२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

झापामा जब प्रधानमन्त्री ओलीले एक नावालिकाको हातमा हजारको नोट थमाए…

Author Uttari Morang
शुक्रबार, फाल्गुण २४, २०७५
झापामा जब प्रधानमन्त्री ओलीले एक नावालिकाको हातमा हजारको नोट थमाए…

ऐतिहासिक शहिदभुमी सुखानीमा सहिदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुगे ।

मंगलबारको कुरा हो यो । आमसभा नसकिँदै त्यहाँबाट स्थलबाट करिब दुई दर्जन मोटरको लस्कर जंगलको बाटोतिर लाग्यो । शनिश्चरेबाट पश्चिम दक्षिण तिर मोडियो । नयाँ अर्जुनधारा नगरपालिका–४ रातेखाल टोलको पिच सडकमा मोटरको लस्कर दौडिरहेको थियो ।

करिब दुई किलोमिटर गएपछि लस्करको तेस्रो नम्बरमा रहेको झण्डावाल को १ झ ५९४ नम्बरको मोटर एक्कासी रोकियो । त्यो मोटर रोकिएपछि पछाडिका करिब २३ वटा मोटर सबै आआफ्ना ठाउँमा रोकिए ।

झण्डावाल मोटरको झ्यालको सिसा खुल्यो । सडक किनारमा नातिनीलाई लिएर उभिइरहेका हजुरबालाई झ्यालभित्रबाट भनियो– ‘नातिनीलाई यता ल्याउनुस् त !’

झ्याल खुलेको मोटर वरिपरि सुरक्षाकर्मीले घेरा हालिसकेका थिए । र, झ्यालभित्र थिए प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्रीलाई देखेर अनि आफ्नी नातिनीलाई बोलाएको देखेर हजुरबा छक्कै परे । एकछिन त विश्वाश नै गर्न सकेनन्, अक्क न वक्क परे ।

प्रधानमन्त्री ओलीले दोहोर्याएर भने– ‘नातिनीलाई यता ल्याउनुस् त !’

हजुरबा गोपाल खतिवडाले नातिनीलाई मोटरमा लगे । २ बर्ष ४ महिनाकी पुष्पालाई ओलीले बोक्न खोजे । तर, सुरक्षाकर्मीले घेरिएका नौलो मानिसलाई देखेर पुष्पा रुन थालिन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले एक हजार रुपैयाँको नोट झिकेर पुष्पालाई दिए । अनि चाहिँ पुष्पा खुसी भइन् । थपक्क नोट समाइन् र मुसुक्क हासिन् ।

ओलीले पुष्पालाई नमस्कार गरे । पुष्पाले पनि वालसुलभ तरिकाले नमस्कार फर्काइन् ।

ओलीले बाइबाई गरे । पुष्पाले पनि बाइबाइ गरिन् ।

त्यसपछि प्रधानमन्त्रीको मोटर अघि बढ्यो । हजुरबाको खोकिलामा च्यापिएकी पुष्पाले हातमा हजारको नोट खेलाउँदै आँखाले भ्याउन्जेलसम्म मोटरको लस्कर हेरिहिन् ।

प्रधानमन्त्री गएपछि हजुरबा र नातिनीको वरिपरी गाउँले भेला भए । सोधियो ‘प्रधानमन्त्रीले नातिनीलाई दिएको पैसा केमा खर्च गर्नुहुन्छ ?’

खतिवडाले भने– ‘खै के गरौं हजुर ? पढाइमा लाइदिउँ कि बाख्राको पाठो किन्दिउँ ? म सोच्दैछु ।’- सनराइज खबरबाट