२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मोरङमा टुङ्गिने भयो नेकपाको पार्टी एकता, मिल्यो सबै स्थानीय तहको भागबण्डा

Author Uttari Morang
आइतबार, फाल्गुण २६, २०७५
मोरङमा टुङ्गिने भयो नेकपाको पार्टी एकता, मिल्यो सबै स्थानीय तहको भागबण्डा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता कार्यदलले मोरङका १७ मध्ये १६ स्थानीय तहको एकता प्रक्रिया टुंग्याउने सहमति गरेको छ।
शनिवार बसेको जिल्ला कार्यदलको बैठकले विराटनगर महानगरपालिका बाहेक स्थानीय तहमा एकता प्रक्रिया टुंगो लगाउने सहमति गरेको हो । कार्यदलमा १६ स्थानीय तहमध्ये पूर्वनेकपा एमालेले नौ तह र पूर्वमाओवादी केन्द्रले सात तहको नेतृत्व लिने सहमति भएको छ । विराटनगर महानगरपालिकाको विषयमा केन्द्र र प्रदेशसँगको समन्वयमा टुंगोमा पुग्ने सहमति पनि भएको नेकपा मोरङका नेता तथा कार्यदलका सदस्य ऋषिकेश पोखरेले बताए।

स्थानीय तहसम्म पार्टी एकता नहुँदा पार्टीको काम कारवाही ठप्प भएको, कमिटी प्रणाली पनि हराउँदै जान थालेको र जनसम्बन्धमा समेत असर पुग्न थालेको निष्कर्ष सहित एकता प्रक्रिया टुंग्याउन कार्यकर्ताहरुले दवाव दिँदै आएका थिए।

कार्यदलले पूर्वनेकपा एमालेले सुन्दरहरैंचा नगरपालिका, पथरी नगरपालिका, उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, सुनवर्सी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकाको नेतृत्व लिने सहमति गरेको छ।

यसैगरी पूर्वनेकपा माओवादी केन्द्रले बेलबारी नगरपालिका, लेटाङ नगरपालिका र रंगेली नगरपालिका, केराबारी गाँउपालिका, बुढिगंगा गाउँपालिका, जहदा गाउँपालिका र धनपालथान गाउँपालिकाको नेतृत्व पाउने सहमति गरेको छ।
कार्यदलका सदस्य पोखरेलले विभिन्न सैद्धान्तिक दृष्टिकोणबाट स्थानीय तहको नेतृत्वको विषय टुंग्याएको बताए ।  उत्तरी मोरङ र राजमार्गमा आधारित आठ स्थानीय तहमध्येबाट पाँच र  तीन, मध्यभागमा रहेको दुई तहमध्ये एक/एक तह र दक्षिण क्षेत्रका ६ तहमध्ये तीन/तीन तहको नेतृत्व पूर्व दुई पार्टीहरुले गर्ने गरी निर्णय भएको छ । महानगरपालिकाको विषयमा भने केन्द्रलाई नै निर्णय गर्न दिने सहमति भएको छ।

कार्यदलको बैठकमा नेकपाका नेता गुरु बराल, केन्द्रीय सदस्यहरु शिवकुमार मण्डल, विनोद ढकाल, गोपी अछामी, महेश रेग्मी, जिल्ला तहका नेताहरु ऋषिकेश पोखरेल, गणेश उप्रेती, कुशल लिम्बु र रामलाल साह लगायतको सहभागिता रहेको थियो।
कार्यदलले चैत ३ भित्र सबै तहको नेतृत्वसहित कमिटीमा रहने सदस्यहरुको नाम र संख्या टुंग्याउन ऋषिकेश पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ। कार्ययदलमा ऋषिकेश पोखरेल, गणेश उप्रेती, कुशल लिम्बु र रामलाल साह रहेका छन् ।