२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

चिरफार नगरी दुरबिनको माध्यमबाट नोबेलमा गरियो मस्तिष्कको शल्यक्रिया

Author Uttari Morang
बुधबार, जेठ १२, २०७८
चिरफार नगरी दुरबिनको माध्यमबाट नोबेलमा गरियो मस्तिष्कको शल्यक्रिया

‍नोबेल शिक्षण अस्पतालमा चिरफार र घाउ नबनाई दुरबिनको माध्यमबाट मस्तिष्क भित्रको ट्यूमरको सफल शल्यक्रिया गरिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–११ की ३५ बर्षीया देवी राना मगरको नाकबाट इण्डोस्कोप छिराएर दुरविनको माध्यमबाट मस्तिष्कको शल्यक्रिया गरिएको हो ।

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टोलीले मगरको सफल शल्यक्रिया गरेको हो । नाकको प्वालबाट ईण्डोस्कोप छिराई दुरविनको माध्यमबाट विना चिरफार ‘पिट्वीटरी ग्राल्न्ड’ को सफल शल्यक्रिया गरिएको वरिष्ठ न्यूरो सर्जन डा. काफ्लेले जानकारी दिए ।

यस्तो शल्यक्रिया विरामीका लागि निकै लाभदायी हुने डा.काफ्ले बताउँछन् । उनी भन्छन्, ‘दुरविनबाट शल्यक्रिया गर्दा छिटो हुने, रगत धेरै खेर नजाने, विरामी लामो समय अस्पताल बस्नु नपर्ने, चोट नदेखिने र कम खर्चिलो भएकाले विरामीलाई सहज हुन्छ ।’

मगरलाई करिब १७ बर्ष अघिदेखि टाउको दुख्ने समस्या सुरु भएको थियो । सधै नदुख्ने तर, दुखेपछि खपिनसक्नु गरी दुख्ने हुँदा उनी बर्षौ अघिदेखि पीडा झेल्दै आएकी थिइन् । केही दिनअघि निरन्तर टाउको दुखेपछि उनलाई अस्पताल भर्ना गरियो । अस्पतालमा परीक्षण गराउँदा मस्तिष्क भित्रको ट्यूमर पत्ता लाग्यो । डाक्टरले शल्यक्रिया गराउँन सुझाव दिएपछि उनी डराएकी थिइन् । ‘अप्रेशन भन्ने वित्तिकै चिरफार गर्नुपर्ने जस्तो लाग्छ, त्यस्तै होला भनेर डर लागेको थियो । तर, बाहिर देखिने गरी कतै घाउ नै नबनाई मस्तिष्कको अप्रेशन हुँदा खुशी लागेको छ,’ मगरले भनिन् ।

अप्रेशनपछि स्वास्थ्यमा सुधार आएपछि उनी अहिले अस्पतालबाट डिस्चार्ज भई घर फर्किएकी छन् । टाउकोमा पानी जमेको, दिमागमा रगत जमेकोसहित ट्यूमरहरुको अप्रेशन नोबेलमा दुरविनको माध्यमबाट गरिदै आएको छ । करिब चार बर्ष अघि दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको नोबेलले दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।