२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

फागुन पहिलो हप्तादेखि हुँदैछ सताक्षी गोल्डकपको तेस्रो संस्करण , तयारी अन्तिम चरणमा

Author Uttari Morang
बुधबार, माघ २९, २०७६
फागुन पहिलो हप्तादेखि हुँदैछ सताक्षी गोल्डकपको तेस्रो संस्करण , तयारी अन्तिम चरणमा

भरत शिवाकोटी, झापा / नेपालले खेलकुद क्षेत्रमा प्राप्त गर्दै गएको सफलताबाट उत्साहित बनिरहेका बेला झापाको शिवसताक्षी नगरपालिकामा रहेका खेलकुद क्षेत्रका अगुवाहरु र खेलकुदप्रेमीहरु सताक्षी गोल्डकपको तीव्र तयारीमा जुटेका छन् ।

सतासिधाम स्पोर्टिङ क्लबको आयोजनामा शिवासताक्षी ८, झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता फागुन ४ बाट शुरु हुने भएको छ।

भारतको दार्जिलिङ एमएफसी फुटबल क्लब सहित नेपालका प्रतिष्ठित आठवटा टिम सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष एवं शिवासताक्षी नगर खेलकुद विकास समितीका अध्यक्ष फुर्वा तामाङले जानकारी दिएका छन ।

प्रतियोगिता अन्तर्गतको पहिलो उदघाटन खेल फागुन ४ गते अपरान्ह ३ बजे आयोजक र मनाङ मर्स्याङ्गदी क्लब बीच हुनेछ भने दोस्रो खेल रुस्लान थ्रीस्टार क्लब, ललितपुर र बेलबारी फुटबल क्लब, मोरङबिच ५ गते हुनेछ । त्यसैगरी तेस्रो खेल त्रिभुवन आर्मी क्लब, काठमाडौं र दार्जीलिंग एमएफसी फुटबल क्लब बीच ६ गते र चौथो खेल गोर्खा ब्वाइज, रुपन्देही र सानमिगेल मछिन्द्र क्लब, काठमाडौं बीच फागुन ७ गते हुनेछ । फागुन ४ गते र ५ गतेको खेलबाट विजयी हुने टिमहरु बीच फागुन ८ गते र फागुन ७ गते र ८ गतेको खेलबाट विजयी हुने टिमहरु बीच फागुन ९ गते सेमी फाइनल खेलमा भिडन्त हुनेछ । फागुन ११ गते फागुन ८ र ९ गतेको सेमी फाइनल खेलबाट विजयी हुने टिमहरु बीच फाइनल खेल हुनेछ ।

कुल ७६ लाख खर्चमा सम्पन्न हुने अनुमान गरिएको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ६ लाख नगद र ३ लाख नगद पुरस्कार प्राप्त गर्ने आर्थिक विभाग प्रमुख सनम इजमले जानकारी दिएका छन । त्यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृस्ट खेलाडीहरुलाई समेत नगद पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाइरहेको परिप्रेक्ष्यमा सताक्षी गोल्डकपले आन्तरिक तथा वाहिय पर्यटकलाई दर्शकको रुपमा खेल हेर्न निम्त्याउने आयोजक समितीका अध्यक्ष रमेश लावतीले जानकारी दिएका छन । १० हजार भन्दा बढी दर्शकले प्याराफिटमा रहेर खेल हेर्न सक्ने व्यवस्था, खेल मैदान सम्याउने र जस्ताको घेराबारा लगाउने काम सम्पन्न भैसकेको छ भने अहिले दिनहु मैदान भिजाउने एवं गेट तथा स्टेज बनाउने कार्य भैरहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता कडा प्रतिस्पर्धाका बीच निक्कै रोचक रहने पुर्व अनुमान गरिएको छ । स्मरण रहोस, सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।