२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

१४ दिनको नवजात शिशुको केएमसीमा सफलतापूर्वक गरियो जटिल शल्यक्रिया

Author Uttari Morang
आइतबार, आश्विन २४, २०७८
१४ दिनको नवजात शिशुको केएमसीमा सफलतापूर्वक गरियो जटिल शल्यक्रिया

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १४ दिनको नवजात शिशुको जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरिएको छ । बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

सिनामंगल गैरीगाउँका सरस्वती तामाङको कोखबाट जन्मिएको बच्चामा जन्मजात यस्तो हर्निया देखिएको थियो । चिकित्सकहरुका अनुसार बच्चाको पेट र छातीको बिचमा हुँने डायफ्राम मांसपेशीमा प्वाल थियो । पेट र छातीलाई छुट्याउँने पत्र (डायफ्राम) मा प्वाल परेका कारण पेट भित्र रहनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातिमा पुगेको थियो । जसका कारण बच्चालाई श्वास फेर्न गाह्रो भएको थियो । सामान्यतया ३७ हप्तामा बच्चा जन्मिने भएपनि सरस्वतीले ३५ हप्तामै छोरालाई जन्मदिएकी थिइन् ।

थापाथली अस्पतालमा नर्मल डेलिभरी भएको सो बच्चालाई रेफर गरेर केएमसी ल्याइयो । केएमसीका बाल तथा नवजात शिशु सर्जन डा.आशिस लाल श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको टोलीले बच्चाको सफलतापूर्वक शल्यक्रिया गरेको हो । ‘डायफ्राम प्वाल परेर छातिमा पुगेको कलेजो, आन्द्रा, आमाशय र फियोलाई शल्यक्रिया गरी पेटमा ल्याई प्वाल टालेका छौं,’ डा.श्रेष्ठले भने, ‘यो निकै जटिल र दुर्लभ समस्या हो । अप्रेशन सफल भयो, अहिले बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।’

समय नपुगी जन्मिएको बच्चा, आमाको दुध भन्दा अन्य कुरा खुवाउँदा समस्या हुँने र बेहोस पर्दा होस खुल्न गाह्रो हुँने जस्ता करणले यस्तो शल्यक्रिया निकै जटिल हुँने डा.श्रेष्ठ बताउँछन् । उनी भन्छन् ‘एक त यो निकै जटिल अप्रेशन हो, केएमसीमा हामीले पहिलो पटक यस्तो अप्रेशन गरेका हौं । त्यसमाथि ५ हजार ज्यूदो बच्चा जन्मिदा सरदर एक जनामा मात्र यस्तो हर्निया देखिने हुँनाले यो दुर्लभ केश हो ।’

यस्तो समस्या हुँदा विकर्सित हुँदै गएको फोक्सोको विकास क्रमलाई रोक्ने र श्वास फेर्न गाह्रो भएर बच्चाको ज्यान जाने जोखिम हुँने चिकित्सकहरुको भनाई छ । तर, अप्रेशन सफल भएर जोखिम टरेपछि विरामीका आफन्त हर्षित छन् । जटिल अवस्थामा पुगेको बच्चा निको भएको भन्दै वुवा रमेश तामाङले खुशी व्यक्त गरे । अप्रेशनपछि नवजात शिसु बिशेषज्ञ डा.सुनिल राजा मानन्धरको प्रत्यक्ष निगरानीमा बच्चालाई दुई हप्ता अस्पतालमा राखिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि शुक्रबार डिस्चार्ज गरिएको छ ।

सफल स्वास्थ्य व्यवसायी मानिने डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिले दक्ष डाक्टर र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर उपचार सेवालाई विस्तार गर्दै लगिएको छ । केही साता अघि मात्र केएमसीले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र वाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।