२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

पहिलोपटक आफ्नै नगर प्रहरीको ब्यबस्था गर्यो बेलबारी नगरपालिकाले

Author Uttari Morang
बुधबार, फाल्गुण ०१, २०७५
पहिलोपटक आफ्नै नगर प्रहरीको ब्यबस्था गर्यो बेलबारी नगरपालिकाले

बजार ब्यबस्थापन, अनुगमन तथा सडक अतिक्रम लगायतका काममा सहयोग गर्न बेलबारी नगरपालिकाले पहिलोपटक नगर प्रहरीको ब्यबस्था गरेको छ ।

केही बर्षदेखि नगरपालिका भवनपरिसरको सुरक्षाका लागि सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डको मात्रै ब्यबस्था गरेको नगरपालिकाले २०७५ पुसदेखि नगर प्रहरीको समेत ब्यबस्था गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले दिनुभएको जानकारी अनुसार बढ्दो शहरीकरणको ब्यबस्थापनका लागि नगरपालिकाले खुला प्रतिस्पर्धाबाट नगर प्रहरी छनौट गरी करारमा नियुक्त सकेको छ ।

स्थानीय सरकार संचालन एेन २०७४ को दफा ११ (क)    ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले नगर प्रहरी राख्ने निर्णय गरे अनुसार बेरोजगार युवाहरू मध्येबाट चारजना नगरप्रहरीमा छनौट भएका छन्  । नगर प्रहरीका लागि सेक्युरिटी गार्डको जस्तो मापदण्ड नराखी जोसुकैले प्रतिस्पर्धा गर्न पाउने ब्यबस्था गरिएकोले हाल छनौट भएका सबैजना बेरोजगार अबस्थामा रहेका युवा युवती छन् ।

दाहालका अनुसार हाल करारमा रहनेगरी नगरप्रहरीको ब्यबस्था गरिएको छ । हाल दुई महिला र दुई पुरुष गरी ४ जना नगर प्रहरी छन् । उनीहरूले सडक तथा राजमार्ग अतिक्रम भएमा हटाउने, जथाभावी राखिएका फुटपाथ पसल नियन्त्रण गर्ने लगायत बजार अनुगमनमा सहयोग गर्ने तथा दैवीप्रकोप, राहत, उद्वार जस्ता  काममा समेत सहयोग गर्नेछन् । यस अघिदेखि कार्यरत बेतना सेक्युरिटी कम्पनीका सेक्युरिटी गार्डहरु पनि यथावत रहने नगरपालिकाले जनाएको छ । हाल नगरपालिकाको सुरक्षाका लागि तीनजना सेक्युरिटी गार्ड छन् ।

मोरङमा बिराटनगर महानपालिका, सुन्दरहरैंचा नगरपालिका लगायतका स्थानीय तहले यसअघि नै आफ्नै नगरप्रहरी राखिसकेका भएपनि धेरै स्थानीय तहमा आफ्नै नगर प्रहरी छैनन् । उत्तरी मोरङमा आफ्नै नगरप्रहरी राख्नेमा बेलबारी दोस्रो स्थानीय तह भएको बताइएको छ । – अम्बिका भण्डारी