२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

यूएईलाई १४ रनले पराजित गर्दै नेपालले जित्यो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज

Author Uttari Morang
आइतबार, माघ २०, २०७५
यूएईलाई १४ रनले पराजित  गर्दै नेपालले जित्यो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज
 युएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गर्दै २–१ ले सिरिज कब्जा गरेको छ ।

नेपालले दिएको १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ९० रन मात्र बनाएपछि नेपाल १४ रनले विजयी भएको हो ।  नेपालका करण केसी, अविनाश बोहरा र ललितनारायण राजवंशीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाई १ सय ४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा १ छक्का र ४ चौका प्रहार गर्दै २९ रन, सन्दीप जोराले ११ बलमा ३ छक्का प्रहार गर्दै २८ रन र विनोद भण्डारीले १३ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २१ रन बनाए । त्यस्तै करण केसीले ५ बलमा १० रन जोडे ।

नेपालले पहिलो ओभरमै पवन सर्राफलाई गुमाएपछि नेपाल दबाबमा आएको थियो । तर विना रन पहिलो ओभरमा एक विकेट गुमाएको नेपालले २ दशमल ३ बलमा ज्ञानेन्द्र मल्ललाई ११ रनमा गुमाउँदा नेपालको स्कोर १२ रन थियो ।

त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी पनि दुई रनमै आउट भएपछि नेपाल थप दबाबमा पुगेको थियो । तर चौथो विकेटको लागि कप्तान पारस खड्का र सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गरे । पारस र जोराले चौथो विकेटकालागि १४ बलमा ३३ रनको ठोस साझेदारी गरेर नेपालको इनिङ बुनेका थिए ।

पारस खड्का २९ रनमा आउट भएपछि विनोद भण्डारी आए । विनोद र सन्दीपले पाँचौ विकेटका लागि ३७ रनको साझेदारी पारी उकासेका थिए । यूएईका मोहमद नाभेद र आमिर हायतले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच करण केसी भए भने म्इान अफ द सिरिज अविनाश बोहरा घोषित भए ।