२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नौ दिनदेखि हराएकी रमिलाबारे सर्वत्र चासो, रहस्य खोतल्न नयाँ रणनीति अपनाउँदै प्रहरी

Author Uttari Morang
शनिबार, फाल्गुण २५, २०७५
नौ दिनदेखि हराएकी रमिलाबारे सर्वत्र चासो, रहस्य खोतल्न नयाँ रणनीति अपनाउँदै प्रहरी

गत फागुन १७ गते शुक्रबारबाट वेपत्ता रहेकी बेलबारी ४ की रमिला राईको अवस्था के होला भन्ने चौतर्फी चासो बढिरहँदा प्रहरीले शैली फेरेरै उनको खोजी तिब्र पारेको छ । घटनामा संलग्न रहेको आसंकामा योगेन्द्र गुरुङ पक्राउ परेसँगै प्रहरीको खोजतलासको शैली पनि फेरिएको हो ।

पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय बेलबारीमा नल्याई प्रहरीले जिल्ला प्रहरी कार्यालय नै लगेको बताइएको छ । इप्रका बेलबारीका प्रहरी निरीक्षक रामकुमार राई सहित जिल्लाको समेत विशेष टोलीले  घटनामानै ध्यान एकत्रित गरेर खटिएकाले अब चाँडै नै घटनाबारे तथ्य वाहिर आउने प्रहरी स्रोतको दावी छ । प्रहरीको टोलीले मोरङ तथा  सुनसरीको सप्तकोसी आसपास र केही भागमा महिलाको खोजी केन्द्रित गरेको छ ।
रमिलाको अवस्थाबारे अनेकौं अड्कलबाजी
रमिला कहिले भेटिन्छिन् र कस्तो अवस्थामा भेटिन्छिन् भन्नेबारेमा अनेकौं अड्कलबाजीहरु भैरहेका छन् । तर,अब धेरैजसोका अनुमान र अड्कल भने निराशाजनक नै सुन्ने गरिएको छ । प्रहरी स्रोतको निष्कर्ष पनि करिब यस्तै बुझिन्छ । प्रहरीको खोजीशैलीले पनि यस्तै संकेत गरेको छ । केही दिन अघि रमिलाको खोजी गर्ने क्रममा प्रहरी र गाउँले समेत मिलेर जंगल र खोला आसपास खोजी गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीले विशेष टोली नै खटाएर गाउँलेसँग समन्वय गरेर बेतना र आसपासको जंगल क्षेत्रमा बुधबार खोजी गरेको थियो । यस्तै विहिबार गछिया र गोठगाउँ आसपासका खोला किनार र जंगलमा गाउँले र प्रहरीको संयुृक्त टोलीले खोजतलास गरेको थियो ।
खबर आउने आशामा प्रहरी कार्यालयमै दिन विताउँदै रमिलाका आफन्त
यता रमिलाका आफन्त र छरछिमेकीहरु भने केही अवस्था पत्ता लाग्ला कि भन्ने आसा बोकेर शनिबार दिनभर जसो नै इलाका प्रहरी कार्यालय बेलबारीमै बसे । रमिलाका परिवारका सदस्य र छिमेकीहरुले केही सुचना आउँछ की भनेर कुरिरहेको भएपनि प्रहरी इन्स्पेक्टर सहितको टोली सँग आफुहरुको नै सम्पर्क हुन नसकेको कार्यालयमा रहेका प्रहरीहरुले बताए ।

रमिला वेपत्ता भएको ९ दिन वितिसक्दा पनि अवस्थाबारे थाहापत्तो नलाग्दा परिवारका सदस्यमात्रै हैन छरछिमेकी समेत स्तब्ध बनेका छन् । रमिलाको अवस्थाबारे केही जानकारी पाइन्छ की भन्ने पर्खाइमै उनीहरुको समय वित्ने गरेको छ । भरपर्दो जानकारी नआउँदा उनीहरु निरास छन् ।
रमिला वेपत्ता घटनापश्चात प्रहरीले योगन्द्रको गुरुङको घरमा २ पटक खानतलासी लिइसकेको छ । योेगेन्द्रले रमिलालाई चढाएर लगेको भनिएको बा १५ च ७९१६ नम्बरको गाडी प्रहरीकै नियन्त्रणमा रहेको छ । – निरन्तर खबर

र यो पनि ….

– फागुन १७ देखि कहाँ बेपत्ता भइन् बेलबारीकी यी महिला ? अनि किन पक्राउ परे योगेन्द्र ?

– आठ नौ दिनदेखि बेलबारीकी एक महिला बेपत्ता, बेपत्ता पारेको आशंकामा गुरुङ पक्राउ