२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

शारीरिक सुगठन प्रतियोगितामा बेलबारीका मनोजले जिते गोल्ड मेडल, ड्रिमल्याण्डले गर्यो सम्मान

Author Uttari Morang
बिहिबार, चैत्र ०६, २०७६
शारीरिक सुगठन प्रतियोगितामा बेलबारीका मनोजले जिते गोल्ड मेडल, ड्रिमल्याण्डले गर्यो सम्मान
नेपालको राष्ट्रब्यापी शारिरिक सुगठन प्रतियोगितामा गोल्ड मेडलिष्ट मनोज सुवेदीलाई एक कार्यक्रमविच सम्मान गरिएकाे छ ।

बेलबारी -३ मा रहेकाे ड्रिमल्याण्ड फन पार्कले बिहीबार  उनलाई सम्मान गरेकाे हाे । बेलबारी ३ का मनाेजले शनिबार धरानमा आयोजित प्रतियोगितामा ६५ केजी तौल समुहमा गोल्डमेडलिष्ट र समग्रमा चौथो भएका थिए ।

सम्मान कार्यक्रममा उनले १५ बर्ष लागुऔषध दुब्र्यसनीका रुपमा परिचित हुँदा र १४ बर्षयता बडिबिल्डिङमा सहभागी भईरहँदा पनि पटक पटक आफु आफनै गाँउमा अपमानित भएको र समाजले समेत राम्रो नजरले नहेरेको बताउँदा कार्यक्रममा सहभागी धेरैका आँखा समेत रसाए । बेलबारीकै कुनै जिमखानाको प्रतिनिधि भएर खेलमा जाने रहर भएपनि त्यो नहुँदा आफु उर्लाबारीको जिमखानाको प्रतिनिधित्व गरेर जानुपरेको तितो यर्थाथ उनले सुनाए ।

स्थानीय सरकारले समेत बडिबिल्डिङमा ध्यान नदिएको भन्दै उनले फुटबल खेल बाहेक अरु खेल र खेलाडीलाई नहेरेको बताए । महिनौसम्म परेजमा बस्नुपर्ने, डाईट धेरै खानुपर्ने भएका कारण आर्थिक अबस्था कमजोर भएकाहरुले रहर भएर पनि बडी बिल्डिङमा सहभागी हुन नसक्ने उनले बताए ।

सामान्य परिवारमा जन्मिएका आफुलाई डाईट किनेर खान समेत धौ–धौ अबस्था रहेको बिगत उनले सम्झाए । एकदमै कमजोर अबस्थामा पनि आमाले पाएको दुःख र आफनो लागी गरेको त्याग समेत उनले सम्झिए ।

लगुऔषध छोडेर बडिबिल्डिङमा सहभागी हुँदा गाँउले र छिमेकीहरुले ‘ऊ लागुऔषध दुब्र्यसनी आयो, हेर त अनुहार चाउरिएको ,कस्तो फटाहा’ लगायत दर्जनौ अपमानित शब्दले सम्बोधन गर्ने गरेको उनले सम्झिरहेका छन्  ।

सुवेदी करिब १४ बर्षको मेहनतपछि बल्ल गोल्ड मेडलिष्ट बन्न सफल भएका छन् । तर उनले बिगत भुलेका छैनन् । ‘धेरै गाह्रो थियो, मसँग अण्डा किन्ने पैसा समेत नहुँदा कतिपटक त्यतिकै फर्किएको छु । आमाले यस्ले कंगाल बनाउने भो भनेको कुरा देखि समाजको अपहेलनाले धेरै पटक एक्लै रोएको छु ।’

उनको सम्मानका बेलबारीमा पहिलोपटक बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मानपत्र र एक बर्षको सहुलियत कार्य सहित सम्मान गरिएको छ । यो सम्मानले आफुलाई हौसयाएको सुवेदीले बताए ।

ड्रिमल्याण्डका सञ्चालक बिजय सुवेदीले बेलबारीको गहना र देशकै सम्पत्तिका रुपमा रहेका मनोजलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए । कार्यक्रममा बेलबारी १ मा रहेको सयपत्री मल्टि प्रपोज कम्पनीले समेत मनोजलाई ११ हजार रुपैयाको चेकसहित सम्मान गरेको छ । कम्पनिका तर्फबाट माधबराज थापाले उनलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले नगरपालिकाले खेलकुद बिधेयक पारित गरिसकेकोले सबै खेल र खेलाडीहरुलाई समेटेर अघि बढने प्रतिबद्धता जनाए । जेबि थुलुङले सञ्चालन गरेको कार्यक्रममा महेन्द्र सुवेदी लगायतले बोलेका थिए । कार्यक्रममा मनोजले बडिबिल्डिङ समेत शो गरेका थिए ।