२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

२४ बर्ष पुरानो पुर्वको एउटा स्कुल, जसको एउटा छाप्रो पनि छैन

Author Uttari Morang
आइतबार, फाल्गुण १२, २०७५
२४ बर्ष पुरानो पुर्वको एउटा स्कुल, जसको एउटा छाप्रो पनि छैन

धनबहादुर पुरी

  इटहरी मुख्य चोकको २ सय मिटर पूर्व टेङ्ग्रा खोला छ । बाटोमै विद्यार्थीहरूको हुल चिच्याइचिच्च्याई पढिरहेका हुन्छन् । करिब तीन दर्जनभन्दा बढी विद्यार्थी हुल बा“धेर गुन्द्री ओछ्याएर खोलाको डिलमा पढिरहेका हुन्छन् । सँगै एक जना पाका खिरिलो व्यक्ति मुढामा बसेर ती बालबालिका पढाइरहेका हुन्छन् ।
बाटो हिँड्ने जोकोहीले भन्छन् ‘यहाँ के भइरहेको छ ?’ एकछिन मज्जाले नियालेपछि सहजै अनुमान लगाउँछन् । पीपलको बोटमा एउटा विद्यालयको नाम छ पिपलबोटे खुल्ला विद्यालय इटहरी ६ टेङ्ग्राखोला । विद्यालय नै खोलामा छ ।
त्यही खोलाका किनारमा बिहान जहिल्यै व्यस्त हुन्छन् शिक्षक चन्द्र भण्डारी । उनको दैनिकी विद्यार्थीहरूलाई दिनहुँ पढाउनु हो उनले विद्यार्थीहरूलाई पढाउन थालेको २४ वर्ष पूरा भयो । २०५१ माघ २८ गते पहिलोचोटि पढाउन शुरु गरेको दिन दश जना बालबालिका थिए । अहिले उनले दैनिक ४० जना भन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क दिनहुँ अढाई घण्टा पढाउँदै आएका छन् ।
      २०२४ सालमा धनकुटाको कागतेमा जन्मिएका चन्द्र भण्डारीले आफ्नो उच्च शिक्षा पढ्ने इच्छा अधुरो भएपछि अरूलाई पनि यस्तो अवस्था नआओस् भन्ने विचार पलाएर आएपछि निःशुल्क पढाउन शुरु गरेको बताउँछन् । गरिब विद्यार्थीका लागि भगवान बनेका छन् भण्डारी ।
        विद्यार्थीका लागि उनी आफैँले रोजेको टेङ्ग्रा खोलाको किनारमा रहेको पीपलको फेदमा बालबालिका पढाउन शुरु गरेको बताउँछन् । उनी भन्छन्, ‘दैनिकजसो बिहान साढे ४ बजे उठेर नित्यकर्म सकेर साढे ६ बजे घरबाट किस्कन्छु, त्यसपछि ७ बजेदेखि ९ बजेसम्म विद्यार्थीलाई रूखमुनि खोला किनारमा गुन्द्रीमाथि राखेर ट्युसन पढाउँछु ।’
ट्युसनमा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीलाई सबै विषय पढाउँछन् उनी । सामुदायिक स्कुलदेखि बोर्डिङका समेत विद्यार्थीको घुइँचो लाग्छ । आइतबार र सोमबार गणित, मङ्गलबार अङ्ग्रेजी, बुधबार विज्ञान, बिहीबार नेपाली र शुक्रबार सामाजिक लगायतका अरू विषय पढाउने गरेको उनले बताए । धेरै कक्षाका विद्यार्थीलाई सबै विषय पढाउँदा पनि आफूलाई अप्ठ्यारो नलाग्ने उनी बताउँछन् । विद्यार्थीलाई घामपानीबाट जोगाउन खोलाको छेउमा एउटा बाँसको टहरोसमेत बनाएका थिए । तर नगरपालिकाले भत्काइदिएको उनको गुनासो छ ।
      उच्च शिक्षा पढ्ने इच्छा अधुरो भएपछि उनले अरूको चाहना पूरा होस् भनेर इटहरी १ टेङ्ग्रा खोलानजिक पीपलको रूखमुनि विद्यार्थीलाई पढाउन थालेको २४ वर्ष भइसक्यो । उनले पढाएका विद्यार्थीमध्ये कतिले स्नातकोत्तर समेत गरिसकेका छन् । ‘मैले पढाएका विद्यार्थी कति सरकारी र गैरसरकारी क्षेत्रमा जागिर खाइरहेका छन्, कोही वैदेशिक रोजगारबाट फर्किएर राम्रै व्यापार गरिरहेका छन्’ उनी गौरवका साथ भन्छन्, ‘तर मैले विद्यार्थी पढाउने कटेरो पाइनँ । उपमहानगरपालिकाले सानो ठाउँ बनाइदिए हुन्थ्यो भन्ने उनको मनसाय छ ।
२०४३ सालमा एसएलसी पास गरेपछि उनी धनकुटा बहुमुखी क्याम्पसमा भर्ना भए । तर आर्थिक अवस्था कमजोर भएकाले पढाइलाई निरन्तरता दिन सकेनन् । पढ्ने इच्छा मनमा दबाएर उनले दैनिक १० रुपैयाँ ज्यालामा काम गर्न थाले । दुई दाजुभाइमध्येका कान्छा चन्द्र २०४४ सालमा इटहरी झरेर ग्यारेजमा काम गर्न थाले । काम गर्दागर्दै उनले २०५१ सालमा सावित्रासँग विवाह गरे । ग्यारेजको काम छाडेर थान कपडा लिएर हटियाहरूमा बिक्री गर्न थालेको उनी सुनाउँछन् ।
       २०५१ सालदेखि नै उनले बाँसको व्यापारसँगै केटाकेटी पढाउन थाले । दलित, मधेसी, आदिवासी, डोम, चमारदेखि ब्राह्मणसम्मका छोराछोरी उनले पढाइरहेका छन् । बदाम बिक्री गर्ने, चटपटे बेच्ने, चप्पलजुत्ता सिलाउनेका छोराछोरी पढाउँछन् उनी । आफूले पढाएका विद्यार्थी ठूला भएर फर्केर पनि भेट्न नआउँदा भने उनको मन दुख्छ रे । तर विद्यार्थीले बजारतिर अथवा अन्त कतै भेटेर नमस्ते गर्दै आफूलाई चिनाउँदा भने निकै गर्व लाग्ने उनी सुनाउँछन् । – ब्लाष्टबाट