२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

नोबेलमा शल्यक्रिया गरी पेटबाट निकालियो दाँत माझ्ने ब्रस

Author Uttari Morang
बुधबार, आषाढ ०२, २०७८
नोबेलमा शल्यक्रिया गरी पेटबाट निकालियो दाँत माझ्ने ब्रस

नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको  शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ ।
.
दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् ।

गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा चिप्लिएर ब्रस पेटभित्र पसेको मगरले बताए । ‘दाँत माझ्ने क्रममा जिब्रो पनि सफा गर्नु पर्यो भनेर ब्रस अलिक भित्र छिराएर सफा गर्दै थिए । हात पनि र्यालले चिप्लो भएको थियो, एक्कासी चिप्लिएर ब्रस भित्र पस्यो,’ मगरले भने, ‘दुख्ने, पोल्ने त खासै भएन तर, त्यत्रो ब्रस नै पेटमा छिर्दा अब के हुन्छ भनेर तनाब भयो ।’

उनले आत्तिदै घरमा आएर ब्रस पेटभित्र छिरेको सुनाएपनि परिवार र छरछिमेकीलेसमेत सुरुमा उनको कुरा पत्याएनन् । ‘ब्रस निले भन्दै धाराबाट आउँनु भयो, सुरुमा त जिस्किएर भनेको होला जस्तो लाग्यो, पछि हो रहेछ भन्ने भएपछि सात्तै गयो, त्यत्रो ब्रस कसरी निल्नुभयो भनेर छक्क परे,’ उनकी श्रीमति पुनमले भनिन् ।

ब्रस पेटमा पसेपछि मगर आत्तिएर विराटनगरस्थित नोबेल शिक्षण अस्पताल अइपुगेका थिए । अस्पतालमा इन्डोस्कोपी गरेर हेर्दा ब्रस पेटभित्र देखियो । नोबेलका चिकित्सकले इण्डोस्कोपीबाटै ब्रस तान्ने कोसिस गरेका थिए, तर निस्किएन । त्यसपछि पेटको सानो भाग चिरेर १५ सेन्टिमिटरको ब्रस पेटबाट निकालिएको नोबेलका शल्यचिकित्सक डा. अमित भट्टराईले जानकारी दिए । नोबेलका चिकित्सक डा.भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले बिहिबार शल्यक्रिया गरेर ब्रस निकालेको हो ।

ब्रस पेटमा छिर्दा पनि उनमा खासै ठूलो स्वास्थ्य समस्या देखिएको थिएन । तर, अब के होला भनेर उनीहरु आत्तिएका थिए । ब्रस पेटबाट निकालिसकेपछि अहिले उनको अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य भइसकेकाले अब उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएको नोबेलले निकै जटिल र दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।