२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

सौर्य उर्जा प्रविधिको अनुसन्धानमा उत्कृष्ट ठहरिए नेपाली बैज्ञानिक, जापानमा पुरस्कृत

Author Uttari Morang
बिहिबार, चैत्र २७, २०७६
सौर्य उर्जा प्रविधिको अनुसन्धानमा उत्कृष्ट ठहरिए नेपाली बैज्ञानिक, जापानमा पुरस्कृत

नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा  उत्कृष्ट अनुसन्धान गरेबापत जापानमा पुरस्कृत भएका छन् ।

जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उर्जा क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै डा.खड्कालाई पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यङ साइनटिस्ट प्रदान गरेको हो।

एक नविनतम तथा बहुउपयोगी पदार्थ हेलाइड पेरोभस्काइट प्रयोग गरी सौर्य उर्जाबाट विद्युत उर्जा निकाल्दा आउने चुनौतिको बारेमा गरेको गहन अनुसन्धानलाई उत्कृष्ट ठहर गरिएको हो ।

जापानको शिक्षा, सस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको यस अनुसन्धान संस्थानले पदार्थ विज्ञानका विभिन्न अनुसन्धान केन्द्रहरुमा कार्यरत युवा वैज्ञानिकहरु मध्येबाट प्रत्येक वार्षिक उत्कृष्ट अनुसन्धानकर्ताहरुलाई ‘प्रेसिडेन्टस अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यंग सायनटिस्ट’  प्रदान गर्दछ ।

त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागबाट स्नाकोत्तर गरेका उनले इन्चन नेसनल विश्वविद्यालय दक्षिण कोरियाबाट सन् २०१६ मा विद्यावारिधी पुरा गरेका थिए । खड्का हाल जापानको सायन्स सिटीको नामले चिनिने चुकुबा सिटीस्थित उक्त प्रतिष्ठित राष्ट्रिय अनुसन्धान संस्थानको स्वच्छ उर्जा केन्द्रमा स्टाफ साइन्टिस्टको रूपमा कार्यरत छन् । डा. खड्का सन् २०१६ बाट उक्त अनुसन्धान सस्थानमा कार्यरत छन् ।

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका स्थायी घर भएका डा. खड्काका सौर्य उर्जासंँग सम्बन्धित विभिन्न पदार्थहरुको बारेमा दर्जनौ अनुसन्धान लेखहरु प्रकाशित छन।

निकट भविष्यमा आउन सक्ने उर्जा संकट समाधान गर्न तथा अहिले भईरहेको अत्यधिक कार्बन उत्सर्जनको कारणले निम्तिएको वातावरणनीय प्रभाव न्यूनीकरण गर्न उनको आबिस्स्कार महत्त्वपूर्ण हुने बताइएको छ ।

स्वच्छ वैकल्पिक उर्जाको प्रचुर सम्भावना भएको सौर्य उर्जालाई सस्तो तथा भरपर्दो विकल्प बनाउन खोजिएको र अबका केहि वर्षमा सौर्य उर्जा सबैभन्दा सस्तो वैकल्पिक उर्जा हुने उहांँको दाबी छ।

मानव समुदायको दैनिकी तथा स्वच्छ पर्यावरणसंँग प्रत्यक्ष  जोडिएको वैकल्पिक उर्जाको अनुसन्धानको लागि यस उपाधिले आफुलाई काम गर्न थप उर्जा मिलेको उनले बताए।