२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा बाँडिएका बोयर बोका बाख्राबारे विवाद, नगरपालिकाले छानबिन गर्ने

Author Uttari Morang
मंगलबार, जेठ १८, २०७८
बेलबारीमा बाँडिएका बोयर बोका बाख्राबारे विवाद, नगरपालिकाले छानबिन गर्ने

‍‍अस्ट्रेलियाबाट ल्याइएको भनिएका र हालै कृषकहरुलाइ बितरित सवा करोड बराबरका बोयर बोकाबाख्राहरु नक्कली भएको भन्दै सर्वत्र बिरोध भएपछि बेलबारी नगरपालिकाले त्यसबारे छानबिन गर्ने भएको छ ।

किसानलाई वितरण गरिएका बोका र  पाठीबारे बिवाद र आलोचना भएपछि नगरपालिकाले छानबिन एवम्  सक्कली बोयर नभएको प्रमाणित भए आयात गर्ने कम्पनीलाई कारबाही गर्ने भएको हो ।

सम्झौता अनुसार ‘शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर जातका’ बोका बाख्रा ल्याउनुपर्नेमा ती बोका बाख्रा अष्ट्रेलियाबाट ल्याइएको दावी झुटो सावित भएको छ ।

गत शनिबार नगरपालिकाले किसानलाई ५२ ओटा वोका र ३८ वटा पाठी वितरण गरेको थियो । त्यसलगत्तै वितरित बोकापाठीहरु भनिए अनुसारका शुद्ध प्रजातिको नभएको र अष्ट्रेलियाबाट नल्याइएको भनेर तिब्र आलोचना भएकोपछि नगरपालिकाले सोमबार बिज्ञप्ति नै निकालेर यसबारे छानबिन गर्ने र किर्ते काम गरेको पुष्ठी भए भुक्तानी रोक्का गर्ने जनाएको छ ।

नगरपालिकाले किसानहरुका लागि उन्नत जातका ‘फुल ब्लड अष्ट्रेलियन’ बोयर बोकाबाख्रा ल्याउन ग्रो अर्गानिक कृषि प्रा.लि.सँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार नै तोकिए बमोजिमका बोकाबाख्रा अष्ट्रेलियाबाट लाइएको प्रचार गरिएपनि अहिलेसम्म अष्ट्रेलियाबाट बोकापाठी नभित्रिएको पशुसेवा विभाग अन्तर्गतको आयात निर्यात नियमन शाखाले जानकारी दिएको छ ।

प्रजाति विस्तार ब्रिडिङका लागि ल्याइने बोकाबाख्रा आयात गर्नुअघि पशुसेवा विभागमा सम्पुर्ण विवरण सहित अनिवार्य अग्रिम जानकारी गराउनुपर्ने नियम भएपनि हालसालै त्यस्तो जानकारी नआएको पशुसेवा बिभागका डेस्क अफिसर डाक्टर मनोज शाहीले बताए । त्रिभुवन विमानस्थल वा छिमेकी भारत वा चिनसँगको जमिनको नाकाबाट ल्याइने सम्पुर्ण पशुका बारेमा विभागमा अनिवार्य जानकारी हुनुपर्ने ब्यबस्था भएको तर त्यसरी अष्ट्रेलिया मात्रै होइन, भारत र चिनबाट पनि बोकाबाख्रा आयात नभएको डाक्टर शाहीले बताए ।

बिदेशबाट  ल्याइने बोकाबाख्राका विषयमा जन्मसहित तिन पुस्ते जानकारी सहितको विवरण नै अग्रिम उपलब्ध हुनुपर्ने प्रावधान रहेको तर कोभिड सुरु भएयता विगत १ वर्ष यता अष्ट्रेलियाबाट कुनै बोका बाख्रा नभित्रिएको शाहीले जानकारी दिए । शाहीका अनुसार हालसम्म अष्ट्रेलियाबाट करिब साँढे ४ सय बोयर बाख्राहरु मात्रै नेपाल भित्रिएका छन् ।
पशुसेवा विभागका क्वारेन्टाइन अफिसर डाक्टर मोदनाथ गौतमले पनि ब्रिडिङका लागि ल्याइने बोकाबाख्रा क्वारेन्टाइन वा आयात अनुमति माग नभएको बताए ।

सोमबार विज्ञप्ती जारी गर्दै बेलबारी नगरपालिकाले सम्झौता बमोजिमको बोकाबाख्रा पुष्टि नभएमा र मापदण्ड पुरा भएको नदेखिएमा ग्रो अर्गानिक प्रा.लि. को धरौटी जफत गरी कालोसुचीमा राखेर कानुनी प्रकृया अघि बढाउने जनाएको छ । मेयर ज्ञानेन्द्र सुवेदीले विज्ञप्ती जारी गर्दै ग्रो अर्गानिक कम्पनीलाई अहिलेसम्म कुनैपनि रकम भुक्तानी नगरिएको स्पष्ट पारेका छन् ।

नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत प्रदिप शाहले सो कम्पनीका प्रतिनिधिले ती बोकाबाख्रा ल्याउने क्रममा आफुहरुसँग अष्ट्रेलियाबाटै आउँदै गरेको भनेर पटक पटक दावी गरेको पनि बताए । शाहका अनुसार सो कम्पनीले २ दिनभित्रमा बोकाबाख्राका सम्पुर्ण जानकारी विवरण र आयात सम्बन्धीका सबै डकुमेन्ट नगरपालिकामा बुझाउने प्रतिवद्धता जनाएको छ । सम्झौता विपरितका काम भएको भए भुक्तानी नहुने शाहले बताएका छन् ।
उता ग्रो अर्गानिक प्रा. लि. का प्रतिनिधि श्याम पाण्डेले भने ती बोकाबाख्रा अष्ट्रेलियाबाट भारतको लखनउमा ल्याण्ड गरेर गाडीबाट नेपाल भित्र्याइएको दावी गरेका छन्  । पाण्डेले अष्ट्रेलियाको बोयर बाख्रा उत्पादन गर्ने सम्बन्धित कृषि फर्मबाट कागजातहरु झिकाउने र भन्सार सम्बन्धीका सबै कागज प्रमाणहरु पनि नगरपालिकामा पेस गर्ने दाबी गरेका छन् ।