२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

चेलिबेटीको उद्दार र पुनस्थापनामा सहयोग गर्न नेपालमै पहिलोपटक खुल्यो माइती क्याफे

Author Uttari Morang
बुधबार, साउन २२, २०७६
चेलिबेटीको उद्दार र पुनस्थापनामा सहयोग गर्न नेपालमै पहिलोपटक खुल्यो माइती क्याफे
चेलिबेटी बेखबिखनविरुद्ध क्रियाशिल माइती नेपालमा आश्रीतहरुलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ ।
विदेशबाट स्वदेशमै केही गर्न भनेर फर्किएका युवाहरुले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी दात्री संस्था फ्रि गर्लको सम्योजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे संचालनमा ल्याएको हो ।
यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम नेपालका लाखौँ चेलीबेटीहरुको उद्धार गरी नयाँ जीवन दिन सफल माइती नेपाललाई दिइने क्याफे संचालक आफ्नो नेपालसँग आवद्द समिर पन्थीले बताए । ‘मुनाफाको बाँकी ४९ प्रतिशत रकमसमेत यही क्याफेको व्यवस्थापन र अन्य सामाजिक काममा प्रयोग गरिने छ,’ उनले भने । क्याफेबाट हुने आम्दानीले माइती नेपाललाई दातामै निर्भर रहनु पर्ने बाध्यता न्युनिकरण गर्ने अपेक्षा क्याफे संचालकको छ ।
माइती क्याफेमा माइती नेपालमा आश्रीत चेलिबेटीहरुले रोजगारी पाएका छन् । ‘माइती नेपालको संरक्षणमा रहेका नेपाली चेलीबेटीहरुको पुनर्जीवनका लागि पनि यो क्याफे महत्वपूर्ण माध्यम हुनसक्छ भन्ने हामीले विश्वास लिएका छौँ,’ पन्थीले भने, ‘माइती नेपालमा रहेका चेलीहरुलाई यस क्याफेमा संलग्न गराएर उनीहरुलाई सिप सिकाउने, आत्मबल बढाउने, समाजमा अन्तरघुलन गराउने र आत्मनिर्भर गराउने उद्देश्य क्याफेले लिएको छ ।’
आफ्नो नेपालको नेतृत्व गरेका युवा उद्यमी तथा अभियान्ता पन्थीले अमेरिकामा लामो विभिन्न ब्यवसाय संचालन गरेका थिए । देशमै केही गर्नु पर्छ भन्ने भावनाका साथ नेपाल फर्किएर उनले सामाजिक अभियान र व्यवसायीक काम गर्दै आएका छन् । उनलाई उपेन्द्रबहादुर श्रेष्ठ, प्रविरशम्शेर राण र मनिष कोइरालाले साथ दिएका छन् । आफ्नो नेपालको माइती क्याफे पहिलो प्रोजेक्ट हो ।
क्याफेमा नेपाली र विदेशी विभिन्न परिकारहरु पाईने छ । यहाँको परिकाकारे मुल्य पनि निकै सस्तो राखिएको पन्थीले दावी गरे । क्याफेको मेनुमा समेत माइती नेपालका सामाजिक कामहरुको जानकारी राखिएको छ । ‘ग्राहकले खाना अर्डर गरेपछिको समयमा माइती नेपालबारे मेनुबाट जानकारी लिन सक्नेछन्,’ पन्थीले भने, ‘खानेकुरा खाएपछि तिरेको रकमको केही हिस्सा नेपाली चेलिबेटीको उद्दार र पुनस्थापनामा खर्च हुने कुराले उनीहरुलाई फरक आनन्दको अनुभूती दिने छ ।’