२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बोयर खरिद काण्डमा मेयर उपमेयरको बदनाम गर्न खोजियो भन्दै बेलबारी नपाको आपत्ति

Author Uttari Morang
आइतबार, आषाढ ०६, २०७८
बोयर खरिद काण्डमा मेयर उपमेयरको बदनाम गर्न खोजियो भन्दै बेलबारी नपाको आपत्ति

मोरङको बेलबारी नगरपालिकाले संचार माध्यमहरुलाई तथ्यहिन, निराधार र भ्रामक समाचार प्रकासन प्रसारण नगर्न संचार माध्यमहरुलाई आग्रह गरेको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख,उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको नाम जोडेर भ्रटाचार गरेको उल्लेख गरी समाचार आएको भन्दै  नगरपालिकाले बिज्ञप्ती निकालेर गम्भिर ध्यानाकर्षण गरेको हो ।

बिज्ञप्तिमा बेलबारी नगरपालिकाले सूचनाको हकको सम्मान गर्दै सरोकारवालालाई माग गरेको सूचना र जानकारी सहज ढङ्गले उपलब्ध गराउदै आएको अवस्थामा केहि मिडियामा नगरसँग सूचना र जानकारी लिने वा सत्य तथ्य खोजी गर्ने भन्दा पनि तथ्यहिन, निराधार र भ्रामक समाचार प्रकासन र प्रसारण गर्ने गरेको प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

नगर प्रमुख ज्ञानेन्द्र सुवेदीद्धारा हस्ताक्षर गरीएको बिज्ञप्तिमा संचार माध्यममा आम जनतालाई भ्रममा पार्ने गरी विना प्रमाण तथ्यहिन, कपोकल्पित र पूर्वाग्राह राखेर कसैको चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगर्न सचेत गराइएको छ ।

बिज्ञप्तिमा भ्रम सृजना गरी चरित्र हत्या गर्नु निन्दनिय र घृणित कार्य मात्र नभई मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ को उपदफा २ क बमोजिम कसुर ठहरिने हुनाले यस्ता भ्रामक र घृणित कार्य नगर्न र नगराउन ध्यानाकर्षण गराउँछौँ भनिएको छ ।

बिज्ञप्तीमा भनिएको छ “संचार माध्यम राज्यको चौथो अङ्ग हो, स्वतन्त्रता, निष्पक्षता र जवाफदेहिताको सिद्धान्तमा आधारित संचार माध्यम लोकतान्त्रिक मुलुकको पुर्व सर्त हो । यस सन्दर्भमा संचार माध्यमको भूमिका र महत्वमाथि नगरपालिकाको सदैव सम्मान रहन्छ । संचार जगतले समेत आफ्नो आचरण र पेशागत मर्यादा कायम गरी निष्पक्ष र तथ्यपरक समाचार संप्रेषण गर्न अनुरोध गर्दछौँ ।”

बेलबारी नगरपालिकाले ग्रो अर्गानिक कृषि प्रा.लि. संखुवासभासँग सम्झौता गरी अष्ट्रेलियन फुल बल्डको बोयर बोका र बाख्रा ल्याउन कार्यादेश दिएको थियो । तर सम्झौतामा उल्लेख भएको शर्त र मापदण्ड विपरित नवलपरासीबाट बोकाबाख्रा ल्याएर झुक्याएपछि बेलबारी नगरकार्यपालिकाको मिति २०७८।०२।३१ को ६९ औँ बैठकले ठेक्का रद्द गरी ग्रो अर्गानिक कृषि प्रा.लि संखुवासभालाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँलाई सिफारिस गरी धरौटी समेत जफत गर्ने निर्णय समेत गरेको थियो ।

  तर संचार माध्यमहरुमा बोका बाख्रा खरिद बारे नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकयि अधिकृतको मिलेमतो भएको भन्दै समाचार प्रकासन प्रशारण गरेपछि बिज्ञप्ति आएको हो ।