२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

रहेनन् बृद्धभत्ता शुरु गर्ने पुर्व अर्थमन्त्री अधिकारी, दिउँसो हल्ला, राति निधन

Author Uttari Morang
शनिबार, फाल्गुण १८, २०७५
रहेनन् बृद्धभत्ता शुरु गर्ने पुर्व अर्थमन्त्री अधिकारी, दिउँसो हल्ला, राति निधन
पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा ८३ बर्षको उमेरमा निधन भएको छ ।

१६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनलाई अस्पतालले शनिबार राती ९ बजेर ३५ मिनेटमा   मृत घोषणा गरेको हो । उनको  बिगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो ।

अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन गरेर अधिकारीको सबै अंगले काम गर्न छोडेको जानकारी गराएको थियो । त्यसपछि पुष्ठि नभएपनि जो कोहीले सामाजिक संजालमा श्रद्धाञ्जली दिन थालिसकेका थिए ।

अधिकारी विगत २ महिनादेखि अस्पतालमा भर्ना भएका थिए । मेडिसिटीमा एकमहिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि गत माघ २४ गते अधिकारीलाई ह्याम्स अस्पतालमा रिफर गरिएको थियो  ।

नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित छन् । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए ।

वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाउं जस्ता लोकप्रिय र प्रगतिशील  विकास बजेट उनकै योजना अनुसार शुरु गरिएको  थियो । ती कार्यक्रमहरुलाइ अहिलेसम्मकै लोकप्रिय मान्ने गरिएको छ  ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका अधिकारी निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित थिए ।

अघिकारीको वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्म भएको थियो ।