२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पाँच बर्षमा बल्ल बन्यो दुई बर्षमा तयार हुनुपर्ने मालपोत कार्यालय बेलबारीको भवन

Author Uttari Morang
सोमबार, जेठ १३, २०७६
पाँच बर्षमा बल्ल बन्यो दुई बर्षमा तयार हुनुपर्ने मालपोत कार्यालय बेलबारीको भवन

दुई वर्षभित्र नै बनाइसकेर जिम्मा लगाउनुपर्ने मालपोत कार्यालय बेलबारीको भवन ४ वर्षपछि बल्ल तयार भएको छ । 

कूल ४ करोड ९८ लाख ८१ हजार ५ सय ४९ रुपैयाँ ६९ पैसामा एके एन्ड गान्वा कन्स्ट्रक्सन प्रालि शान्तिनगर काठमाडौंले भवन निर्माण गर्ने ठेक्का पाएको थियो । सम्झौता अनुसार मालपोत कार्यालय बेलबारीको भवन २०७३ जेठ १८ गते हस्तान्तरण गर्नुपर्ने थियो । नाकाबन्दी तथा भूकम्प लगायतका विभिन्न कारण देखाउँदै भवन निर्माणको म्याद दुई पटक थप गरिएको थियो । २०७१ जेठ १९ गते सम्झौता भएपछि  निर्माण थालिएको भवन करिब ५ बर्षपछि २०७६ मा बल्ल बनिसकेको छ ।

२ पटक म्याद थपेपछि चैतसम्ममा भवन हस्तान्तरण गर्ने सहमति भए अनुसार निर्माणकार्य सकिए पनि रंगरोगन लगायतका कारण हस्तान्तरणमा ढिलाइ भएको ठेकेदार श्रेष्ठले बताए ।
नयाँ भवनको बिवरण बुझ्न खोज्दा मालपोत कार्यालय बेलबारीका प्रमुख योगेन्द्र दुलालले सबै कुरा ठेकेदारबाट नै बुझ्न आग्रह गरे । तर ठेकेदार विनोदकुमार श्रेष्ठलाई मालपोत कार्यालयको निर्माणाधीन साढे ३ तले भवन जम्मा कति कोठे हो भन्ने थाहा रहेनछ । त्यसैले भवनमा जम्मा कतिवटा कोठा छन् भन्ने  प्रश्नमा ठेकेदार बिनोद श्रेष्ठ अक्मकिए र अनुमान लगाउँदै भने ‘जम्मा तीस कोठा जति छन् ।’ उनले बेलबारीमा बनेको मालपोत कार्यालय पुर्वकै ठुलो भएको दाबी गरे । उनले रङरोगन गर्ने काम समेत सकिएकोले यसै महिना भवन हस्तान्तरण गर्ने जनाए ।

भवन निर्माणमा ढिलाइ हुँदा साँघुरो कोठामा काम गर्नुपर्दा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको मालपोत कार्यालय बेलबारीका प्रमुख योगेन्द्र दुलालले बताए । छिटो काम गर्न  ठेकेदारले विभिन्न कारण देखाउँदै काममा ढिलाइ गरेको दुलालले बताए । – अम्बिका भण्डारी