२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

उपचार खर्च अभावले थलिएकी बालिकाको डा. शर्माले गराइदिए अप्रेसन

Author Uttari Morang
आइतबार, माघ १८, २०७७
उपचार खर्च अभावले थलिएकी बालिकाको डा. शर्माले गराइदिए अप्रेसन

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् ।

डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराईदिएका हुन् ।

बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउन नसक्दा उनको उपचार हुन सकेको थिएन । जन्मिएको करिब एक महिनादेखिनै निधारमा निस्किएको डल्लो बढ्दै जाँदा उनलाई आँखा हेर्नसमेत समस्या हुने गरेको थियो । तरपनि, पैसा अभावमा उनको उपचार हुन सकेको थिएन ।

नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूमार्फत विरामीको अवस्था थाहा पाएपछि डा. शर्मा उनको घरमै पुगेका थिए । उनले विरामीको पारिवारिक अवस्था बुझेर नोबेल अस्पतालमा ल्याई बालिकाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाईदिएका छन् । डा. शर्माले करिब दुई लाख मूल्य बराबरको औषधि उपचार निःशुल्क गराईदिएका छन् ।

पैसा अभावले उपचार गर्न नसकिरहेको अवस्थामा डा. शर्माले सम्पूर्ण खर्च ब्यहोरेर निःशुल्क उपचारको व्यवस्था मिलाईदिएपछि अहिले बालिकाको परिवार हर्षित छ । ‘पैसा अभावले छोरीको उपचार गर्न सकिरहेका थिएनौं ।’ बालिकाका बुबा विकासले भने–‘सुनिल सरले सबै खर्च निःशुल्क गरेर उपचारको व्यवस्था मिलाईदिदा ढुंगा खोज्दा देउता मिलेजस्तो भयो ।’

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टिमले बालिकाको निधारमा पलाएको ट्यूमरको सफल शल्यक्रिया गरेको हो । शल्यक्रियापछि बालिका अहिले अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।