झापा ११ लाई स्तब्ध पार्दै तेस्रो बेलबारी कपको सेमिफाइनलमा पुग्यो एपीएफ क्लब
Uttari Morang
मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा झापा ११ लाई पराजित गर्दै एपीएफ क्लब काठमाडौं विजयी भएको छ ।
आइतबार भएको रोमाञ्चक खेलमा झापा–११ लाई २–० गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एपीएफका लागि रोहित थापा र हरि कार्कीले एक/एक गोल गरेका थिए । झापाले दुवै गोल बेहोर्नुमा गोलरक्षक दिपांसु राउतको कमजोरी रहयो । रोमाञ्चक खेलमा गोलरक्षक राउतको कमजोरीको फाइदा उठाउँदै विभागिय टोली एपीएफ अघि बढ्दा साविक उपविजेता झापालाई झड्का लाग्यो ।
प्रतियोगिताबाटै बाहिरिए पनि झापा आक्रामक रुपमा उत्रिएको थियो । तर फिनिसिङ फितलो हुँदा एपीएफको भाग्य चम्कियो ।
२६ औं मिनेटमा रोहित थापाको गोलबाट एपीएफले गोलको खाता खोलेको थियो । थापाले कर्नरबाट गरेको प्रहारलाई गोलरक्षक राउतले क्लियर गर्न नसक्दा झापा दबाबमा प¥यो । क्लियर गर्ने प्रयास गरेको बलले राउतको हातमा ठोक्किंदै जाली चुम्यो । गोलरक्षक राउतको कमजोरीको फाइदा उठाउँदै ७० औं मिनेटमा हरि कार्कीले गोल थपेर एपीएफको जित निस्चित गरे । राउत अगाडि बढेको मौका छोप्दै एपीएफकै रामकुमार कुमालले खाली पोस्टमा गरेको प्रहार पोलमा लागेर रिबाउण्ड भएपछि कार्कीले वान टच जाली चुमाउँदा झापा स्तब्ध बन्यो ।
१२ औं मिनेटमा सुदीप शिखरकारको पासमा हरि कार्कीले टाउकोले गरेको प्रहार गोलरक्षक राउतले रोक्दै आफ्नो टिम विरुद्ध सुरुवाती गोलको संकट टारेका थिए । ९० औं मिनेटमा प्रविण स्याङ्तानले खाली पोस्टमा गरेको प्रहारले सही दिशा लिन नसक्दा खेलमा एपीएफले तेस्रो गोल गर्न सकेन ।
३६ औं मिनेटमा झापाका शौरभ लिम्बूको कर्नर पासमा राजन माझीको प्रहार दायाँ बार हुँदै बाहिरियो । ४५ औं मिनेटमा अभिशेक गुरुङको प्रहारले विपक्षी बार भत्काउन नसक्दा मध्यान्तर अघि झापाले खेलमा फर्कने अवसर गुमायो । ५२ औं मिनेटमा दिलेन लोक्तामको प्रहारमा पनि एपीएफका गोलरक्षक राजु नगरकोटी बाधक बने । ५५ औं मिनेटमा झापाका शौरभको प्रहार नगरकोटीले उत्कृष्ट ढंगले बचाए । ६६ औं मिनेटमा शौरभ वान भर्सेस वानको अवस्थामा चुक्नु पनि झापाका लागि दुर्भाग्यपूर्ण बन्यो । ८७ औं मिनेटमा योगेश गुरुङको प्रहारले विपक्षी बार भत्काउन नसक्दा झापाले सान्त्वना गोल फर्काउने अवसरको पनि सदुपयोग गर्न सकेन ।
खेलको म्यान अफ दी म्याद एपीएफका गोल रक्षक राजु नगरकोटी घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । सोमबार मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौं र गोर्खा ब्वायज क्लब बुटवलबीच भिडन्त हुनेछ ।




