शहिद भीम नारायण श्रेष्ठ, जसलाई पञ्चायती सरकारले मत्युदण्ड दिएको थियो
Uttari Morang
तत्कालिन पञ्चायती सरकारबाट मत्युदण्ड पाएका धनकुटाका शहिद भीम नारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाका तन्नेरी नेता भीम नारायण श्रेष्ठलाई विराटनगरमा २०३० साल चैत्र ३ गते भएको बम काण्डमा नेतृत्व गरेको आरोपमा पाँच बर्ष सम्मको कठोर जेल सजायपछि २०३५ साल माघ २६ गते कोशी टोप्पुमा लगेर तत्कालिन पञ्चायती सरकारले गोली हानी मृत्यु दण्ड दिएको थियो ।
धनकुटाको सहिद भीम नारायण चोकमा सोमबार भएको कार्यक्रममा सहीद भीम नारायण श्रेष्ठका जेष्ठ सुपुत्र मनोज नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, रविन्द्र नेपाली, कोषाध्यक्ष दिनेश राई, सहिद भिम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सचिव रोशन श्रेष्ठ, नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमला, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र सुब्बा, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले सहिद भीम नारायण श्रेष्ठको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रम सहिद भीम नाराण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष परेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा भएको थियो ।
२०७४ साल माघ ४ गते नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा प्रधान मन्त्री रहनु भएको सरकारले भीम नारायण श्रेष्ठलाई राष्टिय सहिद घोषणा गरेको थियो ।




