२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

झापाका यी सासू ससुरा, जसले आफ्नै बुहारीलाई छोरी बनाएर अन्माए

Author Uttari Morang
बुधबार, मंसिर २६, २०७५
झापाका यी सासू ससुरा, जसले आफ्नै बुहारीलाई छोरी बनाएर अन्माए

झापाको शिवसताक्षी नगरपालिका-११ का एक  दम्पत्तिले आफ्नै बुहारीलाई छोरी मानेर अन्माएका छन् । 

छोराको मृत्यु भएको चार वर्षसम्म एकल जीवन बिताएकी बुहारी अनुशालाई झापाकै माइधामस्थित मन्दिरमा सोमबार ससुरा खिलबहादुर र सासु भगिमाया रोक्काले बाबू र आमा बनेर हिन्दु संस्कार अनुसार मोरङ हसन्दहका गोविन्द अधिकारीसंंग बिवाह गरिदिएका हुन् ।

कलेजोको क्यान्सरका कारण अनुशाका श्रीमान् टिकाको चार वर्षअघि मृत्यु भएको थियो। उनको चार वर्षको छोरा समेत छ। ०६९ सालमा अनुशालाई रोक्का दम्पत्तिले झापाको बनियानीबाट बुहारी बनाएर ल्याएका थिए।

उता वैदेशिक रोजगारमा हुँदा श्रीमतीले दोस्रो विवाह गरेपछि गोविन्द पनि एकल भएका थिए। उनको पनि छ वर्षको छोरो छ ।

शुरुमा गोविन्द नै अनुशालाई माग्न आएका थिए । कन्यार्थु माग्न आएपछि अनुसालाइ सासू ससुराले सोधेका थिए । पहिले त अनुसा अन्कनाइन् । तर सम्झाइ बुझाइ गरेपछि  छोरीकै रुपमा विवाह गरिदिने र राम्रो परिवार हो भने हुन्छ भनी सहमति  दिइन् ।

कलिलै उमेरमा भविष्य बर्बाद पार्नु हुँदैन भनेर माइती पक्षको सल्लाहमा विवाह गरिदिएको ससुरा खिलबहादुरले बताए। बुहारीलाई बेहुली बनाएर जग्गेमा राखेदेखि ससुरा खिलबहादुर पटक-पटक भक्कानिएका थिए । अनुशा जस्ती इमान्दार र भद्र स्वभावकी बुहारी बंशमा नै नआउने दाबी गर्दै खिलबहादुरले २४ वर्षमै दैवले छोरा चुढेर लगेपछि  एक्लिएकी बुहारीलाई छोरी बनाएर भविष्य खोजिदिएको बताए ।  बेहुला गोविन्दले पनि परिवारको सल्लाह अनुसार अनुशालाई नवदुलहीको रुपमा भित्र्याएको बताए ।

फेसबुकमा गोविन्दले अनुशाको तस्बिर हेरेका थिए। तर कुराकानी र भेटघाट भएको थिएन । विवाहको कुरा चल्ने क्रममा अनुशाले सासु-ससुरालाई तपाईंहरूले हेरेपछि मैले हेर्नु पर्दैन भनेपछि देेेखादेेेख पनि नभइ उनीहरूको बिवाह भएको थियो ।