२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

अपराध ढाकछोप गर्ने अखडा बन्दै सप्तकोसी, बढाइयो सुरक्षा सतर्कता

Author Uttari Morang
मंगलबार, फाल्गुण २८, २०७५
अपराध ढाकछोप गर्ने अखडा बन्दै सप्तकोसी, बढाइयो सुरक्षा सतर्कता

रातको समयमा राजमार्गमा गुड्ने सवारी साधन चेकजाँच नगर्दा अपराधिक र अवैध काम बढ्न थालेको निष्कर्ष निकाल्दै प्रहरीले सप्तकोसी नदी आसपास सुरक्षा सतर्कता बढाउन थालेको छ  ।

केही दिन अघि मोरङ बेलबारीका योगेन्द्र गुरुङले एक महिलाको हत्या गरी सप्तकोसी नदिमा लगेर फालेको भनी बयान दिएपछि र ती महिलाको शब खोज्ने क्रममा अर्की युवतीको शब पनि भेटिएपछि प्रहरीले सप्तकोसीलाई अपराध लुकाउने थलो बनाउने गरेको निष्कर्ष निकाल्दै सुरक्षा सतर्कता बढाउन थालेको हो ।सुनसरी प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र फूयालले सप्तकोसी नदी र कोसी ब्यारेज आसपासलाई संवेदनशील क्षेत्रका रुपमा लिएर विशेष निगरानी बढाउन थालिएको बताए ।

अबैध वस्तुहरुको ओसारपसार र अपराधिक घटना हुनसक्ने जानकारी नहुंँदा यसअघि चेकजाँच नहुने गरेको बताउँदै फुंँयालले भने – ‘चेकजाँच भएको भए शव गाडीमा राखेर कोसीतर्फ हिंडेका गुरुङ बीचैबाट पक्राउ पर्थे ।’ सुरक्षा लापरवाहीकै कारण गुरुङले मृत्त शरीर गाडीमा बोकी ग्यारेज पुर्याएर सप्तकोसी नदीमा फ्याल्न सकेको प्रहरी अधिकारीहरुको ठम्याई छ ।  सुुुनसरीका रामेश्वर मण्डलले  पुलको पश्चिमतर्फ बढेको गाडी केही बेरमै फर्किएर आउँदा पनि वास्ता नगर्नु र राति गुड्ने गाडीलाई शंकास्पद रुपमा नहेरिनु कोसी ब्यारेज आसपासमा खटिएका सुरक्षाकर्मीको ठूलो लापरवाही भएको बताए ।

शव भेटिए पनि पानीले प्रमाण नष्ट गरिदिने र अनुसन्धानमा जटिलता उत्पन्न हुने भएकाले अपराधिक कार्य गर्ने व्यक्तिहरुलाई शव फ्याल्न अहिलेसम्म सजिलो स्थिती भइरहेको पाइएको डीएसपी फूयालले बताए । उनले कोसी ब्यारेज आसपासमा प्रविधि मैत्री निगरानी थालिने बताए । ‘कोही कसैले घुम्न लिएर जाने बहानामा पनि हत्या गरेर शव नदीमा फ्यालिदिन वा पानी खेल्ने बहानामा नदीतिर धकेलिदिन सक्ने देखियो,’ उनले भने, ‘अपराधबाट सहज रुपमा उन्मुक्ती पाउन पनि अन्त हत्या गरेर ल्याएको शव कोसी ब्यारेजको पुलबाट नदीतिर फ्यालिदिंने गरेको पाइयो ।’

यसैबीच मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीय रमिला राईको शव खोजीका लागि खटिएको प्रहरी टोलीले कोसी ब्यारेजबाट अन्दाजी ८ सय मिटर दक्षिणमा अर्की एक युवतीको शब फेला पारेको छ । ती युवतीको पहिचान खुलेको छैन ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ तर्फ अन्दाजी ३०/३२ वर्षको पहाडे मुलको जस्तो देखिने युवतीको शव पानी भित्र सडेको अवस्थामा फेला परेको हो । घाँटीमा सिक्री लगाएकी युवतीको शव पूरै सडेको, शरीरका केही भाग माछाले खाएकोले नचिनिने र निवस्त्र अवस्थामा रहेको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बताए ।

उनले सप्तरीमा यसअघि महिला वा युवती बेपत्ता भएको र हराएको भन्ने कुनै निवेदन नपरेकोले ती युवतीलाई पनि कोही कसैले कहींबाट हत्या गरेर  सप्तकोसी नदीमा फ्यालिदिएको हुन सक्ने प्रहरी अनुमान छ । शव निवस्त्र अवस्थामा भेटिएका कारण बलात्कारपछि हत्या गरेर फ्यालेको हुन सक्ने प्रहरी आशंका छ ।

कोसी ब्यारेजबाट फ्यालिएको शव तत्कालै भारतीय भूमिमा पुगिहाल्ने  र भारततिर शव भेटिए पनि भारतीय सुरक्षाकर्मीले नेपालबाट ल्याएको भनेर खासै मतलव नगरी र नेपाली सुरक्षाकर्मीलाई शब भेटिएको जानकारी नदिने गर्दा अपराधमा संलग्नले उन्मुक्ती पाउने सम्भावना धेरै रहने सुरक्षाकर्मीहरु बताउँछन् ।