नगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत कृषिमा आत्मनिर्भर बन्न सामूहिक खेतीका लागि प्रोत्साहन गर्न थालेसँगै किसानहरु उत्साहित भएर सामूहिक खेतीतर्फ आकर्षित भएका हुन् ।
नगरपालिकाले ११ वटै वडामा माटो र हावा पानी सुहाउदो
अलग अलग बालीको पकेट क्षेत्र घोषणा गरेको छ । मकै, कागती, फलफूल, लिची, कोला, च्याउ तथा पशुसालन आदिलाई प्राथमिकता दिंँदै नगरपालिकाले पकेट क्षेत्र तोकेको छ ।
बेलबारी नगरपालिका– ६ लाइ तोकेको केक मकै जोन कार्यक्रम अरु वाडको भन्दा बढी प्रभावकारी देखिएको छ । परम्परागत रुपमा गरिँदै आएको मकैखेती र अहिले अभ्यास गरिएको खेतीमा धेरै भिन्नता रहेको कृषकहरू बताउछन् ।सामूहिक खेतीबाट थोरै लगानीमा धेरै फाइदा लिन सकिएकोमा स्थानीयहरु दङ्ग छन । बेलबारी ६ यलम्बर टोलका किसान पूर्णबहादुर राईले सामूहिक खेतीले एकआपसमा मिलेर काम गर्न सिकाएको अनुभव सुनाए ।
सोही टोलका अर्का कृषक भूपाल विष्ट यो कार्यक्रमले भावनात्मक विकासका साथै उत्पादनमा पनि वृद्धि गरेको बताए । अरु बेलाका भन्दा घोगा पनि ठूलठूला लागेेेपनि किराले केही दुःख दिएकोमा चिन्तित छन ।
वडाका सबै कृषक लाभान्वित हुने गरी १२ बिघा जमिनमा सामूहिक मकैखेती गरेको, किसानले पनि सामूहिक खेतीबाट मनग्य आम्दानी गरेका छन । वडाले टोल विकास संस्थामार्फत कृषकलाई सामूहिक खेती गर्न सिकाउदै आएको छ ।
मकैजोन कार्यक्रम अन्तर्गत कृषकलाई प्राविधिक ज्ञान तथा एक टोल विकास संस्थालाई नगद ५० हजार रुपैयाँ सहयोग गरिएको बेलबारी नगरपालिका वडा न। ६ का अध्यक्ष उदयबहादुर राईले बताउछन ।
कार्यक्रमलाई सफल पार्न बेलबारी नगरपालिकाका कृषि प्राविधिकले कृषकलाई मकैखेतीसम्बन्धी प्राविधिक ज्ञान तथा तालिमसमेत दिदै आएका छन । ६ दिनसम्म मकै लगाउने, गोड्ने, सिँचाइ, मल तथा रोगसम्बन्धी तालिम दिएर मात्रै कृषकलाई खेती गर्न लगाएको, उक्त कार्यक्रमबाट नौ सयभन्दा बढी कृषक लाभान्वित भएका वडा कार्यालयले जनाएको छ ।
बेलबारी नगरपालिकाले ल्याएको यो कार्यक्रम धेरै उपयोगी देखिन्छ । देशमा केही हुन्न भनेर ठूलो सङ्ख्यामा युवा जनशक्ति विदेश पलायन भैरहेको बेलामा अघि सारिएको यस्तो कार्यक्रमले आफ्नै गाउँमा केही हुने रहेछ भन्ने सन्देश दिएको छ ।