२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

चरम बिवादमा फस्यो टंकी जेसिज , विधिको शासन मान्छौं भन्नेहरुबाटै अदालतको बेवास्ता

Author Uttari Morang
बिहिबार, मंसिर २७, २०७५
चरम बिवादमा फस्यो टंकी जेसिज , विधिको शासन मान्छौं भन्नेहरुबाटै अदालतको बेवास्ता

विराटनगर / विधिको शासनलाई स्वीकार गर्छौं भन्नेहरुबाटै नेपाल जेसिजमा विधानको उल्लंघन र अदालतको समेत बेवास्ता भएपछी राष्ट्रिय महाधिवेशनको पदाधिकारी विवाद उत्कर्षमा पुगेको छ।

संस्थाको विधान विपरीत कार्य गरेको भनी उच्च अदालत विराटनगरमा मुद्दा खेपिरहेका टंकीसिनिवारी जेसिजका पदाधिकारीहरुद्वारा नै राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि तथा उम्मेद्वार नै छनोट गरिएपछि उक्त विवाद चुलिएको हो ।टंकीसिनिवारी जेसिजकी अध्यक्ष सुप्रभा “निराशी” न्यौपाने  जापान गएको बेला उनको अनुपस्थितिमा बसेको पदाधिकारीहरुको बैठकले अवैधानिक ढङ्गले प्रदिप बराललाई अध्यक्ष चयन गरेको र माइन्युटसमेत किर्ते गरेको भन्दै टंकी जेसिजकी पूर्वअध्यक्ष तथा पूर्व केन्द्रीय कार्यकारिणी उपाध्यक्ष रीता न्यौपाने, वर्तमान उपाध्यक्ष निराजन कार्की र सदस्य लक्ष्मी भण्डारीले उच्च अदालत विराटनगरमा गत असोज १२ गते मुद्दा दायर गरेका छन् ।

आफ्नो अनुपस्थितिमा संस्थाको विधान विपरित कार्य गरेको भनी अध्यक्ष न्यौपानेले समेत सोही किसिमको अर्को मुद्दा पनि  दायर गरेकी छिन् । मुद्दामा टंकी जेसिजका पूर्व अध्यक्षहरु सुबोध कोइराला र सोमराज काफ्लेसहित सम्पुर्ण पदाधिकारीहरु र त्यसलाई मान्यता दिने नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष विकास मानन्धर र  केन्द्रिय उपाध्यक्ष अमिश ढकालसमेतलाई विपक्षी बनाइएको छ ।

आगामी पुस ७ देखि ११ गतेसम्म जनकपुरमा हुन गइरहेको नेपाल जेसिजको ४५ औँ महाधिवेशनका लागि टंकी जेसिजको पदाधिकारीहरुको बैठकले मन्जरी घिमिरेलाई कार्यकारिणी उपाध्यक्ष पदको उम्मेद्वारका लागि सिफारिस गरेको छ ।

उक्त मुद्दाकै कारण विवादित बनेका कार्यकारिणी उपाध्यक्ष विकास मानन्धरलाई नै आशन्न महाधिवेशनको लागि अध्यक्ष र बिवादित अमिश ढकाललाई कार्यकारिणी उपाध्यक्ष पदको उम्मेद्वार बनाइएको छ।

नेपाल जेसिजले मङ्सिर २६ गतेदेखि उम्मेद्वारहरुका लागि अभिमुखिकरण तालिम समेत सुरु गरेको छ। विवादकै कारण विकास मानन्धर भने उक्त तालिममा गएका छैनन् । समाचार स्रोतका अनुसार उनले आफ्नो उम्मेद्वारी पनि फिर्ता लिएका छन् ।

जेसिजमा १ वर्ष ,१ व्यक्ति र १ पदको व्यवस्था रहेको भएपनि हाल आएर विवादित व्यक्तिहरुको संलग्नतामा विवादित व्यक्तिहरु नै उम्मेद्वार बनाइनुले संस्थाको विधानको मात्र होइन विधिको शासन र कानुनी राज्यको मर्यादा समेत उल्लंघन भएको पूर्वकार्यकारिणी उपाध्यक्ष रीता न्यौपानेले बताइन् । कार्यकारिणी उपाध्यक्ष पदका लागि उम्मेद्वार बनाइएकी मन्जरी घिमिरेले भने आफू हालसम्म कुनै विवादमा नपरेको र बोर्डको बैठकबाटै आफू उम्मेद्वार बनेको दाबी गर्दै आएकी छन् ।

नेतृत्व विकासमा निस्वार्थ ढङ्गले लागिपरेको संस्थामा आपसी समझदारी नहुनु र नेतृत्व प्राप्तिमा यस्तो अस्वस्थ प्रस्तिस्पर्धा देखिनु दुर्भाग्यपूर्ण रहेको टंकीसिनिवारी जेसिजका संस्थापक अध्यक्ष भिम घिमिरेले बताए।