२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी खानेपानीको अध्यक्षमा रुक्मणी बिजयी, संस्थाको चुनावमा पनि स्थानीय निर्वाचनकै झल्को

Author Uttari Morang
आइतबार, चैत्र ०८, २०७७
बेलबारी खानेपानीको अध्यक्षमा रुक्मणी बिजयी, संस्थाको चुनावमा पनि स्थानीय निर्वाचनकै झल्को

साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बेलबारीको अध्यक्षमा रुक्मिणी धिमाल बिजयी भएकी छिन् ।

शनिबार संस्थाको तेस्रो साधारणसभाका क्रममा भएको निर्वाचनबाट नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेतको समर्थनमा संयुक्त गठबन्धनकी उम्मेदवार कांग्रेस पार्टीकी रुक्मिणी अध्यक्षमा बिजयी भएकी हुन् ​।

धिमालले ७ सय ५२ मत ल्याएर बिजयी बन्दा नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका खेम प्रसाद गौतमले १ सय ८७ मत मात्र प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा गठबन्धनकै डिल्लीराज गिरी (उत्तम) ले ५ सय ३९ मत ल्याएर बिजयी भएका छन् । प्रत्यासी तोषित सुवेदीले ३ सय ७७ मत ल्याएका थिए ।

खुल्ला सदस्यमा प्रेमबहादुर गुरुङले ६ सय ६३, गणेश बस्नेत ६ सय ६ मत ल्याएर बिजयी भएका छन् । सदस्यका अर्का उम्मेदवार प्रकाश भण्डारीले ३ सय १७ मत मात्रै पाए ।

१ हजार ५ सय बढी मतदाता रहेको खानेपानीको निर्बाचनमा १ हजार ४३ मत खसेको थियो । जसमा ७० मत बदर भई ९ सय ७३ मत मात्र सदर भएको थियो । बेलबारी ३ स्थित भगवती माविमा शनिबार भएको निर्बाचनमा एकातर्फ कांग्रेस, माओबादी र जसपाको संयुक्त गठबन्धनबाट उम्मेदवारहरु निर्बाचन लडेका थिए भने अर्कोतिर एमाले समर्थित उम्मेदवार चुनाव लडेका थिए  ।
यसअघि उपाध्यक्षमा जसपाका केशव घले, सचिवमा माओवादी केन्द्रका जगत क्षेत्री, सदस्यमा बबिता राई , सर्मिला मगर र सीतादेवी बास्तोला निर्बिरोध निर्बाचित भईसकेका छन् ।

खानेपानीको चुनावी साधारणसभा मा राजनीतिक दलहरू दुई ध्रुवमा बाँडिएका थिए । दलका नेता, कार्यकर्ताहरुको सक्रियता, साधारण सभास्थलको चहलपहल र  माहोल भने स्थानीय चुनावकै झल्को दिने खालको थियो ।

साधारणसभामा आर्थिक बर्ष २०७१/०७२ देखि २०७६/०७७ सम्मका प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । जसमा अध्यक्ष महेन्द्र प्रसाद सुवेदीले अध्यक्षको प्रतिवेदन, सचिव अमरबहादुर सुवेदीले प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष प्रतापकुमार थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।                                                        बेलबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हाल ब्यबस्थापक, सब-इन्जिनियर, कम्प्युटर अपरेटर, ल्याब टेक्निसियन, कार्यालय सहयोगी, पम्प अपरेटर, प्लम्बर, मिटर रिडर र फिल्ड हेल्पर सहित ११ कर्मचारी छन् । – अम्बिका भण्डारी