२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

बेलबारीका सोमबहादुरका दुवै मृगौला फेल, जीवन रक्षाका लागि सहयोगको अपील

Author Uttari Morang
आइतबार, बैशाख २२, २०७६
बेलबारीका सोमबहादुरका दुवै मृगौला फेल, जीवन रक्षाका लागि सहयोगको अपील

दुवै मृगौला फेल भएका बेलबारी १ निवासी ४४ बर्षिय सोम बहादुर श्रेष्ठको जीवन बचाउन परिवारजनले सहयोगको अपील गरेका छन् ।

श्रेष्ठ बिरामी भएपछि चेकजाँचका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । त्यहीँ उनको मृगौला फेल भएको पत्ता लागेको थियो । सकेसम्म चाँडै सहयोग जुटाइ श्रेष्ठलाई उपचारका लागि काठमाडौं लैजाने योजना गरिएको छ । आर्थिक अबस्था कमजोर भएका श्रेष्ठको जीवन बचाउन परिवारजनले सहयोगको अपील गरेका हुन् । नेवा देय दवु बेलबारी नगर समितिले बेलबारीस्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा आइतबार गरेको छलफलमा परिवार र आफन्तले डायलोसिस र मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले सक्दो सहयोग गरिदिन देश बिदेशमा रहेका सबैमा याचना गरेका छन् । सोमबहादुरका दाजु खेमराज श्रेष्ठले परिवारजनको मृगौला मिलेमा र कोही दिन तयार भएमा १५/२० लाख लाग्ने र त्यसो नभए त्योभन्दा बढी खर्च हुने बताए ।  

छलफल कार्यक्रममा बेलबारी १ का वडाध्यक्ष चक्र खुलाल, ब्यबशायी तथा राजनीतिज्ञ केदार अधिकारी, नेता तथा समाजसेवी राजकुमार लिम्बु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सोमबहादुरका आफन्त र परिवारजनको उपस्थिति थियो ।

आइतबार भएको छलफलबाट सोम बहादुर श्रेष्ठको जीवन रक्षा अभियानका लागि गंगाबहादुर श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय आर्थिक सहयोग संकलन गर्न समिति पनि गठन गरिएको छ ।

समितिमा बलबहादुर सुब्बा सह संयोजक, बाबुराम श्रेष्ठ सचिव र तिलबहादुर श्रेष्ठ कोषाध्यक्ष छन् । सदस्यहरुमा प्रगति मोक्तान, अमृता गुरुङ, ज्ञानु श्रेष्ठ, सन्तोष श्रेष्ठ चयन भएका छन् । तीन सदस्य पछि थप गरिने सोमबहादुर श्रेष्ठ बचाउ अभियानका संयोजक गंगाबहादुर श्रेष्ठले बताए । समितिको अगुवाईमा विभिन्न स्थानमा सहयोग संकलन गरिने बताइएको छ ।

समितिले राष्ट्रिय बाणिज्य बैंक र लक्ष्मी बैंकमा खाता खोल्ने निर्णय गरेको छ । नवगठित समितिले सोमबहादुर श्रेष्ठको जीवन बचाउन सहयोगका लागि सबैमा अपील गरेको छ ।

६ दाजुभाइ मध्ये काहिंलो भाइ सोम सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । श्रेष्ठका एक छोरा र दुई छोरी छन् । दुवै छोरीको विवाह भइसकेको छ ।

कक्षा ११ मा अध्ययनरत छोरा रविन श्रेष्ठलाई एघारदेखि डिभ्लोमा पुरा गरुन्जेल पढाइमा लाग्ने सम्पूर्ण खर्च ब्यबशायी तथा समाजसेवी केदार अधिकारीले ब्यहोर्ने घोषणा गरेका छन् ।