२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारी नगरपालिकाद्वारा धिमाललाई प्रथम जाति घोषणा, धिमाल वृद्धवृद्धा पनि सम्मानित

Author Uttari Morang
बिहिबार, फाल्गुण ३०, २०७५
बेलबारी नगरपालिकाद्वारा धिमाललाई प्रथम जाति घोषणा, धिमाल वृद्धवृद्धा पनि सम्मानित

मोरङको बेलबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जाति घोषणा गरेको छ ।

बेलबारी नगरपालिकामा बिहीबार एक कार्यक्रम गरी धिमाललाई पहिलो जाति घोषणा गरिएको हो । नगरपालिकास्थित आदिवासी जनजाति सभाहलमा आयोजित ‘धिमाल प्रथम जाति घोषणा तथा अभिनन्दन समारोह’ मा धिमालहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यसमा पनि पुरुषभन्दा महिलाहरुको बाहुल्यता थियो ।

घोषणा समारोहका लागि धिमाल जाति बिकास केन्द्रको ब्यानरमा धिमाल जातिका महिला तथा पुरुषहरु विभिन्न झाँकी सहित लाइनबद्द भएर आएका थिए । घोषणा कार्यक्रममा उपस्थित धिमाल तथा अन्य जातजातिका मानिसहरु समेत ‘सेउपाखा’ भन्दै अभिनन्दन गरिरहेका देखिन्थे ।

नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न जातीय संगठनका प्रतिनिधि, सञ्चारकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।
दुई सय वर्ष भन्दा अगाडि देखिनै बेलबारीमा बसोबास गरेको पृष्ठभुमिका आधारमा धिमाल जातिलाई पहिलो जातिको रुपमा घोषणा गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।  वि.सं. १८६२ देखिनै तराईका जिल्लाहरुमा धिमाल जातिको बसोवास रहेको किवदन्ती रहेको पाइन्छ । बेलबारीको ऐतिहासिक क्षेत्रका नाम समेत धिमाल जातिको नाम रहेको पाईन्छ । वि.स. १९३६ मा पूर्व माननिय कर्ण वहादुर धिमालका हजुरबुवा बैसार धिमालले वक्यौता  तिरेको भुमिकरको रसिदको प्रमाण समेत भेटिएको मेयर सुवेदीले बताए ।

बेलबारीका एक दर्जज ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको नाम समेत धिमाल  भाषाबाट राखिएको छ । मैषाबारी, पर्ताघारी, भिन्दहा, बर्राडागी, बेलेवारी, तिनघोरे, माईनावारी, दोघरे, धारधार (धररा) तेलीकुरी, कालावञ्जार, वालाही, माटागाउँ, जुराकादेरा ,धेङ्ग्राधेङ्ग्रे, काकोम नलघारी, भाउन्ने,भाङ्घारी, दोन्द्राझोरा ,बेतईनी झोरा,चिसाङ झोरा आ  दि ठाउँको नाम पनि धिमाल भाषाको नामबाट राखिएको किवदन्ती छ ।

धिमाल जातिहरुले विषमाला गछ, काथीमाला, हासुलिपात, हरी, कलि, कुण्डल, नादोइ, नाकमुुन्दि, कानाईला, चन्द्रहार, पाउजुजस्ता गहरगहना लगाउने गरेका छन् ।
धिमाल जातिको खानाको परिकारहरुमा अल्गै चिचिरी,तोले, पटुवाको साँग, लेउमुन्ची सिकाउति , चुदूर  माखालाई, क्याहाम आदि छन्  । मुख्य वाजाका रुपमा ढोल,उर्नीतुञ्जाई, गुमाना, ठ्यापठ्यापे, घाघुरिङ बाजा आफैले बनाउने र बजाउने गरको धिमाल जाति विकास केन्द्र बेलबारीका प्रमख कविन्द्र धिमालले बताए ।  

बेलबारीमा धिमाल जातिको ३ हजार १ सय ८२ जनसख्या रहेको छ । उक्त जनसख्या बेलबारीको कुल जनसख्याको को ४ दशमलव ५८ प्रतिशत हो  ।बेलबारीको कुल जनसख्या ६९ हजार ४ सय ९८ रहेको छ ।

 नगरकार्यपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले धिमाल जातिलाई प्रथम जाती घोषणा गर्ने आधार सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । नगरकार्यपालिकाको निर्णय अनुसार प्राचीन कालदेखि बसोबास गर्दै आएका धिमाल जातिलाई प्रथम जाति घोषणा गरिएको सुवेदीले बताए । बेलबारीमा पहिलोपटक बसोबास गर्ने धिमाल जाति रहेको प्रसस्त आधार रहेको र धिमाल भाषाबाटै  कैयौं स्थानको नामाकरण भएको सुवेदीले बताए ।

धिमाल जाति बिकास केन्द्रले धिमाल जातिलाई पहिलो जाति घोषणा गर्न माग गर्दै गत बर्ष नगरपालिकामा कार्यपत्र पेस गरेको थियो । सोही अनुसार नगरकार्यपालिकाको २०७५ असोज १ गतेको बैठकले धिमाल जातिलाई प्रथम जातिको मान्यता दिने निर्णय गरेको थियो ।

नगरपालिकाले बिहीबार नै धिमाल जाति बिकास केन्द्रलाई पहिलो जातिको प्रमाण-पत्र समेत दिएको थियोे । बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र पुर्व सांसद हर्कामान तामाङले केन्द्रको नगर कार्यसमितिका अध्यक्ष कबिन्द्र धिमाललाई प्रमाण-पत्र प्रदान गरेका थिए । सो अबसरमा नगरपालिकाले धिमाल जातिका दुई जना जेष्ठ नागरीकलाई समेत सम्मान गरेको छ ।८७ बर्षिया बनाइ धिमाल र ९१ बर्षिय पृथिलाल धिमाललाई  जनही पाँच पाँच हजारका दरले नगद सहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

कार्यक्रममा बोल्दै धिमाल जाति बिकास केन्द्र बेलबारीका अध्यक्ष कबिन्द्र धिमालले लोहोन्द्रा, चिसाङ, बेलबारी, बलुइ, माटीगाउँ, जुरा जस्ता स्थानहरुको नामाकरण धिमाल भाषाबाट नै गरिएको र कतिपय स्थानहरुको नाम अपभ्रंस भएको बताए । उनले धिमाललाई प्रथम जाति घोषणा गरिएकोमा धन्यवाद दिए ।

नगरपालिकाले पहिचान गरेर धिमाल जातिलाई प्रथम जाति घोषणा गर्दा स्थानिय सरकार छ भन्ने आदिवासीहरुलाई प्रभाव परेको आदिवासी जानजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राईले बताए । धिमालहरु नै नगरको पहिलो आदिवासी भएको उनले बताए ।

कार्यक्रममा शिक्षक महासंघ बेलबारीका अध्यक्ष गोबिन्द भण्डारी, नेकपा बेलबारीका नगर संयोजक इरन राई, जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राई, पुर्व सांसद हर्कमान तामाङ लगायतले बोलेका थिए ।