२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

असिनाले मरुभूमी बन्यो धनकुटाको तरकारी जोन, एउटै गाउँमा ३० करोडको क्षति

Author Uttari Morang
शनिबार, बैशाख ०४, २०७८
असिनाले मरुभूमी बन्यो धनकुटाको तरकारी जोन, एउटै गाउँमा ३० करोडको क्षति
बाह्रै महिना तरकारी खेतीले हराभरा देखिने धनकुटाको तरकारी जोन सिंधुवा क्षेत्र बैसाख २ गते परेको असिना पानीका कारण मरुभूमी जस्तै देखिएको छ ।

करिव २४ घण्टा मध्येपहाडि लोकमार्ग र स्थानिय बाटाघाटाहरु अवरोध हुनेगरी परेका असिनाले सिंधुवा क्षेत्रका फर्म र ब्यक्तिगत रुपमा लगाईएको हरियो घाँस नष्ट हुंदा गाउँका चौपायाहरु समेत भौकले कराईरहेका देखिन्थे ।

मरुस्थल जस्तै देखिएको सिंधुवा क्षेत्रमा अहिले चराचुरुङ्गीहरुको आवाज बिहिन सुनसान बनेको छ भने असिनाले टिनका छाने,खानेपानी टंकीमा र घर बाहिर राखिएका भाँडावर्तनहरु पुटेका छन् ।

असिनाले लागेर केहि ब्यक्तिहरुको टाउकोमा चोट समेत लागेको स्थानियबासीहरुले जानकारी दिएका छन् ।

 हाल सबै क्षेत्रबाट तथ्यांक संकलन गर्ने काम भईरहेकोले क्षतिको यकिन तथ्यांक आएको छैन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई तेह्रथुम तथा जोन ईकाई धनकुटा अन्तर्गत सिुधवा क्षेत्रको.१ हजार २ सय १० हेक्टरमा लगाईएको सबै तरकारी बाली नष्ट भएको छ ।

ईकाइका प्राविधिक सहायक भर्मराज कटुवालका अनुसार छथर जोरपाटी वडा नं.६,५ र २, महालक्ष्मी नगरपालिका वडा नं.८,९र १ मा लगाईएको सबै तरकारीबाली नष्ट भएका छन् ।

बेलुकीपख करिव ४५ मिनेट भन्दा बढी परेको असिना पानीले छथर जोरपाटी गाउँपालिकाको सिंधुवा जोन क्षेत्रमा लगाईएको काउली, बन्दा, आलु, मटरकोसा, साग, नर्सरी र टनेलहरु नष्ट गरेका छन् ।

छथर जोरपाटी गाउँपालिका वडा नं.६ को मजुवा गाउँमा मात्र करिव ३० करोड बरावरको क्षति भएको जिल्ला सहकारी संघ धनकुटाका कोषाध्यक्ष समेत रहेका स्थानिय अगुवा कृषक युवराज थापाले जानकारी दिनुभयो ।

उक्त गाउँमा करिव ३ सय घरले लगाएको सबै तरकारी नष्ट उहाँले जानकारी दिनुभयो ।

क्षतिको बिवरण संकलन तथा अनुगमन गर्न प्रतिनिधि–सभा सदस्य राजेन्द्र कुमार राई,प्रदेश ‘ख’ का सभासद् ईन्द्रमणी पराजुली तथा जिल्ला प्रशासन कार्यालय धनकुटा र पत्रकारहरुको टोली सिंधुवा पुगेको थियो ।

 बिपतपछि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्ष भीमला क्षेष्ठको नेतृत्वमा क्षतिको बिवरण संकलन गर्ने काम भईरहेको पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।