२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सशस्त्र प्रहरीले सुनसरीमा भत्कायो दसगजा क्षेत्रमा बनाइएका घर–टहरा

Author Uttari Morang
शनिबार, मंसिर ०७, २०७६
सशस्त्र प्रहरीले सुनसरीमा भत्कायो दसगजा क्षेत्रमा बनाइएका घर–टहरा

सशस्त्र प्रहरीले नेपाल–भारतको दसगजा क्षेत्रमा बनाइएका घर–टहरा हटाएको छ ।

सशस्त्र प्रहरी बल साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँगको सहकार्यमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट इन्स्पेक्टर श्यामबाबु राय यादवको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतीय सीमा सुरक्षा बल ५६ बटालियन ए कम्पनी पथदेवाबाट एएसआई मूलराज शर्मा नेतृत्वको एसएसबीको टोलीले संयुक्तरूपमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका अनुसार सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडानम्बर ४ इटरी र भारत विहार राज्यको अररिया जिल्ला सोनापुर ग्रामपञ्चायत १७ गुवारपुच्छीमा पर्ने नेपाल–भारत सीमास्तम्भ नं १८५ र एए ९७४ (मुख्य) देखि सीमास्तम्भ नं. १८४ (मुख्य) सम्म बनाइएका घर टहरा हटाइएको छ ।

बोर्डर इलाकामा नेपालतर्फबाट दशगजा अतिक्रमण गरी बनाइएका ११ वटा घर–टहरा र भारततर्फबाट समेत दसगजा अतिक्रमण गरी बनाइएका ४ वटा घर–टहरा र अन्दाजी १ कठ्ठा १० धुरमा लगाइएको  बाली तथा केराखेती नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका डिएसपी मित्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नेपालतर्फबाट दसगजा अतिक्रमण गरी बनाइएका सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडानम्बर ४ इटरीका पडाडी ठाकुर, भगवान ठाकुर, उमान्द ठाकुर, लक्ष्मी ठाकुर, महेश मेहता, रमेश मेहता, रामदेव मेहता, तेजनारायण मण्डल, रामानन्द मण्डल, किशन मण्डल र कोइथु मण्डलको घर –टहरा र तरकारी बाली तथा केराखेती सशस्त्र प्रहरीले नष्ट गरेको ब्लाष्ट खबरले उल्लेख गरेको छ ।

यसैगरी दसगजा अतिक्रमण गरी बनाएको भन्दै सशस्त्र प्रहरी र भारतीय एसएसबीले जिल्ला अररिया सोनापुर ग्रामपञ्चायत १७ गुवारपुच्छी बस्ने बरामकिशन मेहता, सदान्न मेहता र महम्मद मनसुरको दुईवटा गरी चारवटा घर टहरा हटाएको छ । स्थानीय बासिन्दाले भने सशस्त्र प्रहरीले बिना कुनै जानकारी दसगजाबाट घर–टहरा हटाएको गुनासो गरेका छन् ।