प्रदेश १ मा तेस्रोपटक फेरियो सरकार, मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
Uttari Morang
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मङ्गलबार मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् ।
गठबन्धन दलहरूबीच भएको छलफलमा तत्कालका लागि मुख्यमन्त्रीसहित पाँच जनाको मन्त्रिपरिषद् विस्तार भएको हो । मन्त्रीमा काङ्ग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी (जसपा) बाट एक जना मन्त्री भएका छन् ।
नेकपा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला मन्त्री, जसपाका नेता जयराम यादव सामाजिक विकास मन्त्री, काङ्ग्रेस नेता हिमाल कार्की भौतिक पूर्वाधार विकास मन्त्री, काङ्ग्रेसकै केदार कार्की आन्तरिक मामिला मन्त्री,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बिश्वासको मत पाउन नसकेपछि सोमबार राजीनामा दिएका थिए । त्यसपछि नेकपा एकिकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।




