२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

भब्य रूपमा सम्पन्न भएपनि ओझेलमै पर्यो प्रथम केराबारी खेलकुद महोत्सव २०७५

Author Uttari Morang
बुधबार, फाल्गुण ०८, २०७५
भब्य रूपमा सम्पन्न भएपनि ओझेलमै पर्यो प्रथम केराबारी खेलकुद महोत्सव २०७५

दक्ष खेलाडी उत्पादन गर्ने तथा गाउँपालिका स्तरबाट उत्कृष्ट खेलाडी छनौट गर्ने उद्देश्यका साथ खेलकुद बिकास समिति केराबारीको आयोजना र गाउँपालिकाको सहयोगमा भएको नौ दिने प्रथम केराबारी गाउँपालिका स्तरीय खेलकुद महोत्सव २०७५ सम्पन्न भएको छ ।

प्रस्तावित केराबारी रंगशालामा भएको खेलकुद महोत्सवमा पूरूष फूटबल, महिला फुटबल, पुरूष भलिबल, म्याराथुन, अढाई तथा सय मिटर दौड लगायतका खेलमा प्रतिस्पर्धा भएका थिए । माघ २८ गतेदेखि फागुन ७ गतेसम्म आयोजना गरिएको प्रतियोगिता मंगलबार समापन गरिएको छ ।

प्रतियोगिता अन्तरगत पुरुष फुटबल खेलको उपाधि वडा नं.८ हजारविघाले चुमेको छ । फाइनल खेलमा ट्राइबेकरमा वडा नम्बर ६ लाई पराजित गर्दै वडा नं. ८ ले उपाधिमाथि कब्जा जमाएको हो ।
विजेता टिम वडा नम्बर ८ ले नगद ३५ हजारसहित मेडल प्रमाणपत्र र ट्रफि पाएको छ भने उपबिजेता टिमले नगद २५ हजार सहित मेडल ट्रफी  र प्रमाण पत्र पाएको छ । बिजेता तथा उपबिजेता टिमलाई मंगलबार प्रदेश सभाका सांसद उपेन्द्र घिमिरेले पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी महिला फुटबल प्रतियोगितामा वडा नम्बर १ लाई पराजित गर्दै केराबारी वडा नं. ६ बिजेता बनेको छ । बिजेताले  नगद ३५ हजार र उपबिजेता वडा नं. १ ले २५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्र बितरण गरिएको छ ।

त्यसैगरी पुरुष भलिबल अन्र्तगतको फाइनल खेलमा वडा नं.४ लाई पराजित गर्दै वडा नं.५ ले  उपाधी जितेको छ ।
 खेलकुद प्रतियोगिता अन्तरगत महिला तथा पुरुष म्याराथुन प्रतियोगिता पनि गरिएको छ । पुरुष म्याराथुन दौड प्रतियोगिता अन्र्तगत निर्धारित अढाई किलोमिटर दुरीको प्रतियोगितामा ७ मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै अविशेक श्रेष्ठ प्रथम बनेका छन् । प्रतियोगितामा अजय श्रेष्ठ दोश्रो र नरेश लिम्बु तेश्रो भएका छन् । बिजेताहरुले नगद ५ हजार ३ हजार र २ हजार सहित प्रमाण पत्र पाएका छन्  ।

त्यस्तै एक किलोमिटर महिला म्याराथुन दौडमा  सञ्जु तामाङ  प्रथम, पवित्रा राई द्वितीय र लक्ष्मी लिम्बु तृतीय भई क्रमश ३ हजार, २ हजार र १ हजार र प्रमाण पत्र पाएका छन् । पुरुष सय मिटर सर्ट रनिङमा क्रमशः  सुर्य थापा, घनश्याम विक र  नरेश लिम्बू पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
महिलातर्फको  सय मिटर सर्ट रनिङतर्फ  सन्जु तामाङ, आरती मगर र जोशिला लिम्बू प्रथम, द्वितिय र तृतीय बनेका छन् ।

 खेलकुद प्रतियोगिताको अबसरमै वढ्दो महिला हिंसा तथा बलात्कारबाट बचाउने उद्देश्यले केराबारीको विभिन्न विद्यालयमा अध्ययनरत ३५ जना वढी युवतीहरूलाई 
 कुरोदय मार्सल आर्टसले आत्मरक्षा तालिम पनि दिएको थियो ।

समापन कार्यक्रममा प्रशिक्षित युवति तथा किशोरीहरुले कार्यक्रमस्थलमा बलात्कार तथा महिला हिंसा विरुद्ध आत्मरक्षा सम्बन्धि कला समेत प्रर्दशन गरेका थिए ।

 केराबारी खेलकुद विकास समितिको अध्यक्ष तथा  गाउँपालिका उपाध्यक्ष  शान्ति कुमारी लिम्बु भुजेलको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश सभाका माननिय सांसद उपेन्द्र घिमिरेको प्रमुख आतिथ्यता  थियो ।

कार्यक्रममा मिक्लाजुङ गापा उपाध्यक्ष सरला राई, पुर्वान्चल क्षेत्रीय खेलकुद विकास समितीको सदस्य शान्ती पाख्रीन , के आइ एफ कुरोदयको केन्द्रिय कार्यवाहक अध्यक्ष विद्या चाम्लिङ लगायत वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।

 कुल १३ लाख ६५ हजार खर्च लाग्ने पुर्वानुमान गरिएको खेलकुद महोत्सवमा गाउँपालिकाका सबै वडाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।  विभिन्न बिधाका खेलमा छानिएका उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिई राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी हुने अबसर प्रदान गर्ने लक्ष्य रहेको केराबारी खेलकुद विकास समितिको अध्यक्ष तथा  गाउँपालिका उपाध्यक्ष  शान्ति कुमारी लिम्बु (भुजेल) ले बताइन् ।

प्रतियोगिता भब्य रूपमा  सम्पन्न भएपनि आयोजकले एकाध बाहेक स्थानीय क्षेत्रमा रहेका सञ्चारकर्मीलाइ पनि निमन्त्रणा नगर्दा महोत्सवले मिडियामा  त्यति धेरै स्थान पाउन सकेन ।  – अम्बिका भण्डारी

र यो पनि …

केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु