धनकुटाको बिकास र उन्नतिका लागि सहयोग गर्दै अमेरिकामा रहेका धनकुटेलीहरु
Uttari Morang
जहाँ बसे रहे पनि आफ्नो जन्मभूमि सम्झिरहने सन्देश दिदै अमेरिकाका विभिन्न प्रान्तमा बसोबास गर्दै आएका नेपालीहरुले धनकुटाको बिकासका लागि विभिन्न सहयोग गरेका छन् ।
पछिल्लो समयमा उनीहरूले गोकुण्डेश्वर उच्च मावि सञ्चालन गर्नका लागि सहयोग गरेका छन् । स्कुलका लागि धनकुटा बजारमा अबस्थित माथिल्लो गोकुण्डे कोप्चे जन्मेर हाल अमेरिका बस्दै आएका माणिकलाल तथा उनकी श्रीमती राज्यलक्ष्मीले ३५ हजार, उनकै पहलमा धनकिशोर उप्रेतीबाट ५ हजार,प्रेमप्रसाद र मञ्जु संगै्रलाबाट १४ हजार,आनन्द र अञ्जु वास्तोलाबाट ७ हजार, रोन र अनिता पियर्सनबाट १० हजार ५ सय, श्याम र मन्दिरा शर्माबाट १० हजार ५ सय सत्तरी, कविन्द्र र रञ्जिता निरौलाबाट ७ हजार सत्तरी र सुबु र सलिना केसीबाट ७ हजार रुपैयाँ सहयोग आएको छ ।
त्यसैगरी दुर्गा पोख्रेललेबाट सो विद्यालयमा जनजातिका छात्र छात्राका लागि रु १ लाख प्रदान गरेको विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईले बताए ।
त्यसैगरी धनकुटा लेगुवा घर भई अमेरिकामा वस्दै आएका विष्णु खड्काले महालक्ष्मी नगरपालिकाको लाटी भन्ज्याङको नागेश्वर उच्च माध्यमिक विद्यालयको हितमा खर्च गर्ने गरी रु २ लाख १५ हजार रुपैयाँ प्रदान गरेका छन् । विद्यालयका प्रधानाध्यापक दिपक निरौलाले सो जानकारी दिएका छन् ।
त्यसैगरी अमेरिकाको वासिंगटन निवासी सम्झना पोखरेल,जीनारानी र धरती पोखरेलले गत वर्ष धनकुटाको पात्ले खोलाको बागेश्वरी प्राविका विद्यार्थीहरुलाई पोसाक वितरण गरेका थिए । उनीहरूले विश्रान्तिका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण समेत गरेका थिए ।
यसै वर्षमात्र अमेरिकामै अध्ययनरत निकिता मिश्रले धनकुटा आँखा अस्पतालमा आँखाको उपचार गर्न आउँनेहरु मध्ये अपरेसन गर्न खर्चको अभाव हुनेहरुका लागि भनी रु १ लाख ११ हजार रुपैयाँ रामप्रसाद आँखा अस्पताललाई प्रदान गरेको अस्पतालका अध्यक्ष द्रोण गुरागाईँले वताए ।
यसैगरी अमेरिकामै वस्ने गोविन्द वस्नेत,वेलायतमा वस्ने विश्वदीप तिगेला लगायतले पनि धनकुटाका विभिन्न क्षेत्रमा सहयोग पुर्याई आएका छन् ।




