२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

‘बोयर’ खरिद काण्डको छानविन सकियो, बेलबारी नगरपालिकालाई बुझाइयो प्रतिवेदन

Author Uttari Morang
सोमबार, भाद्र ०७, २०७८
‘बोयर’ खरिद काण्डको छानविन सकियो, बेलबारी नगरपालिकालाई बुझाइयो प्रतिवेदन

बेलबारी नगरपालिकाले कृषकलाई अनुदानमा दिन खरिद गरिएका बोयर बोका बाख्रा खरिद काण्डको विषयमा छानविन गर्न गठित समितिले बेलबारी नगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।

बेलबारी नगरपालिकाले गठन गरेको बेलबारी बोयर बाख्रा छानबिन समितिले २ महिनापछि आईतबार साँझ नगरपालिकालाई प्रतिबेदन बुझाएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई छानबिन समिति संयोजक बिन्दुकला गुरुङ, समितिका सदस्य एवम् प्रवक्ता राजेन्द्र अधिकारी, सदस्यहरु किशोर भण्डारी र केशव थापा मगरले प्रतिवेदन बुझाएका थिए । समितिले तयार पारेको प्रतिवेदन लाहाछाप सिलबन्दी सहित बुझाइएको छ ।

अष्ट्रेयलियाबाटै ल्याएर शतप्रतिशत शुद्ध बोयर बोकापाठी बेलबारीका किसानलाई वितरण गर्ने भनिएपनि गुणस्तर र मापदण्ड अनुसार नभइ लोकल जस्ता बोका बाख्रा बितरण भएपछि चर्को आलोचना भएको थियो । १ करोड २४ लाख रुपैयाँको बजेटमा खरिद गरिएका भनिएका बोकापाठी वितरण गर्ने कार्यक्रम अनुसार जेष्ठ १५ गते ‘बोयर| वितरण गरिएको थियो ।

वितरण गरिएका ‘बोयर’ बोकापाठीका विषयमा तिब्र विरोध भएपछि नगरपालिकाले कार्यपालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । गत असार ५ गतेबाट कार्य प्रारम्भ गरेको समितिमा नेपाली कांग्रेसका राजेन्द्र अधिकारी,माओवादी केन्द्रका किशोर भण्डारी र जनता समाजवादी पार्टीका केशव थापामगर सदस्य थिए ।

दुई महिना लगाएर तयार पारिएको सो प्रतिवेदन १ सय ६० पृष्ठको छ । जसमा १५ दफा तथा ४५ अनुसुची समावेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । छानविनका क्रममा सकेसम्म यथार्थ पत्ता लगाउन कडा परिश्रम र मेहनत गरिएको अधिकारीले बताए । समिति संयोजक विन्दुकला गूरुङले पनि आफुहरुले पाएको जिम्मेवारी इमान्दार ढंगले पुरा गरेको भन्दै सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएकी छिन् ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा नेकपा माओबादी केन्द्र बेलबारी नगर अध्यक्ष पर्शुराम सुवेदी, नेपाली काँग्रेस सभापति शम्भु भट्टराई,जनता समाजवादीका कमलबहादुर गुरुङ,बेलबारी नगरपालिकाका प्रवक्त्ता योगेन्द्र सुवेदी लगायतको सहभागिता थियो ।

नगरप्रमुख सुवेदीले पनि कार्यपालिकाको बैठकमा छलफल गरी आवश्यक निर्णय गरेर चाँडै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।