२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई

Author Uttari Morang
मंगलबार, मंसिर २४, २०७६
इतिहास रच्दै नेपालले जित्यो ५१ स्वर्णसहित २०४ पदक, पुरुष फुटबलको स्वर्ण पनि नेपाललाई

दस दिनदेखि जारी दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ स्वर्ण जित्न सफल भएको छ ।

१३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो।

गौरिका सिंहले एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान राखिन्। १३औँ सागमा गौरिकाले ४ स्वर्ण र २/२वटा रजत र कांस्य जितिन् ।

नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दो जित्यो। तेक्वान्दोमा १२ वटा स्वर्ण र जुडोमा १० वटा स्वर्ण जितेको छ। यस्तै, नेपालले ६० रजत र ९६ कांस्य गरी कूल २ सय ६ वटा पदक जित्यो । यसअघिका सागमा नेपालले यति धेरै स्वर्ण जितेको थिएन ।

त्यसैगरी भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ कांस्य सहित कुल ३१२ वटा पदक जितेको छ । श्रीलंका ४० स्वर्ण, ८३ रजत र १२८ वटा कांस्यसहित २५१ वटा पदक सहित तेस्रो भएको छ । पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा कांस्यसहित १३१ पदक, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य, माल्दिभ्सले १ स्वर्ण र ४ वटा कांस्य र भुटानले ७ रजत र १३ वटा कांस्य जितेको छ ।

फुटबलको स्वर्ण पनि नेपाललाई 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भुटानलाई २-१ ले पराजित गर्दै नेपालले स्वर्ण जितेको छ ।

नेपालले १७ औं मिनेटमा लिएको अग्रता भुटानले ३७ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो हाफमा बराबरीमा अड्किएको नेपालका खेलाडीले दोस्रो हाफमा गोल गर्दै नेपाललाई स्वर्ण दिलाएका हुन् ।

१७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । खेलको ५५ औं मिनेटमा सुनिल बलको गोलमार्फत् नै नेपालले स्वर्ण जितेको हो। ५५ मिनेटको सुनिलको गोल नै नेपालको जितका लागि पर्याप्त भयो।

नेपाल साग फुटबलको साबिक विजेता हो । भारतमा सन् २०१६ मा भएको १२औं संस्करणको फाइनलमा नेपालले आयोजक भारतलाई हराउँदै उपाधि जितेको थियो ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो। नेपालले लिग चरणको खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो। भुटान साग फुटबलमा पहिलो पटक फाइनलमा पुगेको थियो  ।