वैदेशिक रोजगारीका क्रममा अधिक पीडित बन्छन् आदिवासी जनजाति महिलाहरु
Uttari Morang
सुमि दर्लामी / वैदेशिक रोजगारमा सबै जात जातिका महिलाहरु जाने गरेको भएपनि पीडित भएर स्वदेश फर्कनेहरुमा आदिवासी, मधेसी र दलित महिलाको संख्या अधिक हुने गरेको छ
। स्वदेश भित्र विभेद र हिंसामा परेर रोजगारीको वैकल्पिक बाटो रोजेका आदिवासी महिलाहरु वैदेशिक रोजगारका क्रममा पनि हिंसामा पर्ने गरेको वैदेशिक रोजगारबाट फर्केका महिलाहरुको संस्था पौरखी नेपालकी पूर्व अध्यक्ष मन्जु गुरुङले जानकारी दिनु भएको छ । भन्नु हुन्छ, —‘यस सम्बन्धी स्वतन्त्र अनुसन्धान त हुन सकेको छैन, तर हाम्रो अनुभवमा विदेशमा समस्या पर्नेमा दलित, मधेशी र आदिवासी जनजाति महिलाहरु नै बढी हुन्छन् ।’
‘ सबै जातका महिलाहरु वैदेशिक रोजगारमा जान्छन्, तर समस्यामा परेर फर्कनेमा आदिवासी जनजाति समूदाय र दलित समूदायका बढी छन् ’ सुनसरीस्थित बराहक्षेत्र नगरपालिका निवासी महिला अधिकारकर्मी दिलु गजमेहरले भन्नुभयो – ‘भर्खरै बराह क्षेत्रमा वैदेशिक रोजगारबाट फर्केका महिलाहरुको तथ्यांक संकलन गरेका थियौ, त्यसमा खस आर्य, मधेशी, थारु, आदिवासी जनजाति, दलित लगायत सबै जात जातिका महिलाहरु सम्पर्कमा आउनु भएको छ । तर, विदेशमा तलव नपाएको, साहुले हिंसा गरेको, बिचल्लीमा परेको समस्या भने आदिवासी जनजाति र दलितमा धेरै पाइयो ।’
विश्वव्यापिकरण र खुला अर्थतन्त्रका कारण विश्व एक गाउँमा रुपान्तरण भएको छ । यही कारणले एक स्थानमा उपलव्ध अवसर अर्को देशका नागरिकले उपभोग गर्नु सामान्य भएको छ । वैदेशिक रोजगारको अवसर पनि यसैको उपज हो । नेपालबाट पनि लाखौको संख्यामा बैदेशिक रोजगारमा जाने गरेका छन् ।
२०७६ असार मसान्त सम्मको सरकारी तथ्यांकमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको संख्या ४५ लाख ९९ हजार ५६७ पुगेको छ । यसमध्ये महिलाको संख्या २ लाख १८ हजार २७३ रहेको छ । यस बाहेक सरकारी स्वीकृति नलिई वैदेशिक रोजगारमा जानेको संख्या औपचारिक माध्यमबाट जानेको भन्दा धेरै गुणाले बढी रहेको अनुमान गरिदैछ ।
बिज्ञान र प्रविधि र बिश्वव्यापिकरणको प्रभावबाट सिर्जित यस अवसरमा पुरुषसरह महिलाहरु पनि सहभागी हुनु स्वभाविक हुन्छ । यसरी महिला पुरुषहरु वैदेशिक रोजगारमा जान थालेकै कारण आम्रो अर्थतन्त्रमा सकारात्मक परिर्तन आएको हो । नेपाल राष्ट्र वैकका अनुसार वैदेशिक रोजगारमा गएका कामदारले प्रेषित गरेको बिप्रेषणकै कारण नेपालको गरीबि न्युन गराउन सहयोग गरेको हो । नेपाल जीवनस्तर सर्र्बेक्षणले देशभरका ५६ प्रतिशत परिवारले विप्रेषणको रकम प्राप्त गर्ने गरेको उल्लेख गरेको छ । यस्तो रकम औसत एक परिवारले चालू मूल्यमा रु. ८०,४३६ प्राप्त गर्छन् ।
यसरी वैदेशिक रोजगारको सकारात्मक पक्षको चर्चा भई रहँदा यसको अर्को पाटो पनि रहेको बिर्सनु हुन्न । वैदेशिक रोजगारको सुनौला सपनाका कारण घरबार बिहिन भएका, ठगी तथा हिंसाका अनेको श्रृंखला पनि साथ साथै आउने गर्दछ । वैदेशिक रोजगारका नाममा गाउँ देखि शहरसम्म र स्वदेश देखि बिदेश सम्म ठगी गर्ने गिरोहको सन्जाल सक्रिय रहेको छ । त्यस सन्जालको सिकन्जा भित्र फस्नेहरु आदिवासी जनजाति र बिशेष गरेर महिलाहरु हुने गर्दछन् ।
‘अधिकांश आदिवासी महिला हरुलाई राम्रो ढंगले नेपाली भाषा बोल्न आउँदैन, प्रशासन यन्त्रहरु उनीहरुको पहुँचमा हुँदैनन्, त्यहीबाट आदिवासी महिलाहरु बिरुद्ध आर्थिक हिंसा सुरु हुन्छ ।’ कैलाली टीकापुरकी लक्ष्मी आचार्यले भन्नु भयो— ‘आर्थिक हिंसाबाट सुरु भएको सिलसिला मानसिक हुँदै शारीरिक हिंसामा बिसर्जन हुन्छ । अन्तिममा यस प्रकारका महिलाहरु बेचबिखनको उच्च जोखिममा पुग्ने गरेका छन् ।’
नेपालमा आप्रवासनको विश्लेषण गरिँदा जातीय खण्डीकृत तथ्याँकका आधारमा विश्लेषण गर्ने परम्परा अत्यन्त्य न्युन छ । यसै कारण वैदेशिक रोजगारको कुरा हुँदा समग्रतामा मात्र कुरा गर्ने गरिन्छ । तर वैदेशिक रोजगारमा जाने समूदायहरु सबै भन्दा बढी भएको समूदाय आदिवासी गुरुङ, तामाङ, मगर, राई लिम्बु, शेर्पा आदि आदि भएझै देशमा सबै भन्दा धेरै बिप्रेषण भित्राउने समुदाय पनि यिनै हुन् । त्यसै गरी वैदेशिक रोजगारका क्रममा ठगिने, हिंसामा पर्ने समुदाय पनि यही हो । अझ आदिवासी महिलाहरु सबै भन्दा बढी यस्तो हिंसामा परेका छन् । त्यसैले वैदेशिक रोजगार मात्र नभनेर वैदेशिक रोजागारमा अदिवासी महिला भन्ने अभियान थाल्नु पर्ने बेला भएको छ ।
(साभारः इन्डिजिनियस फिचर सेवा)




