काठमाडौं मेडिकल कलेजले थाल्यो कोरोना संक्रमितको उपचार, संक्रमित महिलाले जन्माइन् बच्चा
Uttari Morang
कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पतालहरुमा उपचार नपाएर ज्यानै गुमाउनु परेको घटना बढिरहेका बेला सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले कोरोना संक्रमितको उपचार गर्न थालेको छ ।
बिराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले काठमाडौं मेडिकल कलेज अध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै सेवा सुबिधा पनि बिस्तार गर्ने क्रममा त्यस्तो उपचार थालिएको हो । केही दिनअघिबाट ओपीडी निःशुल्क गराएका डा.शर्माले अहिले कोरोना संक्रमितकै उपचार हुने वातावरण मिलाएका हुन् । यसैबीच कलेजमा भर्ना भएकी २७ बर्षीया कोरोना संक्रमित सुत्केरी महिलाले बच्चा जन्माएकी छन् । काठमाडौंको असनकी संक्रमित ती महिलाको शुक्रबार शल्यक्रिया गरी बच्चा (छोरा) निकालिएको हो । कलेजका बरिष्ठ चिकित्सकहरुले संक्रमणबाट जोगिन उच्च सावधानी अपनाउँदै शल्यक्रिया गरी बच्चा निकालेका हुन् । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य छ । संक्रमित ती सुत्केरीलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।
४१ हप्ताकी गर्भवती ती महिलालाई सुत्केरी व्यथा नलागेर पाठेघरको मुख नखुलेपछि व्यथा लगाएर सुत्केरी गराउने तयारी गरिएको थियो । सोही क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आयो । संक्रमण पुष्टि भएर पनि अस्पतालले शल्यक्रिया गरी बच्चा निकालेको भन्दै सुत्केरी महिला र उनको परिवार हर्षित छन् । केएमसीमा कोभिड, नन कोभिड र कोभिड आशंका गरिएका बिरामीलाई छुट्टा छुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाईएको अस्पतालका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।




