२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सुन्दरहरैँचा नगरपालिकाले तोक्यो देउसी भैलोको दक्षिणा, नियम उल्लंघन गरे कारबाही गर्ने चेतावनी

Author Uttari Morang
बिहिबार, कार्तिक ०७, २०७६
सुन्दरहरैँचा नगरपालिकाले तोक्यो देउसी भैलोको दक्षिणा, नियम उल्लंघन गरे कारबाही गर्ने चेतावनी

सुन्दरहरैचा नगरपालिकाले तिहारमा खेलिने देउसी भैलोको दक्षिणाको रेट तोकिदिएको छ ।

मंगलबार बसेको ३८ औ कार्यपालिकाको बैठकले तिहारमा खेलिने देउसी भैलोको दक्षिणा रेट तोकेको हो ।

बुधबार एक सुचना नै निकालेर नगरपालिकाले १५ वर्ष उमेर समुहका बालबालिकाहरुको लागि बढीमा रु १०० , १५ वर्ष भन्दा माथिका देउसी भैलो ग्रुपलाई बढीमा रु ५०० , क्लब समुहलाई बढीमा रु १,१००, सस्थागत समुहलाई बढीमा रु २,१०० सम्मको दक्षिणा रेट निर्धारण गरेको हो ।

नगरपालिकाले नेपाली सस्कृति र परम्परा अनुसार उमङ्ग र हर्सोल्लासका साथ चाडपर्व मनाईरहंँदा आधुनिकताको नाममा सस्कृति , परम्परा, मर्यादा , अनुशासन विपरित अवाञ्छित गतिविधी हुन सक्ने भन्दै बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ ।

नगरपालिकाले निर्धारण गरेको उक्त रेट र समय कसैले पालना नगरे प्रहरी प्रशासनबाट प्रचलित कानुन अनुसार कडा कार्वाही गरिने समेत नगरपालिकाले चेतावनी दिएको छ ।

साथै नगरपालिकाले दिपावलीको समयमा दियो , मैनबती , पालाहरु बाल्ने एवम विधुतिय उपकरणहरु बाली दिपआवली मनाउंँदा आगजानी जस्ता विपदका घटनाहरु घट्न सक्ने भएकोले सो तर्फ समेत सचेत हुन नगरवासीहरुमा आह्वान गरेको छ ।

नगरपालिकाले देउसी भैलोको रेट निर्धारण गरेपछि मिश्रित प्रतिक्रिया आएका छन् । धेरैले सो निर्णयको स्वागत गरेपनि कतिपयले नगरपालिकाले उर्दी शैलीमा रेट तोकेको भन्दै आलोचना गरेका छन् ।