहाट फुटबल प्रतियोगिता गर्ने बारे शुरुमा गरिएको पत्रकार सम्मेलनमा पनि स्थानीय क्षेत्रमा रहेर पत्रकारितामा कृयाशील  निकैजना सञ्चारकर्मीलाइ बोलाइएन । आयोजकले सञ्चार बिभागका एक दुई जना सञ्चारकर्मीलाइ नै त्यसको जिम्मेवारी दिएको रहेछ । त्यस बिषयमा निकै आलोचना भएपछि आयोजकले नैतिक जिम्मेवारी लिदै कमी कमजोरी स्विकारेपछि खेल संचालन भएको अबधिमा सबै सञ्चारकर्मीले सक्रियतापुर्वक रिपोर्टिङ गरे ।

हुन त कसलाई बोलाउने र कसलाई नबोलाउने भन्ने कुरा आयोजकको कुरा हो । कुनै संघ संस्थाले मिडियाको महत्त्व नबुझेर कुनै पत्रकारलाई नबोलाइ कार्यक्रम गर्छौ भन्छन् र गोप्यरुपमै कार्यक्रम गर्छन् भने त्यो उनीहरूकै कुरा होला तर पछिल्लो समय संकट र आपत बिपत पर्दा पत्रकार खोज्ने तर सार्वजनिक कार्यक्रम हुंदा मतलब नगर्ने प्रचलन बढ्दो छ ।

गत हप्ता बेलबारी २ स्थित रमिते सामुदायिक वनको साधारणसभामा पनि छानी छानी पत्रकार बोलाइयो । सामुदायिक वन र रमिते पर्यटकीय क्षेत्रको बारेमा बारम्बार समाचार लेख्ने पत्रकार पनि निम्तो नपाउनेमा परेका थिए । गत बर्ष पनि त्यस्तै भेदभाव गरेको सामुदायिक वनका पदाधिकारीले नियतबस नभई भुलबस कतिपय पत्रकारलाई निम्तो गर्न छुटेको बताए ।

शनिबार बेलबारी २ मा अबस्थित गोल्डेन फ्युचर सहकारी र बेलबारी ३ को बेलीपुष्प सहकारीको साधारणसभामा पनि एक दुई जना पत्रकारलाई मात्रै बोलाइयो, अरुलाइ बोलाइएन । त्यसैले ती संस्थाको साधारणसभाले मिडियामा स्थान पाएन ।

यी त केही उदाहरण मात्र हुन् । कुनै कार्यक्रममा पत्रकार बोलाउनुपर्छ भन्ने भन्दा पनि पत्रकार खोज्दै आउँछन् भन्ने मानसिकता अझै पनि विभिन्न संघ संस्था र मानिसहरुमा ब्याप्त छ । तर मकालु टेलिभिजन तथा संयन्त्र डटकममा आबद्द पत्रकार केशु विरही भन्छन् ” पत्रकार राष्ट्रका चाैथाे अङ्ग हुन् ।  याे गरिमामय पेसा हाे । यसकाे महत्व समाजले वुझ्न नसकेकाे अवस्था छ । अर्थात हामीले वुझाउन नसकेकाे पनि हुन सक्छ । त्यसाे वुझ्नेले पनि वुझपचाएका पनि हुन सक्छन् । केही मानिसमा पत्रकारहरुकाे काम भनेकाे कहाँ के के कार्यक्रम छ भनेर खोज्दै हिड्ने हाेकि भन्ने भान छ । सबैले याे वुझ्नु जरुरि छ कि पत्रकार भनेका काम नपाएर काम खाेज्दै हिड्ने बेगारी होइनन् ।  खासगरी औपचारिक कार्यक्रमहरुमा नबोलाएको ठाउँमा पत्रकार जानैपर्छ भन्ने छैन । त्यस्ता अाैपचारिक कार्यक्रममा त मिडियालाई ल्याउने जिम्मा अायाेजककै हाे ।”

साहित्यकार समेत रहेका विरही धेरैजसाे कार्यक्रममा खवर नै नगर्ने खवर गरेकाे कार्यक्रममा पनि उपेक्षाकाे गर्ने गरेकाे वताउँछन् । तर सुरुसुरुमा साथीहरुले भुले हाेलान्, सत्यतथ्यकुरालाई बाहिर ल्याउने मिडियाकाे दायित्व हाे भने जाने गरेकाे तर पछिल्ला समयमा भने अामन्त्रण नगरेका कार्यक्रमलाई अाफूले बहिष्कार गर्ने गरेको उनी बताउँछन् । साथै उनी वेलामा जानकारी नगर्ने कार्यक्रम सुरु भएपछि फाेन गरेर बाेलाउने परम्पराकाे पनि विराेध गर्छन् । उनी यसलाई अायाेजककाे अपरिपक्वता वा असक्षमता हाे भन्न रुचाउछन ।

त्यसो त बेलबारीमा मात्र होइन, सुन्दर हरैचा क्षेत्रमा पनि  सञ्चारकर्मीहरुको खोजी गर्ने र सम्पर्क गर्ने चलन झन् कम छ । गत बर्ष सुन्दरहरैचाका विभिन्न स्थानमा बनाइने  अत्याधुनिक शौचालयको शिलान्यास गर्दा होस वा बिराटचोकमा कर कार्यालय उद्घाटन गर्ने कार्यक्रममा अथवा नगरपालिकाको नगरसभामा नै  बेलबारीमा रहेर कृयाशील झण्डै एक दर्जन सञ्चारकर्मीले निमन्त्रणा पाएनन् । त्यहां अरु धेरैजसो कार्यक्रममा पनि पत्रकारहरुलाइ कार्यक्रमबारे जानकारी दिनुपर्छ भन्ने सोच रहेकोे पाइदैन । बिराटचोकमा एक दुई जना बाहेक सक्रिय र परिचित पत्रकार छैनन् ।