नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी
Uttari Morang
नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् ।
देउवा पक्षीय उम्मेद्वार दिलीप गच्छदारलाई पराजित गर्दै शेखर कोइराला पक्षीय लिम्बू दोस्रो कार्यकालका लागि मोरङ कांग्रेसको सभापतिमा बिजयी भएका हुन् ।
मंगलबार राति अबेर सार्वजनिक भएको मत परिणाम अनुसार लिम्बु एक हजार नौ सय छ मत प्राप्त गरेर बिजयी भए भने गच्छदारले एक हजार चार सय २५ मत मात्रै पाए ।
आइतबार भएको निर्वाचनमा तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत पाउन नसकेपछि जिल्ला सभापतिका लागि मंगलबार पुनः मतदान भएको थियो ।
पहिलो चरणमा कोइराला पक्षीय डिग बहादुर लिम्बु, संस्थापन पक्षका दिलिप गच्छदार र सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणमा गच्छदारलाई समर्थन गर्दै बिष्ट ब्याक भएपछि लिम्बू र गच्छदार मात्रै प्रतिस्पर्धामा उत्रेका थिए।
पहिलो चरणको निर्वाचनमा लिम्बुले एक हजार पाँचसय ४४ मत, गच्छदारले एक हजार १ सय ६६ मत र यदुकुमार विष्टले पाँच सय ६३ मत पाएका थिए।
संस्थापन पक्षका उम्मेद्वारलाई कृष्णप्रसाद सिटौला पक्षले सघाउने घोषणा गरेपछि देउवा पक्षले मोरङमा आफू बलियो बनेको प्रचार गरेको थियो। तर आफू बलियो भएको देउवा पक्षको दाबीलाई गलत सावित गर्दै संस्थापनइतरका लिम्बुले चुनावी जीत हात पारे।
सभापतिमा निर्वाचित लिम्बुलाई शेखर कोइराला,नेता महेश आचार्य र रक्षामन्त्री मिनेन्द्र रिजालको पनि समर्थन थियो भने
भने गच्छदारलाई संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा र कृष्ण सिटौला समेतको समर्थन थियो ।
मोरङ कांग्रेसको चुनावकै सिलसिलामा नेता सिटौला दुई दिन विराटनगरमा बसेर देउवा पक्षसँग मिलेका थिए। विराटनगर महानगरका प्रमुख भीम पराजुलीले सोमबारबाट आफूले देउवा पक्षका उम्मेद्वारलाई सघाउने घोषणा गरेका थिए।




