२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कला/संस्कृति

गजल महफिलमा गजलकारसँगै खुलेर रमाए दर्शक पनि

Author Uttari Morang
सोमबार, आषाढ ०९, २०७६
गजल महफिलमा गजलकारसँगै खुलेर रमाए दर्शक पनि

नेपालका चर्चित गजलकारहरुको सहभागितामा मोरङको बेलबारीमा ‘बेलबारी गजल महफिल २०७६’ भब्य रूपमा सम्पन्न भएको छ ।

कोशी नेपाल टेलिभिजनबाट प्रसारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तरगत शनिबार सो कार्यक्रम भएको हो । बेलबारी नगरपालिका सहयोगमा नगरपालिकाकै हलमा खचाखच दर्शक र श्रष्टाहरुको उपस्थितिमा भएको कार्यक्रमको आयोजना कोशी नेपाल मिडियाले गरेको थियो । जेवी थुलुङले संचालन गरेको कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द सुवेदी प्रमुख अतिथि थिए । कार्यक्रममा पुर्व सांसदहरु हर्कमान तामाङ, मधु गुरुङ लगायत पनि उपस्थित थिए । कार्यक्रम कोशी नेपाल मिडियाका अध्यक्ष अर्जुनकुमार राई (खनेन्द्र) को सभापतित्वमा भएको थियो ।

कार्यक्रममा पोखरेली गजलकार प्रकट पंगेनी शिव, बसन्त ओली बसन्ती (दाङ) , जीवी गजल, युवराज ठकुरी अज्ञानी, पुष्प अधिकारी अञ्जली (चितवन), अनन्त अनुरागी, बिराट अनुपम, किसान प्रेमी (चितवन), सुन्दर कुरुप , प्रमोद स्नेही श्रेष्ठ, मधु पोख्रेल, सुनिता तामाङ (झापा), पुरु लम्साल (इलाम), कविता राइ, तिला लेकाली, विवस बलभद्र कोइराला, तारा (ढाका कुमारी) पराजुली, प्रकाश किरण (जाजरकोट) , टीका आत्रेय, जेवी थुलुङ लगायतले गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा केही भारतीय गजलकारहरुको पनि उपस्थिति थियो । गजलको हाउभाउ र गुन्जनले शनिबार दिनभर  बेलबारी नगरपालिका परिसर गुन्जायमान थियो ।

गजलकारहरुले गजल प्रस्तुत गरिरहँदा दर्शक पनि खुलेका देखिन्थे । दर्शकहरुको घरी घरीको वाह.. वाह.. र त्यस्तै अन्य हाउभाउले हलको रौनक नै बढेको थियोे । प्रकट पंगेनीले गजल एक सुन्दर युवतीमा केन्द्रित भएर प्रस्तुत गरिरहँदा दर्शकले ‘वान्स मोर’ को आवाज घन्किएपछि एकपटक विदा भएर पनि फर्केर अर्को गजल नभनी सुखै पाएनन् ।